८ वैशाख २०८१ शनिबार
कला

बेनिशाको ‘ह्यापिएस्ट मोमेन्ट’

फोटो सुटका लागि स्टुडियो आइपुग्नु अघिसम्म अभिनेत्री बेनिशा हमालको बारम्बार आग्रह थियो, ‘तीन घन्टासम्म सुट सक्नुपर्छ है ! त्यसपछि फिल्मको सुटमा पुग्नुपर्ने छ ।’ कामको दबाबका बाबजुद उनले चैतको अन्तिम साता नागरिक परिवारलाई समय छुट्टयाएकी थिइन् । ललितपुर कुपण्डोलस्थित स्टुडियोमा भएको फोटोसुटमा उनी निर्धारित समयभन्दा १ घण्टा ढिलो आइपुगेकी थिइन् । ‘सरी है, लेट भयो,’ यसपछि उनी मेकअपमा मग्न भइहालिन् ।

एक घण्टाको मेकअपपछि सुट । फोटोसुटमा बनावटी हाँसो त स्वभाविकै हो तर उनको मुहारमा देखिएको प्राकृतिक हाँसो खुट्टयाउन कुनै गाह्रो थिएन । यस्तो लाग्थ्यो– आज उनी बेजोड खुसी छिन् । तीन घण्टाका लागि छुट्टयाएको समय नाघेर ४ घण्टामा पुगिसकेको थियो । तैपनि उनी आरामले साथ दिइरहेकी थिइन् । यस्तो पनि लाग्थ्यो, कतै उनले फिल्मको सुटिङ नै बर्सिसकिन् कि ! 

फोटो सुटपछि भएको गफगाफमा उनले मनमा उठेका यी सब सवालको जवाफ आफैँ दुर गरिदिइन्  । ‘मलाई खुसी हुन ठूलो केही हुनुपर्दैन, ससानो कुरामै रमाउने मान्छे हुँ म,’ उनी भनिरहेकी थिइन्, ‘उदाहरणका लागि अहिले फोटोसुट भइरा’छ र म यसमै रमाइरहेकी छु । यसपछि सुटिङमा जानुपर्ने छ, प्रेसर पनि छ तैपनि म आत्तिएकी छैन । अघि सुट भइरहँदा ब्याकग्राउन्डमा दामीदामी म्युजिक बजिरा’को थियो । म्युजिकको तालमा म पोज दिइरहेकी थिएँ । त्यतिबेला ममा खुसीको सीमा थिएन । ’

‘खुसी’कै थिममा ‘नागरिक परिवार’को वैशाख अंक निस्कदै थियो । गफगाफको सुरुवात पनि ‘खुसी’बाटै भयो । बेनिशालाई सोधियो, ‘कस्तो कुराले तपाईंलाई खुसी बनाउँछ ?’ ‘परिवारसँग समय बिताउन पाउँदा एकदमै खुसी हुन्छु, त्यसपछि फिल्मसँग । चाहे फिल्म हेर्दा होस् या फिल्मसम्बन्धी कुरा गर्दा, म एकदमै खुसी भइरहेकी हुन्छु ।’

आफूलाई खुसी राखिरहन अपनाउने फर्मुलाको सूची उनीसँग लामै छ तर उनी इन्टरभ्यूमा सम्झिन सकिरहेकी थिइनन् । ‘डे टु डेको कुरा गर्ने हो भने म जिम जाँदा औधि खुसी हुन्छु । जिम मेरो दोस्रो घरजस्तै हो । त्यहाँ म दैनिक २–३ घण्टा समय बिताउँछु । मुभी हेरेर, ट्राभल गरेर पनि म आफ्नो मन खुसी बनाइरहेकी हुन्छु । अरु पनि धेरै कुराहरु छन् जुन अहिले म ठ्याक्कै भन्न सकिरहेको छैन ।’ 

एक महिनाअघि मात्रै रिलिज भएको थियो– दृष्टिविहीन सृष्टि केसीको जीवनीमा आधारित फिल्म ‘ब्लाइन्ड रक्स’ । यसमा बेनिशाले सृष्टिकै भूमिका निर्वाह गरेकी थिइन् । फिल्मको प्रिमियर सोले दिलाएको खुसी बेनिशा अहिले पनि सम्झिरहेकी छन् । कुराकानीका क्रममा ‘ब्लाइन्ड रक्स’को त्यो खुसी पनि साट्न भ्याइहालिन्, ‘मेरो अनुभवमा कलाकार दुई अवस्थामा एकदमै खुसी हुन्छ । एउटा त्यतिबेला जब ऊ कुनै फिल्ममा मिहिनेतसाथ काम गरिरहेको हुन्छ र अर्को आफूले गरेको कामबाट जब ऊ तारिफ बटुलिरहेको हुन्छ । ‘ब्लाइन्ड रक्स’को रिलिजको समय मेरा लागि सबैभन्दा ‘ह्यापिएस्ट मोमेन्ट’ भयो । फिल्मको पहिलो हाफसम्म कसले के भन्ला भन्ने डर व्यापक थियो । जब हाफ पछि सबैले आएर मलाई प्रेमपूर्वक अँगालो मारे, मेरो हात समाए र ‘काम राम्रो भएको’ संकेत दिए, मनबाट एकाएक डर हरायो, अलि हलुका भयो र मेरो काम छ्या भन्न लायक रहेनछ भनेर ढुक्क भयो ।’

कामको होइन, क्यारेक्टरको लोभ

आरजे, भिजे, मोडल हुँदै फिल्म ‘स्वर’बाट अभिनयमा प्रवेश गरेकी बेनिशाका फिल्म संख्याका हिसाबले एकदमै कम छन् । कम अफर आएकामध्येबाट पनि छनोट गरेर मात्र फिल्म खेल्ने हुँदा संख्या कम हुन गएको उनको दाबी छ । उनी कामको भन्दा क्यारेक्टरको लोभी छिन् । काम पाइयो भन्दैमा जस्तोसुकै क्यारेक्टरमा काम गर्दिनन् । क्यारेक्टर चित्तबुझ्दो छ भने सिन थोरै भए पनि काम गर्न तयार हुन्छिन् । उनका लागि यसको बलियो उदाहरण हो– दर्शक र समीक्षक दुवैबाट राम्रो प्रशंसा बटुलेको फिल्म ‘कालोपोथी’ । खासगरी सुरुमा उनलाई यो फिल्ममा लिने कुरै थिएन । निर्देशक मीन भामले मात्र ‘स्क्रिप्ट कस्तो छ ?’ भनेर फिडब्याक लिनका लागि उनलाई स्क्रिप्ट पढ्न दिएका थिए । यता बेनिशाले फिल्ममा अनुबन्धित नहुँदै क्यारेक्टरमा काम गर्न थालेकी थिइन् । ‘निर्देशकका दिमागमा त्यो क्यारेक्टरका लागि म छु कि छैन, म छानिन्छु कि छानिन्नँ केही थाहा नहुँदै काम गर्न थालेकी थिएँ,’ उनले सुनाइन्, ‘फिल्मको स्क्रिप्ट पढ्नेबित्तिकै मलाई यो फिल्मको पार्ट मात्रै हुन पाए हुन्थ्यो भन्ने भएको थियो । कति सिन, कस्तो रोलसँग मतलब थिएन । यसको अर्थ मलाई फिल्मको कथा र क्यारेक्टरले छोयो भने म थोरै सिन पाए पनि काम गर्न तयार हुन्छु भन्ने हो । नभन्दै कालोपोथीमा काम गर्न पाएँ । फिल्ममा सिन त त्यही १०–१२ थियो होला तर क्यारेक्टरका लागि निकै मिहिनेत गरियो । कर्णाली गएर त्यहाँको लवज र परिवेशअनुसार क्यारेक्टरमा मिहिनेत गरियो । मिहिनेतको फल मिठै भयो, दर्शकले खुब रुचाए ।’

बेनिशाले अहिलेसम्म गरेका कामहरुबाटै प्रस्ट हुन्छ– उनी फरक–फरक भूमिकामा काम गर्न रुचाउँछिन् । उनले अहिलेसम्म काम गरेका फिल्म र निर्वाह गरेको भूमिका एक–अर्कासँग मिल्दोजुल्दो लाग्दैन । ‘मोक्ष’, ‘झ्यानाकुटी’ र ‘ब्लाइन्ड रक्स’का क्यारेक्टर पनि फरक–फरक नै थिए । 

एक्टिङमा कसरी ? 

कलाकारितामा कसरी आइयो भन्ने प्रश्नमा अधिकांशको एउटै जवाफ सुनिन्छ, ‘सानैदेखि नाच्थेँ, गाउँथे त्यसैले ।’ बेनिशाका लागि भने कलाकार बन्नु सानैदेखि लक्षण भने होइन रहेछ । चितवन घर भएकी उनी १७–१८ वर्षको उमेरबाटै त्यहाँको स्थानीय कालिका एफएममा कार्यक्रम प्रस्तोताका रुपमा काम गर्थिन् । कलेज पढ्न काठमाडौँ आएपछि च्यानल नेपाल र एनटिभी प्लसमा जागिर पाइछन् । भिजे भएपछि विज्ञापन र म्युजिक भिडियोका लागि अफर आए । त्यही बेला निर्देशक प्रशन्न पौडेलले ‘स्वर’ फिल्मका लागि प्रस्ताव गरे । ‘अनुभव हुन्छ, गर्दिऊँ न त’ भनेर ‘ओके’ गरेकी रहिछन्, अहिले यही फिल्म उनका लागि लत बनेको छ, खुसी हुने माध्यम बनेको छ । खासमा ममीड्याडीको चाहना त उनलाई डाक्टर बनाउने रहेछ तर उनले पत्रकारिता र अंग्रेजी साहित्य पढिन् । ‘जिन्दगी योजना बनाएर चलाउने बानी छैन मेरो,’ उनी सुनाउँछिन्, ‘कलेजको पढाइ, आरजे÷भिजे र मोडलिङको अनुभवले मेरो रस अभिनयमा बस्यो र यसरी गर्दै जाँदा एक्टिङको नशा नै बस्यो ।’ 

‘स्वर’देखि ‘ब्लाइन्ड रक्स’सम्म आइपुग्दाको ६ वर्षको अभिनय करिअरलाई उनी आफ्नो जिन्दगीको ‘लर्निङ फेज’का रुपमा लिन्छिन्, भन्छिन्, ‘यस बीचमा समय, मान्छेहरुको संगत र आफूले गरेको कामले मलाई धेरै कुरा सिकायो तर म भन्छु अझै म पर्फेक्ट भइसकेको छैन, धेरै सिक्न बाँकी छ । एक्टर सधैँ एक्टिङको लोभी हुँदोरै’छ । यो क्यारेक्टर गर्न पाए हुने भन्ने लोभ उसमा सधैँ भइरहँदोरहेछ ।’ 

काम त हिट तर फिल्म ? 

कतिपयले बेनिशालाई फिल्मवृत्तमा ‘अनलक्की हिरोइन’ नाम दिएर टिप्पणी पनि गर्ने गर्छन् । कारण– ‘कालोपोथी’बाहेक उनका अधिकांश फिल्म व्यापारिक रुपमा सफल हुन सकेनन् । तर प्रायः फिल्ममा उनको मिहिनेत र कामको भने तारिफै भयो । कलाकारको अभिनय क्षमतालाई फिल्मको व्यापारसँग निर्धारण गर्ने प्रवृत्तिप्रति बेनिशाको ठूलो दुःखमनाउ छ । ‘फिल्म चल्ने/नचल्ने त्यो त मेरो हातमा त हुँदैन नि ! फिल्म युनिटका प्रत्येक सदस्यले फिल्म चलोस् भनेरै काम गर्ने हो,’ उनले गुनासो पोखिन्, ‘सबैले त्यही हिसाबले नै मिहिनेत गरिरहेका हुन्छन् तर फिल्म चलेन भने यो फिल्म चलेको छैन, एक्टर पनि चलेन भन्ने गरिन्छ । यो गलत बुझाइ हो । यो चिजमा कलाकारले केही पनि गर्न सक्दैन । हामीकहाँ एक्टरको फी राख्नेबित्तिकै फिल्म चल्ने, एउटा एक्टरको पर्फमेन्सले भन्दा पनि पर्सानिलिटीले फिल्म चल्ने भन्ने मान्यता छ । यस्तो प्रवृत्तिले मिहिनेत गर्ने मान्छेहरुलाई भने निराश बनाउँछ भन्ने लाग्छ ।’

बेनिशाको चाहना ? 

फिल्मवृत्तमा बेनिशा आफ्नो छुट्टै पहिचान बनाउन चाहन्छिन् । त्यस्तो पहिचान कि मान्छेहरुले उनलाई ‘यसले मिहिनेतचाहिँ गर्छे क्या !’ भनेर प्रशंसा गरून् । ‘म यस्तो हिरोइनको पहिचान बनाउन चाहन्छु ताकि मान्छेहरुले मलाई झुर फिल्म अफर गर्नुभन्दा अगाडि सोचून्,’ उनी भन्छिन्, ‘कसैले राम्रो क्यारेक्टर लेख्यो भने यो बेनिशालाई गराउनुपर्छ भन्ने होस्, पहिलो अप्सन बन्न सकूँ ।’

बिहे कहिले ?  

२०७४ सालमा बेनिशाले ‘झ्यानाकुटी’ फिल्म त खेलिन् तर रियलमा कहिले गर्ने हुन कुन्नी ? कुराकानीका अन्त्यमा जिज्ञासा राखियो । ‘सही समय आएपछि गर्ने हो । अहिले त त्यस्तो केही सोचेकै छैन । घरबाट प्रेसर त आउँछ तर मैले समय आएको महसुस गरेको छैन,’ उनको प्रस्ट जवाफ आयो । अफेयरबारे जिज्ञासा राख्दा त्यसबारे पनि प्रस्ट बोलिनन्  । मरिहत्ते गर्ने फ्यान भएको भने स्वीकारिन् । 

‘आई लभ यु, आइ मिस युभन्दा पनि सिधै बिहे गर्न चाहन्छु भनेर म्यासेज पठाउने फ्यान धेरै हुनुहुन्छ,’ उनले सुनाइन्, ‘एकजनाले फ्यानले अस्ट्रेलियाबाट ‘हे बेनिशा, एक दिन म तिमीलाई बिहे गर्छु, लेखेर राख्नू’ भनेर म्यासेस पठाउनुभएको थियो । त्यो म बिर्सन सक्दिनँ ।’

प्रकाशित: २२ वैशाख २०७५ १४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App