७ वैशाख २०८१ शुक्रबार
विचार

मोदीजीको पुनरागमन

मोदीजी फेरि आउँदैछन्। उनी आउँदा के के होला भनी मोटामोटी अनुमान गर्न सकिन्छ । उनै मानिस, उही फुर्तीफार्ती, उही नाटकीय हाउभाउ फेरि देखिएला। तँछाड मछाड गर्दै उनको छेउमा उभिएर ङिचिक्क हाँस्ने र खिचिक्क फोटो खिच्ने प्रतिस्पर्धा हाम्रै केही देशवासीबीच फेरि पनि चल्ला । उनलाई प्रभु मान्नेहरू छँदैछन् एकथरीले पुरानै शैलीमा उनको पूजाअर्चना गर्ने होलान्, । रुँदै, आँसु पुछ्दै घरभित्रको दुःख सुनाउने होलान्, केही वरदान माग्ने होलान्। मिचाहा छिमेकी देशबाट यस्ता बाबुसाहेबहरू आउँदा जे÷जे हुने गरेको छ, धेरै कुरा फेरि पनि उस्तै उस्तै नै हुने होलान्। अनुमान गर्न सकिन्छ।

तर अनित्य छ सबथोक। परिवर्तनशील छ हरेक कुरा। र, कर्मले त्यो परिवर्तनको दिशा निर्धारण गर्छ। भुइँचालोको त्यो त्रासद वर्षमा यिनले जे जे गरे, जसरी गरे, जे निहुँ पारेर गरे, जस्ता परिस्थिति र मनोभावको दुरुपयोग गरेर गरे, त्यसका कारण नेपाली जनताको मन नराम्ररी कुँडिएको छ । त्यसैले पहिलो भ्रमणको बेलाझैँं नेपाली जनताको मन जित्ने सम्भावना भने कम होला। मानिसका मनमा त्यो बेला जस्तो भ्रमणपूर्वको उत्सुकता अहिले देखिएको पनि छैन।

त्यो वर्ष यिनले गरेका दुष्कर्मका कारण उनीप्रति र उनको सरकारप्रति मात्र नेपालीको धारणा बदलिएको हैन। मानिसका मनमा, विचारमा, भावनामा, अझ जीवनदर्शनमा नै यति ठूलो प्रभाव पारे ती दुष्कर्मले जसको आकलन यिनले अझै गर्न सकेका छैनन्। छिमेकी देशभित्र कुनै तप्काको असन्तुष्टिलाई भारतले त्यसबेला जति नाङ्गो, सस्तो र मिचाहारूपमा दुरुपयोग गर्ने प्रयत्न ग-यो (र अझै पनि गरिरहेकै छ) त्यसले गर्दा नेपालीबीच नै धाँजा फाटे । मोदीशासित भारत यो काममा आफू सफल भएको पनि ठान्दो हो तर यो विष ऊ आफैंलाई झन् कति चर्कोगरी लाग्नेछ भन्ने अनुमान गर्न भने शायद सकिरहेको छैन। राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय राजनीतिमा, विविधता र विभिन्नतालाई जबर्जस्ती फराकिलो पार्ने र त्यसरी सिर्जित खाली ठाउँमा आफ्नो निहित उद्देश्यको खेती गर्ने प्रचलन अत्यन्त पुरानो हो तर आजको विश्वमा त विविधताभित्र समानता खोज्न सक्नु पो सामथ्र्य हो, विज्ञता हो, ज्ञान हो। यही गर्न नसक्दा कसरी व्यक्ति, समुदाय, राजनीतिक दल र राष्ट्रहरू असफल हुन्छन्, यति ठूलो देशका ‘मै हुँ’ भन्ने शासकले बुझ्न सकेमात्र उनको आफ्नै र अरु सबैको भलो हुन्।

खुला मन र उदार सोंच भएका नेपालीलाई चिमोटी चिमोटी बिउँझाउने यो ‘पुण्य’ कार्यमा मोदीजी र यिनको सरकार यसअघिका भारतीय शासकहरूभन्दा एक कदम अगाडि नै रहेका छन्।

नेपाल विगतमा बाँकी विश्वबाट अलग्गिएकै बेला पनि जनताबीच घना अन्धकारभित्रै दियो बाल्ने चिन्तक, स्रष्टा प्रशस्त थिए। त्यस्तो अन्धकारका बेला पनि खुला अन्तर्राष्ट्रवादी सोच राख्ने नेपाली थिए जो विश्वबन्धुत्वका कुरामात्रै हैन, अभ्यास पनि गर्थे। भारतकै स्वतन्त्रता संग्राममा नेपालीले सक्रिय सहयोग गरेका छन्। त्यति अप्ठेरो समयमा पनि नेपालीबीच यस्ता मानिस प्रशस्त थिए। जो बुझ्थे– राष्ट्रबीचका सिमाना भनेको मानिसले कृत्रिमरूपले कोरेका हुन्, प्रकृतिले कहिल्यै राष्ट्र छुट्याएको छैन भन्ने कुरा। छिमेकीको मन र मेरो मन उस्तै हो भन्ने कुरा बुझ्थे। मेरो जस्तै उसको पनि कहिले दुख्ने, कहिले रमाउने मन छ भन्ने बुझ्थे। पछिल्ला पुस्तामा पनि यो खुलापन, यो अन्तर्राष्ट्रवादी सोच सहजै सर्दै आएको छ। तर भारतीय शासकका दम्भ, अल्पबुद्धि, क्षेत्रीय शासक बन्ने असीमित अभिलाषा, कहिल्यै नअघाउने लोभ, टोले गुण्डाको जस्तो मानसिकता आदिका कारण तिनले सधैँं वरिपरिका देशमा हात पसालिरहे, छिमेकीका भान्सैमा पसेर कराइ÷ताप्केबाट सिधै झिकेर तरकारी अचार चाखिरहे, कसैले चाहोस्, नचाहोस् ‘शिक्षा दिने’ काम गरिरहे, अनेक भाउँटो थपिरहे, परिवारभित्र झगडा गराइरहे...।

सम्भवतः यिनले राम्रै गरे किनकि मानिस विश्व नागरिक हुने बेला अझै भइसकेको रहेनछ, यो युगमा अझै पनि देशभक्तिको महŒवपूर्ण भूमिका रहेछ, देश प्रेम भनेको बृहत्तर सामाजिक न्यायको महŒवपूर्ण अङ्ग रहेछ, छिमेकका बलिया शासकसँग जुझ्ने आँट साना देशले गर्न छाड्ने हो भने ‘विश्वग्राम’ को सुन्दर सपना कहिल्यै साकार नहुने रहेछ भन्ने चेत यो सानो देशका जनतामा मर्न पाएन। खुला मन र उदार सोंच भएका नेपालीलाई चिमोटी चिमोटी बिउँझाउने यो ‘पुण्य’कार्यमा मोदीजी र यिनको सरकार यसअघिका भारतीय शासकहरूभन्दा एक कदम अगाडि नै रहेका छन्। उनी जस्तै मानिसका कारण अन्तर्राष्ट्रवादी सोच नै आफ्नो निसर्ग भएका नेपालीभित्र समेत देशभक्ति झन् बलियो भयो । हो, उनीहरूको देशभक्ति ‘राष्ट्रवाद’मा अनुदित भएको छ, त्यो राष्ट्रवाद बेलाबेला मोदीविरोधमा, अनि त्यो मोदीविरोध भारत विरोधका रूपमा पनि देखा परेको छ यदाकदा । यस्तो अझै पनि भइरहेकै छ । यतिसम्म हुनु राम्रो हुने थिएन तर यथार्थ यही हो।

आफूलाई सर्वद्रष्टा ठान्ने मोदीजी यो सब देखिरहेका होलान् ? त्यसका निम्ति आफू कति जिम्मेवार छु भनी सोचिरहेका होलान् ?आफ्नो पहिलो भ्रमणमा जति यसपालि मोदी लोकप्रिय हुँदैनन्, छैनन् भन्ने कुरो सर्वविदित तथ्य हो। तर उनको यो अलोकप्रियता उनकै निम्ति, भारतीयहरूकै निम्ति र सिंगै दक्षिण एसियाली क्षेत्रकै निम्ति कति ठूलो क्षति हो भन्ने कुरा नमो दाइले बुझेका होलान् ? यति बुझेको भए त कुनै न कुनै छनक देखिन्थ्यो होला नि ! हामी त सुन्छौँ, अझै पनि भारतीय दूतावासका मानिस नेपालका राजनीतिक खेलाडीलाई छानिछानी भेट्छन् रे, कसैकसैलाई फलानो पार्टीमा बस, फलानो पार्टीमा नजाऊ भनी ठाडठाडै उपदेश दिन्छन् रे, ‘तिमीलाई मन्त्री बनाउने जिम्मा हामी लिन्छौँ, भनेको मान’ भन्दै फकाउँछन् रे ! किन बदलिँंदैनन् यिनीहरू ?

मोदीजी र उनका आसेपासे सबैले यसपालिको भ्रमणमा नाटक देखाउन हैन, सत्यलाई आत्मसात गर्ने साहस गरुन्, छिमेकमा अब ‘माइक्रो म्यानेजमेन्ट’ गर्ने कुलत छाड्न सकून्, छिमेकका जनतालाई दुःख दिनु भनेको कुनै सौर्य प्रदर्शन हैन, टोले गुन्डाको चरित्र हो भन्ने बुझून्।

मोदीजी नाटक देखाउन सिपालु छन् । नेपालीहरूको मन सेतो पाटी जस्तो छ– जतिसुकै अन्याय लेखे पनि थोरै मुस्कानले मेटिने। थोरै आँसुले पखालिने। हुनसक्छ, यसपाली एक कदम अघि बढेर यी नरिन्दर दाइले नयाँ नाटक देखाउलान्। त्यो नाटकले सिधासादा नेपालीको मनमा कोरिएको यिनको असुन्दर चित्र मेटिएला पनि। तर अर्को सुन्दर चित्र कोरियोस् भन्ने चाहन्छन् यी भने नाटक देखाउने हैन, आफ्ना गल्ती देख्न र परिवर्तनको आवश्यकतालाई आत्मसात गर्नु आवश्यक छ। मन्दिरहरूमा गएर आरती गरेर पुग्दैन, छिमेकी देशका मानिसका भावनालाई सम्मान गर्नु आवश्यक छ । काइते साहूको जस्तो छलपूर्ण व्यवहार गर्ने हैन, इमान्दारीको बीउ रोप्न थाल्नु आवश्यक छ । आफूबाहेकका अरु सबै मानिस मूर्ख छन्, केही बुझ्दैनन् भन्ने अज्ञान त्याग्नु आवश्यक छ।

आफ्नो देशको दार्जिलिङ, कश्मीर, उत्तरपूर्व, मुस्लिमप्रतिको असहिष्णुता आदिबारे कसैले केही उच्चारणमात्र गर्न खोजे पनि ‘मेरो देशमा के गर्नुपर्छ मलाई थाहा छ, कसैको उपदेश चाहिँदैन’ भन्न सक्नेले ती शब्दको अर्थ पनि त बुझेको हुनुपर्ने । तर छिमेकका देशका बारेमा जे पनि गर्न हुने किन ठान्छन् यी? युगौँ युगदेखिको सुसम्बन्धको कुरा गरेर नथाक्ने यी किन नेपाल जस्तो देशको सीमामा निहुँ खोजेको खोज्यै गर्छन् ? नेपालका भूभाग डुबे डुबुन् भनेझैँं गरी किन मनपरी सडक, बाँध जे पायो त्यही संरचना निर्माण गर्छन् ? विश्वबन्धुत्वका बारेमा गज्जब प्रवचन दिन सक्ने यी सबैको भलो हुने अन्तर्राष्ट्रिय योजनाहरूमा किन अरु देशसंँगको प्रतिस्पर्धामात्र देख्छन् ?  यी प्रश्नको एउटैमात्र सम्भव उत्तर हो– मोदीजीको दोहोरो चरित्र छ, यी भरपर्दा मित्र हुन सक्ने छाँट देखिंँदैन। यिनका नाटक पत्याउन लायक हुने छैनन्।

भारतीय दूतावासलाई औपचारिकरूपमै खुल्लमखुला आफूखुसी मनपरी पैसा बाँड्न दिने निर्णय गरिसकेको यो सरकारका मूली पनि आफूलाई मोदीजत्तिकै नाटक देखाउन सिपालु ठान्दा हुन् । तर पाहुनासँग होस पु-याएर व्यवहार गर्नु वेस! जे कुरा पत्याएर ठाउँमा पु-याएका छन् जनताले, त्यो विश्वासमा घाउ लागे, जनताको मुखबाट ‘ऐय्या’ निस्कन्छ। र, जनताको चित्कार आँधी बन्न सक्छ, बन्ने गरेको छ। बुद्ध जन्मेको भूमिमा ‘अनित्यता’ बिर्सनु ठीक हैन। स्थिति सधैँं उस्तै रहिरहँदैन । परिवर्तन हुन्छ र कर्मले त्यो परिवर्तनको दिशा तय गर्छ।

मोदीजी र उनका आसेपासे सबैले आफूभित्रको प्रकाशबीज देख्न सकून्, यसपालिको भ्रमणमा नाटक देखाउन हैन, सत्यलाई आत्मसात गर्ने साहस गरुन्, छिमेकमा अब ‘माइक्रो म्यानेजमेन्ट’ गर्ने कुलत छाड्न सकून्, छिमेकका जनतालाई दुःख दिनु भनेको कुनै सौर्य प्रदर्शन हैन, टोले गुन्डाको चरित्र हो भन्ने बुझून्।

सम्यकस्मृतिका साथ पाहुनाको स्वागत गरौंँ । भवतु सब्ब मंगलमः !

प्रकाशित: २१ वैशाख २०७५ ०७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App