७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बंगलादेशी प्राध्यापककाे हत्याका संलग्न दुईलाई मृत्युदण्ड

ढाका – दुई वर्षअघि हत्या गरिएका एक विश्वविद्यालयका प्राध्यापकको हत्यामा संलग्न रहेको प्रमाणित भएपछि बंगलादेशको एउटा अदालतले मंगलबार दुई लडाकुलाई मृत्युदण्ड तोकेको छ भने अन्य तीनलाई आजीवन जेल सजाय तोकेको सरकारी वकिलले बताएका छन्।

उत्तरपश्चिम राजसाही विश्वविद्यालयका ५८ वर्षीय अंग्रेजी विषयका प्राध्यापक रेजाउल करिम सिद्दिकीको हतियार प्रहार गरि सन् २०१६ को अप्रिल महिनामा हत्या गरिएको थियो । आतंकवादी समूह इस्लामिक स्टेटले प्राध्यापक सिद्दिकीलाई अनिश्वरवादीको आरोप लगाउँदै हत्याको जिम्मेवारी लिएको थियो ।

हत्या अभियोगमा भरिभराउ रहेको बंगलादेशको ट्रायल कोर्टले अन्य तीनजनालाई आजीवन कारावासको सजाय तोकेको सरकारी वकिल इन्ताजुल हकले सञ्चारकर्मीलाई दिएको अभिव्यक्ति उद्धृत गर्दै रोयटर्सले जनाएको छ । दोषी ठहर भएका पाँचमध्येका एक सारिफुल इस्लाम हत्या गरिएका प्राध्यापक सिद्दिकीकै विद्यार्थी भएको र उनी नै हत्याको प्रमुख योजनाकार रहेको बताइएको छ । दोषी ठहर भएका इस्लामलाई पनि अदालतले मृत्युदण्ड तोकेको रोयटर्सले उल्लेख गरेको छ । प्राध्यापक हत्याको मुद्दामा प्रहरीले गत नोभेम्बरमा बंगलादेशकै लडाकु समूह जम्मात–उल–मुजाहिद्दिनका आठ जनाविरुद्ध अभियोग दर्ता गरेको थियो । प्रहरीका अनुसार दोषी अन्य तीनजनाको भने प्रहरीसँगको दोहोरो झडपमा यसअघि नै मृत्यु भइसकेको छ।

सन् २०१६ को जुलाई महिनामा राजधानी ढाकास्थित कूटनीतिक निवासमा भएको प्रमुख आक्रमणमा पनि आतंकवादी समूह इस्लामिक स्टेटसँग आफ्नो गठबन्धन रहेको बताउने सोही मुजाहिद्दिन समूहकै संलग्नता रहेको अनुसन्धानकर्ताहरुले आशंका गर्दै आइरहेका छन् । उक्त आक्रमणमा बन्दुकधारीले एउटा रेस्टुरेन्टमाथि बम आक्रमण गर्दा कम्तीमा २२ जनाको मृत्यु भएको थियो । उक्त घटनामा मारिनेमा अधिकांश विदेशी नागरिक रहेका थिए । करिब एक करोड ६० लाख जनता रहेको मुसलमान बाहुल्यता रहेको बंगलादेशमा पछिल्ला वर्षहरुमा उदारवादी, विदेशी र धार्मिक अल्पसंख्यकमाथिको सांघातिक आक्रमणमा तीव्र गतिमा वृद्धि भइरहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

पछिल्ला केही वर्षभित्र बंगलादेशमा रहेका धार्मिक अल्पसंख्यकका सदस्य र उदारवादीलाई लक्षित गर्दै आतंकवादी समूह इस्लामिक स्टेट र अल कायदाले शृंखलाबद्ध आक्रमण जारी राखेका छन् । बंगलादेशी अधिकारीहरुले भने देशमा ती समूहहरुको उपस्थितिलाई लगातार अस्वीकार गर्दै आइरहेको छ।

उनीहरुले देशमा भइरहेका आतंकवादी गतिविधि घरेलु लडाकुका कारण भइरहेको समेत बताउँदै आएका छन् । सरकारी अधिकारीहरुले यस्तो दाबी गरे पनि बंगलादेशी सुरक्षा विज्ञहरुले भने रेस्टुरेन्टमा भएको सुविधासम्पन्न तथा त्यत्रो परिणामको आक्रमण ठूलो सञ्जालले मात्रै सम्भव हुने बताउँदै आएका छन्।

प्रकाशित: २६ वैशाख २०७५ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App