१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बुढेसकालको तनाव प्रोस्टेट

निमप्रसाद लम्साल लामो समयदेखि पिसाबसम्बन्धी समस्याले पीडित छन् । आफन्तलाई समस्या भन्न सकेका छैनन् तर उनको दैनिकी यही समस्याका कारण प्रभावित छ । पिसाब गर्न मन लागेर जाँदा पनि सुरुमा पिसाब आउनै गाह्रो पर्छ, आइहाले पनि पिसाब ननिख्रिएजस्तो हुने र छिनछिनमा गइरहनुपर्ने हुन्छ, त्यही पनि रोकिरोकी आउँछ । पिसाब आउन गाह्रो भई दुःख्नसमेत थालेपछि उनी अस्पताल आए । ‘झण्डै पाँच वर्ष समस्या लुकाएरै बसेँ, सुनाए नराम्रो ठान्लान्जस्तो लाग्थ्यो,’ उनले भने, ‘उमेर ढल्किँदै गएपछि हुने प्रोस्टेटले यस्तो भएको रहेछ ।’

प्रोस्टेटको वृद्धिले पिसाब सञ्चालनमै अवरोध उत्पन्न गराएर हुने समस्याबाहेक थाहा नपाइकनै क्यान्सरको अवस्थामा पुग्ने प्रवृत्ति बढ्दै जाँदा पनि समयमै उपचारतिर नलाग्ने चिकित्सकहरूको अनुभव छ । वीर अस्पतालका यूरो सर्जन डा. पारश श्रेष्ठका अनुसार पुरुषमा उमेर बढ्दै जाँदा उत्पन्न हुने हर्मनको असन्तुलनले प्रोस्टेटको आकार र तौल बढाउँछ । यसको अवस्थिति पिसाबनलीको मुख र थैलीको बीचमा हुने भएकोले यसको वृद्धिले मूत्र प्रणालीमा अवरोध गरेर त्यसले दैनिक जीवनमा प्रभाव पार्न थालेपछि यो समस्याको रूपमा देखिन्छ ।

चिकित्सकहरूका अनुसार प्रोस्टेट ग्रन्थीको वृद्धि प्रायः ४० वर्षपछि सुरु हुने भए पनि ६० वर्ष पुग्दासम्म यसले पुरुषहरूको मूत्र अवरोधका निकै लक्षण देखाइसक्छ । डा. श्रेष्ठका अनुसार प्रोस्टेटले दैनिकीमै प्रभाव नपार्दासम्म यो बढ्दैमा उपचार गरिहाल्नुपर्छ भन्ने छैन । चिकित्सकहरूका अनुसार वृद्धि भएर इरिटेसन पैसा गर्ने वा प्रवाहमा अवरोध गरेपछि र थप जटिलता उत्पन्न गराउन थालेपछि उपचार थाल्नुपर्छ ।

तर समस्या देखिरहँदा पनि लामो समयसम्म मूत्र प्रक्रियामा अवरोध हुँदा पनि खपेर बस्ने प्रवृत्तिले प्रोस्टेटको क्यान्सर दर समेत बढाउँदै लगेको यूरो सर्जन डा. श्रेष्ठको भनाइ छ । सामान्य रूपमा प्रोस्टेट वीर्यको केही भाग उत्पादन गरेर शुक्रकीटको रक्षा गर्ने महत्वपूर्ण अंग हो । १५ देखि २० ग्रामको तौल हुने यो ग्रन्थी मूत्रनलीको सुरुको भागलाई चारैतिरबाट बेरिएको हुन्छ । चिकित्सकहरूका अनुसार प्रोस्टेटबाट निस्किने झोलले शुक्रकीटलाई पिसाबनलीमा बग्नसमेत मद्दत गर्छ ।

उमेर बढ्दै जाँदा टेस्टोस्टेरोन नामको हर्मोन शरीरमा घट्दै जाने कारणले ग्रन्थीको आकार र तौल बढ्दै जान्छ । पिसाब मार्गमा अवरोध उत्पन्न नगराउँदासम्म चिकित्सकहरूले ठूलो समस्या मान्दैनन् । सबै अवस्थामा यो समस्याको रूपमा नदेखिएपछि ८० वर्ष कटेका ९० प्रतिशतभन्दा धेरैमा केही न केही लक्षण देखिन्छ ।

चिकित्सकहरूका अनुसार प्रोस्टेट ग्रन्थीमा बाहिरपट्टि खोल हुने भएकोले प्रोस्टेटको अत्यधिक वृद्धि भित्रपट्टि हुन्छ । यसले पिसाबनलीलाई वरिपरिबाट दबाब दिएर साँघुरो बनाइदिन्छ र पिसाबमा समस्या देखा पर्दै जान्छ । ‘पिसाब गरिरहनुपर्ने (कम्तीमा दुई घण्टाभन्दा अगाडि), लागेपछि खप्नै नसक्ने, राति उठिरहनुपर्ने (दुईपटकभन्दा बढी) भएमा समस्या हो ।’ डा. श्रेष्ठले भने, ‘धारो मसिनो हुने, धारो रोकिने र ननिख्रिने भएमा प्रोस्टेटले समस्या उत्पन्न गराएको मानिन्छ ।’

प्रोस्टेटको समस्या सुरु भएपछि पिसाबनली साँघुरो हुने  भएकोले पिसाबको बहाव कम हुन्छ । जसका कारण पिसाबथैलीमा रहेको पिसाब पूर्ण मात्रामा निख्रन्न र थैलीमा पिसाब जमेर रहन्छ । पिसाब जमेपछि थैलीमा ढुंगा बन्ने, पिसाबनलीमा समेत भार परी मृगौला सुन्निने र संक्रमणसमेत हुनसक्छ । ‘सबैभन्दा जटिल पक्ष पिसाब जम्मा हुने क्रम बढ्दै जाँदा पिसाब नै उल्टो बाटोमा बहन्छ,’ डा. श्रेष्ठ भन्छन् । रोग पत्ता लागेपछि चिकित्सकसँग परामर्श गर्ने, जीवनशैलीमा सामान्य फरक पारेर तरल पदार्थ र पानी सेवनमा वृद्धि गरेमा समस्या समाधान हुन सक्छ । कतिपय अवस्थामा समस्याको स्तरको मूल्यांकन बिरामीलाई नै गर्न दिएर पनि यत्तिकै छोड्ने, औषधि सेवन गर्ने वा शल्यक्रिया गर्ने भन्ने तय गरिन्छ ।

पिसाब पूरै रोकिएमा, बाहिरबाट मूत्र संक्रमण भएमा, पिसाबथैलीमा पत्थरी जमेमा, मूत्र अवरोधका कारण मृगौलाको कार्यक्षमतामा ह्रास आउन थालेमा, पिसाबमा रगत जाने अवस्थामा शल्यचिकित्साको विकल्प नुहुने चिकित्सकहरू बताउँछन् । चिकित्सकहरूका अनुसार रोग बढ्दै गएर पेटको तल्लो भागमा फुलेको मूत्रथैलीको डल्लो देखा परेमा र राति सुतेको बेलामा बाराम्बार ओछ्यानमा पिसाब चुहिने  समस्यासमेत देखिन सक्छ ।

‘यस्तो अवस्थामा शल्यक्रिया नगर्ने हो भने मृगौला फुलेर शरीरबाट फाल्नुपर्ने फोहोर निकाल्न अक्षम हुने र सधैँका लागि मिर्गौला फेल नै पनि हुनसक्छ,’ श्रेष्ठले थपे ।
चिकित्सकले केही शारीरिक जाँच र परीक्षणको माध्यमबाट रोग र यसको प्रभाव पत्ता लगाउन सक्छन् । भिडियो एक्सरेको माध्यमबाट प्रोस्टेटको तौल, आकार तथा अवस्था पत्ता लाग्छ र पिसाबथैली र मृगौलाको अवस्था थाहा पाउन सकिन्छ । यसले पिसाब फेरिसकेपछि पिसाबथैलीमा रहने पिसाबको मात्रा पनि पत्ता लाग्छ ।  
चिकित्साविज्ञानको विकासले प्रोस्टेटको शल्यक्रिया पहिले जस्तो जटिल छैन । नचिरिकनै पिसाबनलीको बाटोबाट प्रोस्टेट ग्रन्थीलाई खुर्केर (टियुआरपी) को माध्यमद्वारा पिसाबको बाटो खोल्न पनि सकिन्छ वा लेजरको माध्यमद्वारा प्रोस्टेटलाई डडाउन पनि सकिन्छ वा ग्रन्थी निकाल्न पनि सकिन्छ । चिरेर शल्यक्रिया गरेर धेरै दिन अस्पताल बस्नुपर्ने बाध्यतालाई हटाउँदै अहिले नचिरिकनै पिसाबनलीबाटै प्रोस्टेटको शल्यक्रिया सम्भव छ । तर यसबाट शल्यक्रिया गर्दा पिसाब नरोकिनेलगायतका जटिलतासमेत निम्तिने भएको सुनौलो उपचार मान्दैनन् ।

प्रकाशित: २४ वैशाख २०७५ १२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App