६ वैशाख २०८१ बिहीबार
विचार

रणनीतिबाज बादलको अस्तव्यस्त गृह

बेलायतका बहुचर्चित प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका थिए– खाना, नाना र छाना नभए पनि मानिस केही समय बाँच्न सक्छ तर सुरक्षा नभएको ठाउमा एक घन्टा पनि रहन सक्दैन।

चर्चिलको यो बहुतै गम्भीर भनाइबाट आलेख सुरु गर्नुकोविशेष कारण छ । नेपाल यतिखेर सुरक्षाको संवेदनशील मोडमा खडा छ, अहिल्यै र यतिखेरै सुरक्षाबारे गम्भीर बनेर आक्रामक कदम नचाल्ने हो भने तस्कर, डन, दलाल र अपराधी गिरोहको समानान्तर राज्य नेपालमा स्थापित हुनेछ।

सहरमा तस्कर, माफिया, डन,भ्रष्टाचारी शिर उठाउन खोजिरहेछन्। गाउँगाउँमा डन, अपराधीहरूलाई सेयर र हप्ता नबुझाईपात पनि नहल्लिने अवस्था छ । माफिया अपराधीहरूको साँठगाँठ नेताको सुत्ने कोठासम्मैपुगेको छ । जनप्रिय भनेका नेता नै डनविरुद्ध बोल्न नसक्ने अवस्थामा पुगेका छन्।

व्यापारी, उद्योगपति, व्यवसायी त्राहिमाम देखिन्छन् । भएभरको सम्पत्ति मात्र होइन, बैंकबाट लाखौँ करोडौँ ऋण काढेर उद्यममा लगाएका छन् । तर उनीहरूकै घाँटी डन, तस्कर, माफिया र भ्रष्टाचारीले निमोठिरहेका छन् । खुलेर बोल्न कोही सक्दैन, पीडा पनि सहन सकिरहेका छैनन्। भित्रभित्रै उद्यमशीलहरूनिसासिइरहेका छन् । बोलौँ ज्यान जान्छ, नबोलौँ व्यवसाय गर्नै दिँदैनन्।

गृहमन्त्री थापा साँच्चै देशको सशक्त मन्त्री बन्न चाहन्छन् भने सुरक्षा निकायलाई सही ट्रयाकमा ल्याउन अझै सुझबुझ र रणनीतिक कौशल बढाउनुपर्छ ।

‘आगेनाथ न पिछे पगाहा’को अक्करे भीरमा नेपालको समृद्धि, विकास र योजना टुहुरो बनिरहेको छ। विकास नभईसुखी नेपाली, समृद्ध नेपाल सम्भव छैन । विकास गर्न लागौँ तस्कर, माफिया, डन, भ्रष्टाचारीले हलन चलको अवस्थामा पु-याइरहेछन् । कसरी हुन सक्छ नेपालको समृद्धि र विकास ? छ कुनै उपाय ?एक सुरक्षाविद्ले गम्भीर तर ढुक्क बनेर भने।

असुरक्षाबाट मुलुकलाई मुक्त पार्न सकिन्छ। तर यो काम अरूले होइन, एउटागृहमन्त्रालयले मात्र गर्नसक्छ। सुरक्षा निकायले गर्न सक्छ। यसैका लागि गृहमन्त्रालय र त्यसअन्तर्गत सुरक्षा निकाय स्थापना गरिएको हो । यो उसकै जिम्मेवारी पनि हो।  संरचना र औजारहरू यसकै लागि बनाइएको हो । प्रत्येक नागरिकलाई सुरक्षाको अनुभूति गृहमन्त्रालयले नै दिने हो । उसैले सक्छ र उसैले गर्नुपर्छ ।अरूले होइन!

अहिले सबैतिरबाट परिस्थितिहरू पनि मिल्दै आइरहेछ। संविधानको कार्यान्वयनसँगै देशमा नयाँ सरकार बनेको छ । विगतका सफल गृह र परराष्ट्रमन्त्री केपी ओली देशका प्रधानमन्त्री बनेका छन्। उनका गृहमन्त्री बनेका छन्, माओवादी जनयुद्धका रणनीतिक कमान्डर रामबहादुर थापा ‘बादल’।

बादल पूर्वसोभियत संघमा पढेका हुन् र उनको पारिवारिक विरासत पनि कमजोर होइन। बादल लडाकु स्वभाव, एकेडेमिक रणनीतिबाज र युद्धकला निपूण व्यक्ति हुन् । उनमा देशकै वैकल्पिक नेता बन्नेकाबिल क्षमताको सम्भावना छ । उनी भिजन र मौलिकता भएका रणनीतिबाज राष्ट्रवादीका रूपमा गनिन्छन्।

गृहमन्त्री बादललाई यो थाहा हुनुपर्छ— समाजमा शान्ति सुव्यवस्था छैन, गाउँमा सानो व्यवसाय गरेर बस्ने अवस्थासमेत छैन। डन, तस्कर, दलाल, भ्रष्टाचारी र अपराधीलाई सेयर नदिई वा हप्ता नबुझाई सहरमा माखो मार्न सकिँदैन। 

सेक्युरिटी सिस्टममा प्रधानमन्त्रीपछि बादल अब्बल दर्जाका मानिन्छन् पनि । त्यसैले बदलिएको परिवेशमा प्रधानमन्त्री ओलीका काबिल गृहमन्त्री नै हुन्, बादल । सुरक्षा व्यवस्थापनलाई मिहिनरूपमा केलाइरहेका एक प्राध्यापकको मूल्यांकन हो यो । उनले भने, बादलले काबिल भएको लक्षण पनि देखाइसकेका छन्। ८० हजार जनपद प्रहरी, ४० हजार सशस्त्र र हजारौँको संख्यामा गुप्तचरहरू रहेको करिब डेढ लाखको सेक्युरिटी प्रोफेसनलको टिमलाई उनी नेतृत्व गरिरहेछन्। घूँडा धसेर नेतृत्व गर्ने सुरुवात पनि गरिसकेका छन् । उनले सुरुमै दिएको छनकले अपराधवृत्तमा ठूलो हलचल मच्चाइरहेछ । यसका दुईवटा उदाहरण हेरौँः

पहिलो, यातायात सिन्डिकेट तोड्न बादलले देखाएको दृढता र गरेको तयारीले जनसाधारणमा आशाको सञ्चार गराएको छ । तर यहीँनेर के बिर्सन सकिँदैन भने मेडिकल सिन्डिकेट, दलीय सिन्डिकेट, एजुकेसन सिन्डिकेट सर्वत्र हाबी छ । तर पनि गृहमन्त्री एउटा सिन्डिकेटलाई भत्काउँछु भनेर धावा बोल्दै प्रहरी संगठनलाई आदेश पनि दिइसकेका छन्–सकल जवान हो, यातायात सिन्डिकेटवालाहरूले गरेको बन्दका लागि तयार भएर बस। यिनकै गाडी सिज गरेर सर्वसाधारण जनतालाई सार्वजनिक यातायात सेवा दिनुपर्छ।

गृहमन्त्रीले प्रहरीलाई गाडी चलाउन आदेश दिइरहँदा नेपाल प्रहरीको काबिलीयत र क्षमतालाई बुझेकोछाप प्रकट गरेका छन् । के बिर्सन सकिँदैन भने इन्टरपोलले पनि विश्वास गरेको र अब्बल ठानेको संस्था हो नेपाल प्रहरी। समाजमा शान्ति सुरक्षा कायम गराउन पात समेत नहल्लिने गरी अपराधी समूहलाई पाता फर्काउन सक्ने क्षमताका काबिल र अनुभवी प्रहरी अफिसरहरूको बटालियन नै नेपाल प्रहरीमा छ।

दोस्रो, गृहमन्त्री बादलले अहिले सुन तस्करीमा संलग्न उच्च प्रहरी अफिसरहरूलाई समेत पाता फर्काएर विराटनगरमा अनुसन्धानका लागि पु¥याइरहेका छन् । बर्दीधारी अपराधीहरूलाई तह लगाउनु लरतरो काम होइन। माफियाको बिगबिगीमा बहालवाल उच्च प्रहरीलाई हतकडी लगाउने साहसिक कदम सुरु गरेर सुधारका संकेत देखाएका छन् । यसबाट साबित हुन्छ, यो सांकेतिक प्रहारबाट उनी समाजमा न्यूनतम शान्तिसुरक्षा कायम गर्न दृढसंकल्पका साथ लागेको देखिन्छ। बादलको यो अभियानले समाजमा आशाको सञ्चार गराएको छ तर ढुक्क भने भइसक्ने अवस्था आइपुगेको छैन।

बादलले देशव्यापी रूपमा जनसमर्थन पनि पाइरहेका छन् । प्रधानमन्त्री ओली आफ्ना गृहमन्त्रीलाई ढाडस दिइरहेका छन् । किनभने सुरक्षा नागरिकको पहिलो अधिकार हो। खाना, नाना र छानाभन्दा पनि सुरक्षालाई सरकारले पहिलो प्राथमिकतामा राख्नैपर्छ । सुरक्षा अपरिहार्य कुरा भएकाले नै पुलिसिङको सिस्टम विश्वभर आएको पनि हो। राज्यमा बन्दुक लिएर दिउँसै हिँड्न र जसलाई पनि समाउन सक्ने अधिकार सुरक्षा निकायलाई मात्र प्राप्त छ, जुन अधिकार सम्पूर्ण नागरिकहरूको सुरक्षाको कारणका लागि दिइएको हो । यो असीमित अधिकार नै हो तर यो विश्वभर सर्वस्वीकार्य छ । किनभने सुरक्षा मानव सभ्यताकै संवेदनशील विषय हो। मानव सभ्यताको विकास सुरक्षाको संवेदनशीलताबाट अगाडि बढेको हुन्छ।

सुरक्षाका आयामहरू व्यापक छन्तर सुरक्षाको प्राण भनेकै आन्तरिक शान्ति सुरक्षा हो। यो भएन भने मुलकमा बाह्य सुरक्षा पनि हुँदैन।

शान्ति सुरक्षा राज्यबाट हटाउनै नहुने र झिक्नै नसकिने विषय हो। यसमा कुनै सर्त, सम्झौता र मोलाहिजा हुन सक्दैन। यसका लागि खर्चको पनि लेखाजोखा गरिन्न। त्यसैले समाजमा शान्ति सुरक्षा कायम गरेर प्रत्येक नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनु नै सरकार र गृहमन्त्रीको पहिलो काम हो।

राष्ट्रिय सुरक्षा नै आन्तरिक सुरक्षाको बलियो आधार हो। राष्ट्रिय सुरक्षा बलियो नपारी निजी सुरक्षालाई बढावा दिने राष्ट्रहरू ध्वस्त भएका छन्। राज्यको सुरक्षा निकायमा विश्वास भएन भने त्यो समाज र अन्त्यमा राज्य नै ध्वस्त हुन्छ । त्यसैले निजी सुरक्षा गार्ड बनाउँदा पनि राज्यको सुरक्षा निकायमा काम गरेकालाई स्वदेशमा मात्र होइन, विदेशमा पनि प्राथमिकता दिइन्छ।

गृहमन्त्री बादललाईयो थाहा हुनुपर्छ— समाजमा शान्ति सुव्यवस्था छैन, गाउँमा सानो व्यवसाय गरेर बस्ने अवस्था समेत छैन। डन, तस्कर, दलाल, भ्रष्टाचारी र अपराधीलाई सेयरनदिई वा हप्ता नबुझाईसहरमा माखो मार्न सकिँदैन।

अपराधीलाई साथ नलिईकन काम गर्न खोज्ने हो भने कि तिनले खेद्छन् कित सिध्याउँछन्! किनभने पूरै मुलुकमा यिनकै राज छ। माफियाको राजनीतिक नेतासम्म पहुँच छ । नेताहरूतिनीविरुद्ध चुइक्क बोल्न सक्दैनन्। बोल्न सक्ने गृहमन्त्रालय मात्र हो।

छिमेकी भारतको बिहार राज्यमा त्यहाँका मुख्यमन्त्री नितीशकुमारले ६६ हजार डन, गुण्डा, तस्कर र भ्रष्टहरूलाई जेलमा कोचे र बिहारको मुहार नै फेरे । गुण्डाराजको अन्त्य गरे। फिलिपिन्सका राष्ट्रपति दुतेर्तेले अपराधीविरुद्ध कठोर अपरेसन गर्दै देशमा शान्ति सुरक्षा र अमनचैन कायम गराइरहेछन्।

तस्कर, भष्टाचारी, माफियाविरुद्ध अभियान थाल्दै राष्ट्रपति दुतेर्तेले समाजमा शान्तिसुरक्षा कायम गराउने काम आफैँनेतृत्व गर्दै अगाडि बढाए । यसबाट समाजमा शान्ति सुरक्षा र अमनचैन कायम हुन्छ भन्ने ढाडस विश्वभर प्रसारित भइरहेछ।

बादलले अहिलेको अभियानलाई तार्किक निष्कर्षमा पु-याई काम फत्ते गरे भने अन्य सिन्डिकेट पनि नारायणहरि बन्ने पक्का छ । गृहमन्त्रीले कम्मर कसेभने अपराधी दण्डसजायका भागी बन्नेछन्। डन, तस्कर, भ्रष्टाचारी र माफियाका दिन सकिएको सन्देश देशभर दिने मात्र होइन, तिनलाई निमिट्यान्न पार्न पनि सरकार तयार हुनुपर्छ ताकि कुनै पनि नागरिकले यसपछि टर्चर र सफोकेसन बेहोर्नु नपरोस् । यत्तिगर्न नसकेर अफ्रिका, ल्याटिन अमेरिका र एसियाका कतिपय देशहरू असफल बनेका हुन्।

बादलले अपराधीविरुद्ध हलुका छेस्किनी लगाएर मात्र बस्ने होइन, बिहारका नितीशकुमार र फिलिपिन्सका दुतेर्तेले जस्तै गजबार ठोक्न सक्नुपर्छ। तर उनीहरूले जस्तो कठोर कदम बादलले चाल्न सकेनन्, समयसीमा तोकेर निर्ममतापूर्वक अगाडि बढ्न हच्किए भने एक सुरक्षाविद्ले भने जस्तोसुरक्षा संयन्त्रभित्रैबाट संगठित अपराधी ढाडमा टेकेर लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्नेछन्। राष्ट्रिय स्रोतहरू नियन्त्रणमा लिएर कर्मचारी, सुरक्षा निकाय, न्यायपालिका र सिंगो मुलुकलाई नै रिमोटबाट चलाउन थाल्नेछन्।

नेपालको सुरक्षा निकायले पहिला पनि तस्कर, डन, माफिया, भ्रष्टाचारीलाई केही हदसम्म सफाया गरेका हुन्। तर संक्रमणकालको आडमा ठूला माछाहरू फुत्किए । यतिखेर संक्रमणकाल सकिएर विधिको शासन सुरु भएको छ । योबेला गृहमन्त्री बादल मुलुकमा शान्ति सुरक्षा र अमनचैन कायम गर्न सशक्त बने भने उनी त अमर बन्ने नै छन् साथै जनताले पनि गरी खान पाउनेछन्।

यो काम गर्न बादललाई सजिलो पनि छ किनभने नेपालको सफलतम गृहमन्त्री भनेर कहलाएका केपी ओली मुलुकका प्रधानमन्त्री छन्। विदेशमन्त्री बनेका बेला आन्तरिक तथा बाह्य सुरक्षा अवधारणा अगाडि बढाउने मान्छे पनि ओली नै हुन्। यस्तो बेलामा सुखी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न लागेकाले ओलीलाई जति नयाँ गुण्डाराजको अन्त्य र शान्ति सुरक्षाको खाँचो अरू कसैलाई छैन।

तसर्थ गृहमन्त्री बादलले नेता, प्रशासक, सुरक्षा निकायका परिवारका सदस्य, छोराछोरी र पार्टीका नेता–कार्यकर्ताको साझेदारीमा गुण्डा, अपराधी र माफियाहरूलाई उन्मुक्ति दिए भने स्वयं उनी नारायणहरि हुनेछन् । उनी साँच्चै देशको सशक्त गृहमन्त्री बन्न चाहन्छन् भने सुरक्षा निकायलाई सही ट्रयाकमा ल्याउन अझै सुझबुझ र कौशलताका रणनैतिक चालमा लाग्नैपर्छ। यो नै रणनीतिबाज बादलको परीक्षा हो।

प्रकाशित: २० वैशाख २०७५ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App