coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बजेट नआउदा योजना अलपत्र

संचालनमा आएको जिल्ला पशु सेवा कार्यालय भवन। तस्बिरः नागरिक

रोल्पा – बजेट अभाव देखाउदै सरकारले रकम पठाउन छोडेपछि जिल्लाका निर्माण कार्य ठप्प हुने अवस्थामा पुग्दा ठेकेदारहरू मर्कामा पर्न थालेका छन्। करोडौंको ठेक्का जिम्मा लिएका उनीहरूले आफ्नो लगानीमा ठूलो रकम खर्चेर सरकारी काम गरे पनि भुक्तानी भने पाएका छैनन्।

विभिन्न भवन, पुल र सडकको जिम्मा लिएर निर्माण सकेका वा लाखाैं रकम बराबरको काम गरेका ठेकेदारहरू अब के हुने हो भन्ने अलमलमा देखिन्छन। उनीहरू अलमलमा भएसँगै धेरै जसो योजनाहरू बीचैमा रोकिएका छन। बजेट अभाव भएसँगै  बर्षात अगाडि सम्पन्न हुनुपर्ने योजना त झनै अलपत्र पर्ने भएका हुन।

‘जिल्ला पशु सेवा कार्यालयको भवन निर्माण सकिएको एक वर्ष भयो तर ६२ लाख भुक्तानी पाउनु पर्ने अझै पाएको छैन। समय भन्दा छिटो काम सके पछि बोनस समेत पाउनु पर्ने तर काम गरेकै भुक्तानी पाइएन।’ निर्माण व्यवसायी कृष्ण प्रसाद चौलागाईले भने, ‘जिल्ला वन कार्यालय भवनको पनि १ करोड ५० लाखको बिल उठी सकेको छ तर भदौ देखि नै रकम आएको छैन। आफ्नो खल्तीको पैसाले काम गरिरहेको छु। सुलिचौर थवाङ सडक खण्डको ५ करोडको बिल पनि अर्थमा गएर अड्किएको छ। त्यसको भुक्तानी पनि पाएको छैन।’

‘दुई करोडको काम सकिएको छ। १ करोड ३८ लाखको त बिल पनि उठेको हो तर पैसा पाइदैन। अफिसले पैसा आएको छैन भन्छ। ३ प्रतिशत ब्याजमा रिण लिएर काम गरेको छु। अब काम रोक्नुको बिकल्प छैन।’ अर्का निर्माण व्यव्सायी खड्क बहादुर खत्रीले भने। उता ५ करोड बराबरको काम सकाएका निर्माण व्यवसायी रितमान पुन पनि सकसमा भएको बताउछन।

ठेकेदारहरू मर्कामा पर्न थालेपछि निर्माण व्यवसायी संघले पनि चासो दिन थालेको छ। ‘काम गरेन भनेर अपजस बोक्ने हामी निर्माण व्यवसायी तर सरकारले गरेको कामको पनि भुक्तानी समयमा दिन सकेको छैन। हामीले कार्यालयलाई ताकेता गरेका छौ। हाम्रा साथीहरू मर्कामा पर्नु भएको छ। कती दिन खल्तीको पैसा हालेर काम गर्न सकिन्छ।’ निर्माण व्यवसायी संघ रोल्पाका अध्यक्ष माबहादुर खत्रीले भन्छन। ‘यस्तै अवस्था रहने हो भने त सबै योजना अलपत्र हुन्छन।’

बजेट अभाव भएपछि सरकारी कार्यालयहरू पनि तनावमा छन। ‘एउटा ठेकेदारले कम्तीमा एक देखि डेढ करोडको काम गरेका छन। तर पैसा आएको छैन। हामीले पुलको मात्रै १३ करोड माग गरेका छौ। बिल उठाएर त्यसको फोटो कपी सहित माथि पठाएको हो। सडकको पनि करिब २७ लाख मागेका छौ। के गर्ने के अन्यौल छ। कुन दिन ठेकेदार आएर कार्यालयमा ताला लगाउने हुन जगजगी छ।’ सडक डिभिजन कार्यालय चकचकेका प्रमुख सुरेश न्यौपानेले बताए।

उता भवन डिभिजन कार्यालयको समस्या पनि उस्तै छ। रकम अभावमा धेरै काम रोकिएका छन। ‘हामी कहाँ स्वास्थ्यका ४४ वटा भवन बनिरहेका छन। तर पैसा भुक्तानी गर्न नपाउदा काम रोकिएको छ। द्रुत गतीमा काम भइरहेको थियो। स्वास्थ्य भवनको मात्रै बिल भर्पाई सहित १६ करोड मागेका छौ।

जनता आवासको ३ सय ७५ घरको काम त झन अगाडि नै बढेन।’ सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख ईश्वर राज जोशी भन्छन। सरकारले योजना निर्माणको जिम्मा दिएका विभिन्न निर्माणहरू अलपत्र पर्न थालेपछि स्थानीय स्तरमा चिन्ता बढेको छ।

प्रकाशित: २३ वैशाख २०७५ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App