७ वैशाख २०८१ शुक्रबार
समाज

सिरहामा गोली हानी युवकको हत्या

सिरहा- आईतबार अबेर राती सिरहाको अर्नामा गाउँपालिका १ मा गोलीप्रहार गरी एक युवकको हत्या भएको छ। गोली प्रहारबाट सोही ठाउँका धर्मेन्द्र कुमार सिंह (२८) को मृत्यु भएको प्रहरीले जनाएको छ।

राती करिब ११ बजेतिर धर्मेन्द्र सिंह र सोही ठाउँका सन्तोष सिंहलगायका युवकको समूहसँग बिबाद भएको थियो। बिवाद बढेर दुबैपक्षबीच तानातानको अवस्था सृजना भएपछि सन्तोष सिंहको समूहले पेस्तोल निकालेर धर्मेन्द्रउपर प्रहार गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजन भेट्वालले बताए। छातीको दायाँपट्टी गोली लागेका धर्मेन्द्रलाई आफन्तले उपचारका लागि लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो। घटना भएपछि पुगेको प्रहरीले सोही गाउँपालिकाबाट सन्तोष सिंहलाई नियन्त्रणमा लिएर सोधपुछको क्रममा सिंहले देखाएको स्थानबाट दुई थान कटुवा पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको डिएसपी भेट्वालले बताए।

मृतक सिंह र उनको हत्यामा संलग्न समूह एकआर्कासँग परिचित रहेको भेटवालले बताए। राती मदिरा सेवनपछि उनीहरुबीच बिवाद बढेर गोली प्रहारसम्मको अवस्था सृजना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बतायो। घटनामा संलग्नहरुको खोजी भैरहेको प्रहरीले बताएको छ।  पक्राउ परेका एकजना संकितसँग वयानको क्रममा संलग्नहरुको पृष्ठभूमी समेत खोतल्ने काम भैरहेको भेट्वालले बताए।

गोली प्रहारबाट धमेन्द्रको मृत्युपछि पीता उपेन्द्र मुर्छित छन्। सिंह परिवारमा गहिरो शोक छ । गाउँका युवक मारिँदा गाउँभरी शोक र आक्रोशको माहोल छ।

 

 

 

 

प्रकाशित: २४ वैशाख २०७५ ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App