७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बलात्कारपछि किशोरीलाई जिउँदै जलाएर हत्या

बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएकी भारत झारखण्ड राज्यको राजा केन्दुवा गाउँकी १६ वर्षीया किशोरीको शोकमग्न आफन्त। तस्बिर : एएएफपी

नयाँ दिल्ली – भारतको झारखण्ड राज्यकी एक किशोरीलाई सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ।

आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबुआमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जिउँदै जलाइएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

किशोरीको सामूहिक बलात्कारपछि हत्यामा संलग्न मुख्य संदिग्धसहित अन्य १४ जनालाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ। घटनामा आरोपित १५ मध्ये १५ जनालाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

धानु भुइयान नामका व्यक्ति र उनका सहयोगीहरुले गत शुक्रबार १६ वर्षीया किशोरीलाई जिउँदै जलाएको आरोपमा पक्राउ गरिएको झारखण्ड प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। भुइयानलाई आफन्तको घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ। १६ वर्षीया किशोरीलाई बलात्कारपछि जिउँदै जलाएर हत्या गरेको आरोप लागेका मुख्य संदिग्ध भुइयानले भने यस विषयमा मुख नखोलेको बिबिसीले उल्लेख गरेको छ।

आफ्नी छोरीको बलात्कार भएको घटना गाउँका अग्रजसमक्ष राखेपछि सजायस्वरुप दुई आरोपितलाई गाउँका अग्रजले सय चोटी उठबस र ५० हजार रुपैयाँ जरिवाना गराएका थिए। गाउँका अग्रजले सजाय तोक्नेबित्तिकै आरोपितहरु क्रुद्ध बनेका थिए। रिसाएका ती आरोपितहरुले किशोरीका बाबुआमालाई पिटेको र किशोरीलाई आगोमा हालेको बताइएको छ। ‘आरोपित दुई व्यक्तिले आमाबुवालाई पिटे र उनीहरुको घरमा गएर ती किशोरीलाई साथीहरूको सहयोगमा जलाए,’ स्थानीय प्रहरी चौकीका अधिकारी अशोक रामलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

बाबुआमा विवाह कार्यक्रममा सहभागी भएको बेला ती किशोरीलाई घरबाटै अपहरण गरिएको हुनसक्ने अनुमान गरिएको छ। अपहरण गरेर लगिएकी ती किशोरीलाई दुई पुरुषले राजा केन्दुवा गाउँ नजिकैको जंगल क्षेत्रमा लगेर बलात्कार गरेको बताइएको छ। आफ्नी छोरीमाथि घटेको घटनाबारे खोज्दै जाँदा ती किशोरीका आमाबाबुले गाउँका अग्रजहरूलाई अपराध गरेको ठानिएकाविरुद्ध अभियोग चलाउन आग्रह गरेका थिए। ‘पीडित र आरोपितबीच चिनाजान रहेको पाइएको छ,’ प्रहरीका इन्स्पेक्टर जनरल शम्भु ठाकुरलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

भारतमा केही घटना हुनेबित्तिकै गाउँका अग्रजहरुको समूहमा राख्ने चलन भएपनि त्यस्ता समूहले कानुनी हैसियत भने राख्दैनन्। यद्यपी भारतका विकट क्षेत्रमा उनीहरूको प्रभाव महत्वपूर्ण रहेको छ र महँगो न्यायिक प्रक्रियामा जानुभन्दा भारतका विकट गाउँमा बस्ने मानिसले विवाद मिलाउनका लागि गाउँका अग्रजहरुको भेलालाई एउटा माध्यमका रूपमा लिने गरेका छन्। कानुनी हैसियत प्राप्त नभए पनि गाउँका अग्रजहरुले विभिन्न निर्णय गर्ने गरेका छन्। जसका कारण भारतका ग्रामीण क्षेत्रमा बस्ने कैयौं गाउँले अग्रजहरुले गैरकानुनी आदेश दिएको र प्रमाणलाई तोडमोड गरेको अभियोगमा विभिन्न मुद्दा खेपिरहेका छन्।

भारतमा यौन हिंसासम्बन्धी अपराधहरूको शृंखलामध्ये यो पछिल्लो घटना हो। भारतमा सन् २०१६ मा मात्रै करिब ४० हजार बलात्कारका घटना भएको प्रहरी तथ्याङ्क रहेको छ । यद्यपी बलात्कार र यौन हिंसाका विषय सामाजिक कलंकसँग जोडिएका कारण थुप्रै मुद्दाहरू सरकारी रेकर्डमै नआएकोसमेत ठान्ने गरिएको छ।

प्रकाशित: २४ वैशाख २०७५ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App