८ वैशाख २०८१ शनिबार
समाज

मन्त्रिपरिषद्को निर्णयविपरीत हेलिकोप्टर किन्दै सेना

काठमाडौं – आफैले आह्वान गरेको बोलपत्र र निर्धारण गरेको ‘स्पेसिफिकेसन’ भन्दा बाहिर गई खरिद हेलिकोप्टरको ‘प्रि–डेलिभर इन्सपेक्सन’का लागि सेनाको एक टोली जेठ पहिलो साता पेरिस जान लागेको छ।

फ्रान्समा बनेको इक्वेटर हेलिकोप्टरको ‘प्रि–डेलिभर इन्सपेक्सन’ का लागि पाइलट र इन्जिनियरसहितको टोली जेठ १ गते पेरिस जान लागेको सैनिक स्रोतले जानकारी दिएको छ। ‘हेलिकोप्टर भित्र्याउनु पहिले प्रि–डेलिभर इन्सपेक्सनका लागि सैन्य टोली पेरिस जान लागोके हो’, सैन्य स्रोतले भन्यो।

नेपालबाट गएको प्राविधिकसहितको टोलीले जाँच गरेर सहमति जनाएपछि उक्त हेलिकोप्टर ल्याइने सेनाले जनाएको छ। नेपाली सेनाले २५ लाख ६८ हजार तीन सय ७६ युरोमा उक्त हेलिकोप्टर खरिद गर्ने निर्णय गरेको हो।

सेनाले विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि लाइट हेलिकोप्टर खरिद गर्न बोलपत्र माग गरेको थियो। ३१ लख ९० हजार आठ सय ७२ युरो लागत अनुमान स्वीकृत गरी सेनाले बोलपत्र माग गर्दा फ्रान्स र अमेरिकाको हेलिकोप्टर निर्माता कम्पनिले बोलपत्र पेस गरेका थिए। तीमध्ये फ्रान्सको कम्पनीका तर्फबाट सिंगापुरस्थित एक एजेन्टले कम अर्थात् २५ लाख ६७ हजार तीन सय ७६ युरो कबोल गरेपछि सेनाले सोही कम्पनीको बोलपत्र स्वीकृत गरेको हो।

२०७३ असार १६ मा बसेको मन्त्रिपरिषद् बैठकले सेनालाई एउटा मध्यम र दुईवटा लाइट हेलिकोप्टर खरिद गर्न स्वीकृति दिएको थियो। त्यसमध्ये दुईवटा लाइट हेलिकोप्टर खरिद गर्नेगरी बोलपत्र आह्वान गरे पनि सेनाले एउटामात्र इक्वेटर हेलिकोप्टर खरिद गर्ने निर्णय गरेको हो। दुईवटा हेलिकोप्टर खरिद गर्ने बोलपत्र माग गरी खरिद प्रक्रियामा गइसकेको अवस्थामा सेनाले पर्याप्त कारण नदिई एउटामात्र खरिद गर्ने निर्णय गरेको थियो।

सेनाले अर्को हेलिकोप्टर खरिदका लागि अमेरिकाको वेल हेलिकोप्टर कम्पनीसँग सम्झौता गरिसकेको छ। वेल कम्पनीले सेनालाई हेलिकोप्टर बिक्रीका लागि आर्थिक प्रस्ताव पेस गरेपछि उक्त कम्पनीसँग ३८ लाख खमेरिकी डलरमा हेलिकप्टर खरिद गर्ने सम्झौता सेनाले गरिसकेको छ।

मन्त्रिपरिषद्बाट समेत भएको निर्णयविपरीत सेनाले फरक ‘स्पेसिफिकेसन’को हेलिकोप्टर खरिद प्रकरणसम्बन्धी यस विषयमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा समेत प्रश्नचिह्न उठाइएको छ। महालेखाले सेनाका निर्णय मनासिब नभएको जनाएको छ।

सेनाले भने खरिद गर्न लागेका दुवै हेलिकोप्टरका आ–आफ्नै विशेषता भएको र दुवै हेलिकोप्टरलाई फरकफरक परिवेशमा प्रयोग गर्न सकिने जनाएको छ। सेनाले फ्रान्स तथा अमेरिकी कम्पनीबाट खरिद गर्न लागेको इक्वेटर तथा वेल हेलिकोप्टरमा यात्रु बोक्ने तथा उच्च भूभागसम्म जानसक्ने आआफ्नै विशेष भएकाले फरकफरक हेलिकप्टर खरिद गर्ने निर्णय गरेको दाबी गरेको छ। ‘फरक स्पेसिफिकेसनका हेलिकोप्टर खरिद गर्नुका पछाडि कुनै स्वार्थ छैन बरु फरकफरक विशेषता भएका हेलिकोप्टर ल्याउँदा त्यसबाट दिन सकिने सेवामा विविधता हुन्छ,’ सैनिक प्रवक्ता गोकुल भण्डारीले भने।

प्रकाशित: २६ वैशाख २०७५ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App