८ वैशाख २०८१ शनिबार
कला

गुराँसेको निम्तो

मिठो खाना पाइने भएकैले पनि मुलुकका कतिपय ठाउँ चर्चित छन् । त्यस्तै एउटा सुन्दर गन्तव्य हो– गुराँसे । सुर्खेतबाट रारा, पञ्चकोशी वा जुम्ला उकालो लाग्नेहरु गुराँसेमा रोकिन्छन् । त्यस्तै मास्तिरबाट औल झर्नेहरु पनि गुराँसेको स्वादमा भुलिन्छन् । त्यहाँ खानपिन गरेर गन्तव्यतिर सोझिन्छन्।

गुराँसेमा सडक दायाँबायाँ एक दर्जन होटल छन् । परिवारका सदस्य मिलेर चलाएका होटलमा पारिवारीक वातावरण पाइन्छ । सादा खानाको डेढ सय पर्छ भने मासुसहितको अढाई सय रुपैयाँ । उनीहरु लोकल कुखुराको मासु पकाइवरी प्रति किलो ११ सय रुपैयाँमा बेच्छन्।

सुर्खेतबाट पश्चिम २० किलोमिटर नापेपछि पुगिन्छ कर्नाली राजमार्गको गुराँसेमा । नाउँ अनुसार त्यहाँ गुराँसको जंगल छ । यतिबेला गुराँसको लाली सकिनै लाग्यो बरु रुखमा, ढुँगामा र भुइँमा सुनाखरी सेताम्मे देखिन्छ । अर्को कुरा राता र पहेंला रङका काफल पनि पाइन्छ अचेल ।   
सधैं शितल हुन्छ गुराँसे । त्यसैले त सुर्खेत र नेपालगञ्जका युवा गर्मी छल्न त्यहाँ पुग्छन् । कोही दिनभर बसेर फर्कन्छन् त कोही एक रात बसेर । विकेण्ड डेष्टिनेशनका रुपमा समेत स्थापित भैसक्यो गुराँसे। 

 अचेल राराताल धेरैको रोजाइमा पर्दै गएको छ । ती मध्ये थोरैको मात्र दैलेखको पञ्चकोशी घुम्छन् । रारा यात्रा गर्दा एक रात दैलेखमा बसेर पञ्चकोशी (शीरस्थान, नाभिस्थान, पादुकास्थान, धुलेश्वर र कोटीला) घुम्नु बेस हुन्छ । अनि यात्रामा गुराँसेको खाना छुटाउनु हुँदैन है!  

 

प्रकाशित: २२ वैशाख २०७५ ०३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App