७ वैशाख २०८१ शुक्रबार
राजनीति

जेलभित्रै ‘धर्म प्रचार’

जिल्ला कारागार सुर्खेतभित्र कैदी–बन्दीहरुसँग पोखराको विलिभर्स चर्चका पाष्टर पूर्ण वर्देवासहितका प्रभुका अनुयायी । तस्बिर : नागरिक

सुर्खेत– छ वर्षअघि वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे। कैदी–बन्दीका लागि खाद्यान्न सहयोगका लागि पुगेका उनीहरु छ वर्षयता कारागारलाई ‘धर्म प्रचार’ को केन्द्र बनाउँदै आएका छन्। शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सहयोग प्रदान गर्ने नाममा कारागारभित्रैबाट उनीले सयौं अनुयायी जन्माएका छन्। कतिसम्म भने कारागार प्रशासनले विरामी कैदी–बन्दीलाई अस्पताल पु-याएर उपचार गराउनुको सट्टा पाष्टरहरु बोलाएर ‘प्रार्थना’ गर्न लगाउने गरेको छ। 

कारागार प्रशासनले पुस्तकालय, सीपमूलक तालिम, खाद्यान्न सहयोग, भौतिक संरचना निर्माणलगायतका नाममा काठमाडौंदेखि पोखरासम्मका चर्चका ‘पाष्टर’ र ‘अनुयायी’ लाई कारागारभित्र निर्वाध प्रवेश दिन्छ। ‘सहयोग’ र ‘प्रेम’बाट कैदी–बन्दीको जीवन परिवर्तन गर्ने भन्दै उनीहरु जेलभित्रै धर्म प्रचार गर्छन्। कैदी–बन्दीलाई प्रार्थना गर्न लगाउँछन्। जेलभित्र सजाय भुक्तान गरिरहेका कैदी–बन्दी मात्रै होइन् उनीहरुका परिवार र सन्तान खोज्दै प्रभुका अनुयायीहरु घरैसम्म पुग्छन्। त्यहाँ पनि आर्थिक, खाद्यान्न, शैक्षिकलगायतका सहयोगको नाममा आफ्नो सञ्जाल विस्तार गरिरहेका छन्।

जेलभित्र सजाय भुक्तान गरिरहेका कैदी–बन्दी मात्रै होइन् उनीहरुका परिवार र सन्तान खोज्दै प्रभुका अनुयायीहरु घरैसम्म पुग्छन्। त्यहाँ पनि आर्थिक, खाद्यान्न, शैक्षिकलगायतका सहयोगको नाममा आफ्नो सञ्जाल विस्तार गरिरहेका छन्।

छ वर्षदेखि कारागारमा ‘सहयोग’ गर्दै आएको अनुग्रह चर्चका पाष्टर मनोज पुलामी सहयोगसँगै धर्म प्रचार गर्ने गरेको बताउँछन्। ‘सहयोग र प्रेमबाट कैदी–बन्दीहरुको जीवन परिवर्तन गर्न प्रभुको सन्देश बाँड्ने गरेका छौं’ उनले भने, ‘अहिले धेरैजसो कैदी–बन्दीहरु प्रभुलाई पुकार्दै प्रार्थना गर्नुहुन्छ।’

अनुग्रह चर्चले देशका विभिन्न चर्चसँग समन्वय गरेर कारागारका लागि सहयोग ल्याउने गरेको छ। सहयोगका नाममा प्रभुका अनुयायीले धर्म प्रचारलाई तिव्रता दिइरहेका छन्। ‘प्रतिक्षालय, खानेपानी ट्याङ्की, पंखा, स्वास्थ्य शिविर, तालिम, पुस्तकालय, कैदी–बन्दीका छोराछोरीलाई छात्रवृत्तिलगायतका सहयोग हामीले गरेका छौं’ पाष्टर पुलामीले भने, ‘हामीले सहयोगसँगै प्रभुका उपदेश बाँडेका छौं, यो कुनै नौलो विषय होइन्।’

केही महिनाअघि कारागारमा कैदी–बन्दी भेट्न आउने आफन्तका लागि बनाइएको प्रतिक्षालय उद्घाटन गर्न पोखराको विलिभर्स चर्चका पाष्टर पूर्ण वर्देवासहितको टोली आयो। तीन लाख रुपियाँको लागतमा निर्मित कारागार हाताभित्रको प्रतिक्षालय उद्घाटन अघि सुरक्षा घेराभित्रै सयौं अनुयायीले प्रार्थना गरे। प्रतिक्षालय उद्घाटनपछि वर्देवासहितका अनुयायीहरु कारागारभित्र प्रदेश गरे। फिल्टर दिने बहानामा कैदी–बन्दीलाई प्रार्थना गर्न लगाइयो।

कारागार प्रशासनले नै धर्म प्रचारमा सघाइरहेको देखिन्छ। जेलभित्र प्रवेश गर्नका लागि कारागार प्रशासन र सुरक्षा प्रमुखको अनुमति चाहिन्छ। जेलर लालबहादुर खत्री नै हरेक महिनाको पहिलो आइतबार प्रभुका अनुयायीहरु कारागारभित्र आएर कैदी–बन्दीलाई प्रार्थना गर्न लगाउने गरेको बताउँछन्। 

कारागारभित्र महिला र पुरुषको छुट्टाछुट्टै ‘ब्लक’ छन्। ‘महिलाका लागि महिला र पुरुषका लागि पुरुष अनुयायी आएर आफ्नो धर्मका बारेमा प्रचार गर्छन्’ नाइके नवराज देवकोटाले भने, ‘यो प्रक्रिया ६ वर्षदेखि चलिरहेको छ।’ उनले सहयोगको आशमा धेरै कैदी–बन्दीहरुले धर्म परिवर्तन गरेको सुनाए। ‘कारागारभित्रका आधारभूत आवश्यकता सरकारले पूरा गर्दैन्, सहयोग ल्याएर आएकालाई त्यसै फर्काउन पनि भएन्’ उनले भने, ‘सहयोगकै आशमा पनि धेरै साथीहरुले धर्म परिवर्तन गरेका छन्, कारागारले पनि सहज रुपमा उनीहरुलाई प्रवेश दिइरहेको छ।’

जेलर खत्री कैदी–बन्दीलाई सहयोग गर्ने भएकाले प्रभुका अनुयायीलाई जेलभित्र प्रवेश गर्न दिइएको बताउँछन्। ‘अहिले भने कारागार व्यवस्थापन विभागको निर्देशनमा हामीले प्रवेश दिएका छैनौं’, जेलर खत्रीले भने, ‘एक महिनाअघिसम्म प्रत्येक आइतबार आएर जेलभित्रै प्रार्थना गर्थे।’ उनले कैदी–बन्दीका लागि सहयोगसहित आउने भएकाले कारागारभित्र सहज प्रवेश दिइएको स्वीकारे। कारागारभित्र चर्चले स्थापना गरेको पुस्तकालय छ। अधिकांश पुस्तक क्रिस्चियन धर्मसँग सम्बन्धित छन्।

प्रभुका अनुयायीहरुले कारागारभित्र मात्रै होइन्, उनीहरुका परिवार र बालबालिकालाई पनि प्रभावित पारेका छन्। परिवारलाई खाद्यान्न सहयोग र बालबालिकालाई शिक्षाका नाममा अनुयायी बनाउने काम भइरहेको छ। पाष्टर पुलामीका अनुसार हाल कैदी–बन्दीका ३८ जना बालबालिकालाई छात्रवृत्तिमा पढाउने गरिएको छ। कतिपय कैदी–बन्दीका बालबालिकालाई काठमाडौं, पोखरालगायतका बालगृहमा राखिएको छ।

प्रकाशित: २५ वैशाख २०७५ १५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App