६ वैशाख २०८१ बिहीबार
कला

प्रतिभा खोज्दै ‘हैरान’

काठमाडौं – नृत्य, अभिनय र गायन विधामा प्रतिभाको खोजी गर्न फिल्म ‘हैरान’ टोलीले देश दौडाहा सुरु गरेको छ । हैरान च्यालेन्जअन्तर्गत निर्माण टिमले ‘राष्ट्रिय प्रतिभाको खोजी’ का लागि फिल्म युनिट देश दौडाहामा निस्किएको हो।

झापाको बिर्तामोडदेखि वैशाख २० गतेबाट सुरु हुने अडिसनमा प्रतिभा छनोट गर्न फिल्मका निर्देशक सौगात विष्ट, कलाकारहरू गजित विष्ट, निर्मल शर्मा, सागर लम्साल, आरोही शर्माको टोली मोफसल निस्किएका हुन्।

कलाकार गजितले टिमले अडिसनसँगै स्थानीय सञ्चारकर्मी र दर्शकसँग फिल्मबारे अन्तरक्रिया गर्ने बताए । झापाको बिर्तामोडबाट सुरु हुने अडिसन विराटनगर, हेटौंडा, चितवन, बुटवल, नेपालगञ्ज, दाङ, पोखरा हुँदै काठमाडौंमा समापन हुनेछ । गजितका अनुसार अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाले सहभागिता जनाउन सक्नेछन्।

तीनै विधाका विजेतालाई जनही १ लाख रुपैयाँ र डान्स फिवरमार्फत निर्माण हुने फिल्म तथा म्युजिक भिडियोमा अवसर दिइनेछ । उत्कृष्ट १५ मा पर्ने प्रतियोगीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने फिल्मले जनाएको छ । छनोट चरणमा प्रतियोगीले एउटा ‘हैरान’ कै र अर्को आफूले नै छनोट गरेको गीतमा २–२ मिनेटमा आफ्नो प्रस्तुति दिनुपर्नेछ।

प्रतियोगिताका निर्णायकमा फिल्मका कलाकार निश्मा घिमिरे, गायक स्वरूपराज आचार्य, कलाकार निर्मल शर्मा, गायक सत्यराज आचार्य र नृत्य निर्देशक गम्भीर विष्ट छन्।

जेठ ४ मा रिलिज हुने फिल्ममा विश्वकै कान्छा निर्देशक सौगात विष्टको निर्देशन छ । उनले यसअघि डेब्यु फिल्म ‘लभ यु बाबा’ बाट गिनिज बुकमा नाम लेखाएका थिए।

फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्माको अभिनय छ।

प्रकाशित: २१ वैशाख २०७५ ०५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App