८ वैशाख २०८१ शनिबार
राजनीति

मुक्तिनाथमा आइसियु

काठमाडौं – सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणक्रममा उनीसँगै सघन उपचार विशेषज्ञ (फिजिसियन एट एटेन्डेन्स) खटाउने भएको छ। मोदीले भ्रमण गर्ने मुस्ताङको मुक्तिनाथमा अस्थायी आइसियु र एयर एम्बुलेन्स स्ट्यान्डबाइ राखिने छ। काठमाडौं र जनकपुरमा पनि चिकित्सकसहित स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखिने छ। मोदी भ्रमण टोलीका सदस्यको स्वास्थ्यमा समस्या देखापरे उपचारका लागि यस्तो व्यवस्था गर्न लागिएको हो।

मोदीले यही वैशाख २८ल भ्रमण गर्ने कार्यक्रम सार्वजनिक भइसकेको छ। भ्रमणतालिका अनुसार काठमाडौंमा उच्चस्तरीय भेटवार्ता गर्ने मोदी जनकपुर र मुक्तिनाथ पनि जाने छन्। मोदी स्वदेश नफर्किंदासम्म उनीसँगै वीर अस्पतालका वरिष्ठ क्रिटिकल केयर स्पेसलिस्ट डा. रवीराम श्रेष्ठलाई ‘फिजिसियन एट एटेन्सडेन्स’ का रुपमा खटाइने छ। उनी वरिष्ठ आकस्मिक विशेषज्ञ हुन्। स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार मोदीसहितको भ्रमण टोलीको स्वास्थ्यमा आउनसक्ने सम्भावित समस्या समाधानका लागि अस्पताल, जनशक्ति, एम्बुलेन्स, संयोजक तोकिएको छ। तर, हालसम्म मोदीको स्वास्थ्य समस्या, उनले सेवन गरिरहेका औषधिलगायतको जानकारी विवरण मन्त्रालयलाई प्राप्त भएको छैन्।

भ्रमणस्थलमध्य मुक्तिनाथमा हाइअल्टिच्युड सिकनेसको सम्भावना उच्च रहेकाले सतर्कता अपनाउन विशेष तयारी गरिएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र जिल्ला अस्पताल जोमसोमसँग समन्वय गरेर राजधानीको मेडिसिटी अस्पतालले मुक्तिनाथमा अस्थायी आइसियु निर्माण गर्ने जिम्मा पाएको छ। त्यहाँ मेडिसिटीबाटै आइसियु विशेषज्ञसहित नर्स र पारामेडिक्स खटिनेछन्। मेडिसिटीको टोलीलेसमेत मोदी प्रतिनिधिमण्डलसँगै हुने विशेषज्ञकै समन्वयमा काम गर्नेछ। अस्थायी आइसियुमा पोटेवल भेन्टिलेर, अक्सिजन, कार्डियाक मोनिटरसहित, आकस्मिक रुपमा प्रयोग हुने सम्पूर्ण औषधिको व्यवस्था गरिनेछ। त्यसबाहेक मुक्तिनाथमा एयर एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिने छ। आइसियुको ‘ब्याकअप’ मा जिल्ला अस्पतालमा समेत चिकित्सकसहितको टोली तयारी अवस्थामा राखिनेछ। जोमसोम अस्पतालमा विशेषज्ञ जनशक्ति नभएकाले क्षेत्रीय अस्पतालबाट विशेषज्ञ खटाइने मन्त्रालयले जनाएको छ। भ्रमणको दुई दिनअघि चिकित्सक टोली मुक्तिनाथ पुगेर आइसियु सेटअप तयार गर्नेछन्।

परराष्ट्र र गृहमन्त्रालयसँगको समन्वयमा स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखाले भ्रमणटोलीको स्वास्थ्य सुरक्षाका लागि औषधि, जनशक्ति र पूर्वाधार तयारी गरिरहेको छ। ‘भिभिआइपीसँगै टोलीका जोसुकैलाई पनि स्वास्थ्य समस्या आइपर्दा व्यवस्थापन गर्नसक्ने गरी तयारी भइरहेको छ,’ मन्त्रालय स्रोतले भन्यो। ‘मौसममा खराबी भएर ३/४ घण्टा हेलिकप्टर र एयर एम्बुलेन्स नचले पनि मुक्तिनाथमा जीवनरक्षासहित इमर्जेन्सी व्यवस्थापन गरिनेछ,’ नाम उल्लेख नगर्ने सर्तमा एक अधिकारीले भने।

महाशाखा प्रमुख डा.दिपेन्द्ररमण सिंहले आकस्मिक स्वास्थ्य सेवाका लागि तयारी भइरहेको बताए। ‘कहाँ के चाहिन्छ भने र विशेषज्ञसँग छलफल गर्ने र सोअनुसारको व्यवस्थापनको तयारी हुँदैछ,’ उनले भने, ‘सबै कुरा त परराष्ट्र वा गृहसँगै सोध्नुपर्छ।’

केही दिनअघि परराष्ट्र मन्त्रालयका चिफ अफ पोट्रोकलसहित वीर अस्पतालका निर्देशक र अन्य उच्च पदाधिकारीले मुक्तिनाथ क्षेत्रको स्थलगत भ्रमणमा गरेका थिए। टोलीले आइसियु सेटअपका लागि मन्दिरसँगै रहेको कपडा फेर्ने कोठा खाली गराएर उपचार कक्ष बनाउन उपयुक्त हुने सिफारिस गरेको छ। सोही आधारमा त्यहाँ विद्युत् आपूर्ति व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार मोदी टोलीको सम्पूर्ण स्वास्थ्य सेवाको समन्वय गर्न चिकित्सा सेवा महाशाखा प्रमुखलाई जिम्मेवारी तोकिएको छ। स्वास्थ्य उपचार आवश्यक परेमा काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिस सेन्टर र मेडिसिटी अस्पतालमा आइसियुसहित विशेषज्ञ जनशक्ति तयारी अवस्थामा राखिने छ। जनकपुरमा बाह्रबिघा रंगभूमिनजिकै रहेको जानकी मेडिकल कलेजको सिटी अस्पतालमा आइसियु स्थापना गरिने छ।

मोदी टोलीसँगै जनकपुर र काठमाडौंमा सुविधासम्पन्न एम्बुलेन्स रहनेछन्। सरकारले तोकेको मापदण्डअनुसार सुविधा सम्पन्न ‘क’ श्रेणीका एम्बुलेन्समा भेन्टिलेटर, कार्डियाक मोनिटर, आकस्मिक जीवन रक्षाका औषधि, तालिम प्राप्त स्वस्थ्यकर्मी र जनशक्ति हुनेछन्। एम्बुलेन्सहरुको समन्वय परिष्ठ चिकित्सक प्रदीप वैद्यले गर्नेछन्। उपत्यकामा अस्पतालहरुको समन्वय जिम्मा वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतलाई दिइएको छ।

प्रकाशित: २४ वैशाख २०७५ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App