४ वैशाख २०८१ मंगलबार
समाज

‘पहुँचका आधारमा टिकट!’

हुम्ला जाने टिकट काट्न आएका हुम्लबासी । तस्बिरः नागरिक

बाँके– निष्पक्ष रुपमा टिकट वितरण नगरेको भन्दै हुम्लाबासीले विरोध गरेका छन् । हुम्लाबासीले सिता एयरको टिकट काउन्टरबाट नियमसंगत टिकट नपाएको भन्दै विरोध गरे। दुई समुहले टिकट पाउनुपर्ने भन्दै माग गरेपछि केहि बेर विवाद भएको थियो ।

रातभर लाइन बसेर पनि टिकट नपाएपछि केहि असन्तुष्ट हुम्लाबासीले बिरोध गरे । रातिदेखि लाइनमा बसिरहेका व्यक्तिले गोप्य रुपमा अन्य व्यक्तिलाई टिकट दिन थालिएको भन्दै बिरोध गरे । हुम्ला सडक सञ्जालसँग नजोडिएको जिल्ला हो ।

मनोमानी ढंगले र पहुँचका आधारमा टिकट बिक्री गर्ने गरेकाले सहुलियतमा सर्वसाधारणले टिकट पाउन कठिन हुने गरेको हुम्लाका राज बहादुर बस्नेतले बताए ।

छुटाछुटै दुइ समुहले टिकट पाउनु पर्ने माग गदै नाम पेस गरेपछि विवाद भएको नेपालगञ्जस्थित सिता एयरका प्रतिनिधि सूर्य भण्डारीले बताए । उनले भने, ‘हामीले सरकारले निर्धारण गरेको नियम अनुसार उडान गर्ने गरेको छौं । १२ जनाको टिकट हामीले बिक्री गर्ने हो । तर बिहिबार छुटाछुटै रुपमा नाम आएपछि समस्या भएको हो । टिकट नपाएको होइन।’
लाइन बसेकी वृद्धा सुनसरा विकले रातभर लाइन बसेर पनि टिकट पाउन मुस्किल परेको बताइन् । उनले भनिन, ‘टिकट पाउन लाइन बस्यौं रातभरी । तीन दिनदेखि टिकट कुरिरहेका छौं । अहिले टिकट सकियो भन्छन् ।’

हुम्लामा सीता एयरले हप्तामा दुई दिन सोमबार र शुक्रबार उडान भर्ने गरेको छ । ताराले मंगलबार र बिहिबार, समीटएयरले मंगलबार र नेपाल एयरलायन्सले सोमबार हुम्लामा उडान भर्छन् । हुम्ला जाने सहुलियत दरमा ५ हजार ३ सय देखि ५ हजार ६ सय रुपैयाँसम्म टिकट पर्नेगर्छ । चार्टर उडानमा प्रतिब्यक्ति १२ हजार रुपैयासम्म पर्ने गरेको छ । प्रत्येक उडानमा हुम्लाका लागि १२ छुटयाएको हुन्छ । नेपालगन्ज स्थित नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकृत सोहनराज जोशीले हप्तामा ६ सहुलियत उडान गर्दै आए पनि हुम्मा जाने यात्रीको चाप धेरै भएकोले समस्या आएको बताए । उनले भने, ‘हुम्ला जाने यात्री धेरै भएपछि टिकट पाउन केहि समस्या देखिएको हो । तर हामीले एयरलायन्ससँग समन्वय गरेर समस्या समाधान गर्ने प्रयास गरिरहेको छौं।

आर्थिक लाभ लिने मनसाय होइनः तिवारी
नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रतावबाबु तिवारीले आर्थिक लाभ लिने उद्देश्यले भिभिआइपी कक्ष निर्माण गर्न नलागिएको बताएका छन । नागरिक दैनिकमा आर्थिक लाभ लिने मनसायले नेपालगन्जमा भिभिआइपी कक्ष निर्माण गर्न लागिएको बारे समाचार प्रकाशित भएको थियो । त्यसको खण्डन गर्दै प्रमुख तिवारीले प्राधिकरणको योजना अनुसार विमानस्थलमा विकास निर्माणको काम भैरहेको बताए । उनले भने, ‘काम गर्दै जाँदा केहि प्राविधिक कमजोर हुन सक्छन् । तर हामीले आर्थिक फाइदा लिने मनसायले पुर्वाधार निर्माण गरेको छैनौं।’

प्रकाशित: २१ वैशाख २०७५ १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App