coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कबीरका लम्फू कुरा

काठमाडौं – फिल्म ‘लम्फू’को सुटिङताका नवनायक कबीर खड्कालाई एक स्पटब्वाईले ‘तपाईले कति पैसा हाल्नुभयो ? ’ भनेर सोध्दा उनलाई यो प्रश्न कुनै नौलो लागेन । फिल्ममा हिरो बन्नकै लागि आफै लगानी गर्नेको संख्या बढीरहेको सुनेका कबीरले स्पटब्वाईको प्रश्नलाई सहज लिए । ‘उनको प्रश्नले म एकपटक झस्किएँ किनकी फिल्मी बजारको माहौल नै त्यस्तै छ । अनुहारले हिरो नपरेकाहरु पनि फिल्ममा हिरोको भूमिकामा देखिँदा जोकोहीलाई पनि पैसा कति लगानी गरेको रहेछ भनेर शंका उब्जिन्छ,’आगामी शुक्रबारबाट रिलिज हुने फिल्म ‘लम्फू’का हिरो कबीर आइतबार नागरिकसँग गफिँदै थिए,‘मैले फिल्ममा पैसा लगानी गरेको त छैन । तर मेरो श्रमको लगानी मेरा लागि एउटा नयाँ कोशेढुंगा बन्नेछ । अर्थात मेरो अभिनयको श्रमलाई दर्शकले खेर जान दिनुहुनेछैन ।’

लामो कपाल र केही अग्ला कबीर आफूलाई ‘हिरो’ छु जस्तो त ठान्दैनन् । तर फिल्ममा हिरो भएर अभिनय गर्दा दर्शकबाट आउने ‘हिरो’ प्रतिक्रियाको उनी व्यग्र प्रतिक्षामा छन् । ‘स्कुल पढ्दा होस् या कलेजमा अभिनय विषय पढ्दा मेरो उद्देश्य एक व्यावसायिक फिल्ममा हिरो भएर अभिनय गर्ने नै थियो,’सर्ट फिल्मदेखि विज्ञापनको अभिनयसम्मका ज्ञान लिइसकेका उनले भने,‘फिल्ममा एउटा हिरो बन्न के गर्नुपर्छ भन्ने कुरा मैले सबै थाहा पाइसकेको छु । त्यसकारण पनि मैले ‘लम्फू’मा शीर्ष चरित्रमा अभिनयको अडिसन दिँदा पनि ती कुराको अध्ययन गरेको थिएँ ।’

कबीरले फिल्मका लागि दुईपटक अडिसन दिनुपर्‍यो । पहिलोपटक अडिसन दिएपछि उनलाई झण्डै चार महिनासम्म फिल्म निर्माण पक्षबाट कुनै फोन नै आएन । ‘मैले ओस्कार कलेजबाट भर्खरै अभिनयमा तेस्रो वर्ष पुरा गरेको थिएँ । त्यो बेला ममा अभिनयको तातो रगत बगिसकेको थियो । त्यो तातो माहौललाई अडिसनका देखाएर म उत्तिर्ण भएँ र छानिए,’उनी फ्ल्यासब्याकमा फर्किए,‘तर चार महिनासम्म मलाई कुनै फोन आएन । पछि उहाँहरुले सम्पर्क गरेर पुनः अडिसनका लागि बोलाउनुभयो ।’ उनले फिल्मकै लागि दुई वर्ष अघि १४ महिनासम्म दाह्री नै पालेका थिए ।

कबीरले ‘लम्फू’को अडिसन दिनुअघि निर्देशक गोपालचन्द्र लामिछाने र निर्माता शक्तिबल्दभ घोरासैनीको फिल्म ‘किन लाग्छ माया’ हेरिसकेका थिए । त्यो फिल्म हेरेपछि मात्र उनले गोपाल र शक्ति व्यावसायिक फिल्म निर्माण गर्न सक्ने व्यक्ति रहेछन् भन्ने थाहा पाए । ‘यति राम्रो र यस्तो तहको फिल्म बनाउने मेकरसँग काम गर्दा मलाई पनि केही सजिलो हुन्छ भन्ने लाग्यो । अनि अडिसन दिएँ ।’ उनले भने ।

फिल्म रिलिज हुन केही दिन बाँकी छँदा कबीर नर्भस र उत्साहित दुवै छन् । यो फिल्म रिलिज पछि उनको जिन्दगीले कस्तो कोल्टे फेर्छ त्यसकै प्रतिक्षामा कबीर छन् । ‘यो फिल्म रिलिजपछि मेरो जीवनमा पक्कै उथलपुथल चाहिँ हुन्छ । किनकी अहिले नै मलाई ३,४ वटा फिल्मका लागि अफर आइसकेको छ । तर मैले सबैलाई ‘लम्फू’ रिलिजसम्म पर्खिन आग्रह गरिसकेको छु,’उनी खुले,‘मसँगै फिल्म युनिट र मेरो परिवार तथा आफन्तले यो फिल्मप्रति ठूलो आशा राखेका छन् । त्यसकारण यसको रिलिजको प्रतिक्षामा छु ।’

दुई दर्जन सर्ट फिल्म, एक दर्जन र्‍याम्प शो र आधा दर्जन विज्ञापनमा अभिनय गरिसकेका कबीरलाई ‘लम्फू’मा अभिनय गर्न कुनै असहज लागेन । फिल्ममा उनी भन्दा दुई अनुभवी कलाकार नायिका मरिष्का पोखरेल र नायक सलोन बस्नेतको पनि अभिनय छ । कबीरले दुवै कलाकारले अभिनय गरेको फिल्म हेरिसकेका छन्। ‘दुवैजना म भन्दा सिनियर हुनुहुन्छ। तर काममा उहाँहरुले सिनियरपन देखाउनुभएन । सहहृदयी र सहयोगी स्वभावका हुनुहुँदोरहेछ ।’ कबीरले भने ।

पूर्वी झापा, दमकका कबीरलाई गाउँमा ‘किरण’ भनेर परिवार तथा गाउँलेले चिन्छन् । दमकमा रहँदा बलिउड अभिनेता शाहरुख खानको क्यारिकेचर गर्ने २३ वर्षे ठिटो कबीर राजेश हमालको लुक्सको सानैदेखिको फ्यान हुन्। बाबुले इञ्जिनियरिङ पढाउन खोजे पनि अभिनयको रहर पुरा गर्न उनी ओस्कार कलेज अफ फिल्म एकेडेमीमा भर्ना भए। थिएटरमा अभिनयको तालिम पनि लिए । परिवारमा आमाबाबु छोराको निर्णय प्रति बेखुशी भए पनि ‘लम्फू’ घोषणाको भोलिपल्ट पत्रिकामा कबीरको फोटो देखेपछि अभिभावक प्रफूल्लित बने । ‘मेरो बुवाआमा २० वर्षपछि मेरै फिल्म हेर्दैहुनुहुन्छ,’उनी भावुक भए,‘आमाबाबुले पनि फिल्म हेर्ने भएपछि मैले अभिनयको सबै बल फिल्ममा लगाएको छु।’ 

प्रेमकथाका फिल्ममा अभिनय गर्न रुचाउने कबीर नायिकामा साम्राज्ञी राज्यलक्ष्मी शाह र निकिता चन्दकसँग रोमान्स गर्न चाहन्छन्। निर्देशकमा चाहिँ हेमराज बिसी र निश्चल बस्नेतको एक्सन–कटमा रमाउन चाहन्छन्। ‘म वास्तविक जीवनमा पनि केही लम्फू नै छु । रियल चरित्र र रिल चरित्र उस्तै उस्तै किसिमको छ,’कुराको बीट मार्दै उनले भने,‘ट्रेलरमा अमेरिका जाने कुरा छ । तर म विदेश जान नचाहने लम्फू परें । किनकी म नेपालमै केही गर्न चाहने युवा हुँ । यसमै मलाई गर्व छ।’

प्रकाशित: २४ वैशाख २०७५ ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App