coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

दुईमुखे चरोको आवरणमा कांग्रेस

तेह्रौँ महाधिवेशन सम्पन्न भएको करिव दुई वर्षपछि नेपाली कांग्रेसको केन्द्रीय समितिमा पदाधिकारी मनोनयन गरिएको छ। यो मनोनयनलाई लिएर आमनागरिकमा कुनै चासो वा चिन्ता नभए पनि कांग्रेसभित्र भने एउटा ससानो कम्पन पैदा हुनपुगेको छ। विस्तारै कांग्रेसबाट मानिसको ध्यान हट्न लागेको हुनाले पनि त्यति चासो र चिन्ता नदेखिएको हुनसक्छ । अहिले कांग्रेसका नेता र कांग्रेसले लिने निर्णय कसैको पनि प्रभावकारी बजार देखिँदैन। विचारको बजार तताउन कहिलेकाहीँ प्रदीप गिरीका लेख र गगन थापाका विचार केही चाखिला लाग्छन्। सकारात्मक निर्णय, सक्रिय कुनै काम देखिएमा बजारमा कांग्रेसको पसलको पृथक स्थान हुने हो। तर यातायात सिन्डिकेटका विषयमा होस् कि संसदीय नियमावलीमा अपराधवृत्तिको आरोपीका विषयमा लिइएको अडान कांग्रेसका लागि हानिकारक भएका छन् र यस्ता नकारात्मक विषयले कांग्रेसको प्रचार बजार धानिरहेको महसुस हुन्छ।

यदाकदा पार्टीभित्रबाट आउने बेतुके भाषण अथवा वर्तमान नेतृत्वविरुद्ध प्रयुक्त अपशब्दले समेत कांग्रेसका केही नेताको पसल चलेको देखिन्छ। विपक्षी दललाई कमजोर सिद्ध गराउँदै पार्टीको संगठन सवल गर्नुको बदला आफ्नै पार्टी नेतृत्वलाई कमजोर बनाउने रणनीतिमा कांग्रेसजन लागेकाले अझै केही दिन प्रचार बजारमा कांग्रेसहरूको पसल चली नै रहने विश्वास गर्न सकिन्छ। तर कांग्रेसलाई कसरी सवल तुल्याउने, विचारधाराको संघर्षमा कांग्रेसलाई कसरी सक्रिय तुल्याउने, संगठनलाई अनुशासित गराउँदै तल्लो निकायसम्म कुनरूपमा व्यवस्थित गर्ने र पृथक चिराहरूको समायोजन कसरी गर्ने भन्ने चिन्तन कहीँ कतै भेटिँदैन। मनोगत विश्लेषण र आत्मकेन्द्रित मूल्यांकनको बाढी÷पहिरो आजको कांग्रेसको नियति भएको छ। ठोस, वस्तुगत तर्क कतै देखिँदैन।

यातायात सिन्डिकेटका विषयमा होस् कि संसदीय नियमावलीमा अपराधवृत्तिको आरोपीका विषयमा लिइएको अडान कांग्रेसका लागि हानिकारक भएका छन्।

एकताका माओवादी सशस्त्र हिंसाविरुद्ध नारायणकाजीहरू भण्डाफोर अभियान सञ्चालन गर्ने भन्थे, मोहनविक्रम सिंहहरू संसदीय व्यवस्थाको भण्डाफोर गर्न निर्वाचनमा भाग लिएको कुरा गर्थे। तर यी दुवैखाले भण्डाफोर अभियानको खास अर्थवत्ता रहेन। यसअघि जनपक्षीय उम्मेदवार उठाएर निर्दलीय पञ्चायतलाई मान्यता दिँदासमेत वामपन्थीहरूले पञ्चायतको भण्डाफोर गर्ने विचार अस्त्र प्रयोग गरेका थिए । अहिले नेपाली कांग्रेसका एकथरी नेतातिनै विगतका केही नमुना भण्डाफोरशैलीमा आफ्नै पार्टीको भण्डाफोर अभियानमा जुटेका छन् । नेपाली कांग्रेसका अनेक नेताले माथिदेखि गाउँसम्म पुगेर भण्डाफोर गर्ने भनी दिएका सार्वजनिक भाषण र सामाजिक सञ्जालमा गरेका टिप्पणी हेर्दा नेपाली कांग्रेस एकताको होइन, कुनै पनि हालतमा विभाजनको बाटोमा हिँड्न लागेको संकेत मिल्न लागेको छ ।माथिदेखि तलसम्म चिरा पार्दै पार्टीलाई सवल गराउने सपना वितरण गर्नु आफैँमा आत्मघाती खेल हो भन्ने कुरामा कांग्रेसजन सचेत देखिँदैनन्।

आजको नेपाली कांग्रेस हेर्दा सानैमा हामीले पढेको एउटा दुईमुखे चराको कथा सम्झना भइरहेको छ। कथाअनुसार एउटा जंगलमा दुई मुख भएको तर एउटै शरीर भएको चरा थियो । चराको एउटा मुख बाठो, छरितो र छिटो थियो । उसले तुरुन्त साना कीरा फटेंग्रा टिप्थ्यो र मुखमा हाल्थ्यो । उसको प्रयासले चरो बाँचिरहेको थियो । यस मुखले देखाइरहेको सक्रियताको रिस गरिरहेको अर्को मुखलाई खपिसक्नु भएन। उसको मनमा प्रश्न उठ्यो– सधैँ आफूमात्रै चारा टिप्ने त्यस विरोधी चुच्चोलाई कसरी तह लाउने ? उसले धेरै विकल्प सोच्यो र अन्तिममा निर्णय लियो–मैले विष खाएंँ भने त्यो मरिहाल्छ, अनि म एक्लै हुन्छु र एक्लै आहारा टिप्दै अघाउजी खान पाउनेछु। अर्को चुच्चोको जीवन अवसान गर्ने निर्णयका साथ त्यस इष्र्यालु चुच्चोले एकदिन विष खोजेर खायो । परिणाम भनिरहनु पर्दैन । चरा नै म-यो। कांग्रेसभित्रको आजको स्थिति त्यही दुई टाउके चराको जस्तो हुन पुगेको छ।

नेपाली कांग्रेसका अनेक नेताले माथिदेखि गाउँसम्म पुगेर भण्डाफोर गर्ने भनी दिएका सार्वजनिक भाषण र सामाजिक सञ्जालमा गरेका टिप्पणी हेर्दा नेपाली कांग्रेस एकताको होइन, कुनै पनि हालतमा विभाजनको बाटोमा हिँड्न लागेको संकेत मिल्न लागेको छ।

केन्द्रदेखि गाउँसम्म विवादलाई लिएर जाने, सभापतिका निर्णयहरूलाई भण्डाफोर गर्ने, सभापतिलाई कमजोर पार्ने भन्ने जस्ता तर्कहरू त्यही विष पिउने इष्र्यालु चुच्चोको निर्णय समान हुन्। अनेक राष्ट्रिय मुद्दा छन् तिनलाई लिएर पार्टी सुदृढ बनाउने सोचभन्दा पनि आफ्नै पार्टीलाई कमजोर पार्ने रणनीति हुनु दुर्भाग्यपूर्ण देखिन्छ ।महाधिवेशनमा प्रतिस्पर्धा भएपछि जय÷पराजय हुनु अन्यथा होइन। लोकतान्त्रिक विधिअनुसार निर्वाचनभयो वा भएन भन्नेमात्र सैद्धान्तिक प्रश्न हुनसक्छ। लोकतान्त्रिक प्रक्रियाअन्तर्गत निर्वाचन गरी महाधिवेशनले केही अवधिका लागि निर्णय गरेपछि त्यस निर्णयलाई स्वीकार गर्ने, आफ्ना सैद्धान्तिक विषयहरूलाई प्रक्रियासंगत उठाउने र मनोगत संकीर्णताबाट माथि उठेर बृहत्तर हित र लक्ष्य निर्धारण गर्न सक्ने नेताले नै भविष्य हाँंक्न सक्छ । समयको चाप अनुभव गर्नसक्छ ।जसले समयको चाप बुझ्न सक्दैन, त्यसले कहिल्यै पनि नेतृत्व लिन सक्देैन।

पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारी चयन नगरेपछि त्यसै समयमा अब कुनै पनि हालतमा पदाधिकारी चयन गर्न पाइने छैन भन्ने हिम्मत कसैसँग भएन। विभागहरू गठन हुनसक्दैन भनी कसैले आवाज उठाएको थाहा भएन। यस विपरित निर्वाचनमा पराजय भोग्नेहरूलाई वरिष्ठदेखि केन्द्रीय समितिमा मनोनयन गर्दा अवैधानिक भएको कसैलाई लागेन। निर्वाचनमा हारेपछि आफू कुनै पनि सर्तमा केन्द्रीय समितिमा नजाने अडान कसैले राखेको सुनिएको थिएन। कतै सभापति निर्वाचित देउवाले आफूलाई केन्द्रीय समितिमा नराख्ने हो कि वा पाखा लगाउने र भूमिकाबिहीन होइनेहो कि? भन्ने चिन्ताले अनेक पराजितहरूको ओठ÷मुख सुकेको धेरैलाई थाहा छ । केन्द्रीय समितिमा पर्नासाथ कांग्रेसभित्र एकताको सन्देश जानेछ भन्ने नाउँमा त्यहाँबसेर निरन्तर पार्टीलाई चिरा पार्ने खेल हुनुलाई अवैधानिक मानिएन । पराजित भएर पनि मनोनीत हुँदा नैतिकताको प्रश्न त्यसबेला उठेन।

तर अहिले संघीय संसद्को निर्वाचनमा जनताको केही मतको अन्तरमा पराजय भोगेका नेताहरू नै पदाधिकारीमा मनोनयन भए भनी व्यापक हल्ला चलिरहेको छ। पार्टीभित्रकोकेही अपवादलाई छाडेर गत वर्ष सम्पन्न संसदीय निर्वाचनमा नेपाली कांग्रेसका धेरै नेता पराजित भए । केन्द्रीय समितिका नेतामध्ये थोरैले आफ्नो इज्जत जोगाउन सकेका थिए। संघीय निर्वाचनमा पराजित भएका कुनै पनि केन्द्रीय सदस्यले आफ्नो पराजयको जिम्मेवारी अनुभव गर्दै नैतिकताका आधारमा पदबाट राजीनामा दिन चाहेको सुनिएन । आफ्नो पराजयको भारी अरु कसैको टाउकोमा बिसाएर आफू क्रान्तिकारी हुने दौडमा लागेको सबैले सुनिरहेका छन्। यो दौड कांग्रेसभित्र पन्पिँदै गएको स्खलनको संकेतबाहेक केही पनि होइन । कांग्रेसप्रति सहानुभूति राख्नेहरू, नेपालमा बलियो लोकतन्त्रको मियो यथावत् रहोस् भनी मान्यता राख्नेहरू र लोकतन्त्रलाई सुरक्षित राख्न नेपाली कांग्रेसको भूमिका निरन्तर रहनुपर्छ भनी सदा चिन्तित हुनेहरूमा कांग्रेसभित्र पन्पिदै गएको स्खलनका धाराहरूले निरास तुल्याएको छ।

देउवाले तीनजनालाई पदाधिकारीमा मनोनयन गरेका छन्। देउवाको एकल निर्णय नभएर निर्वाचित केन्द्रीय समितिको बहुमतको निर्णयबाट ती पदाधिकारी चयन भएका छन् । तीनमध्ये एक पदाधिकारीमा भिन्न धारको दाबी रहेको चर्चा थियो । तुष्टीकरणकै लागि कम्तीमा पनि सहमहामन्त्री पदमा भिन्न धारको नियुक्ति हुनुपर्ने मान्यता गलत थिएन । तर एउटा कुनै पदाधिकारीमा भिन्न धारको नियुक्तिबाट कांग्रेसभित्र विस्तारित असहमतिको धार मेट्ने थियो त ?यदि धारमेट्न सघाउ पु-याउँथ्यो भन्ने हो भने देउवासंँग निर्वाचनमा पराजित रामचन्द्र पौडेलको वरिष्ठ स्थानमा भएको मनोनयन वा महाधिवेशनमा यो वा त्यो रूपमा पराजित  कृष्ण सिटौला, अर्जुननरसिंह केसी वा गगन थापाहरूको मनोनयनले किन चिरा मेट्न सकेको छैन ? र, झन् चिरा बढाउने काम गरिरहेको छ? प्रश्न उठिरहेको छ।

अहिले पदाधिकारीमा नियुक्त तीनजनामध्ये विमलेन्द्र निधी र पूर्णबहादुर खड्का जनताका माझमा निरन्तर रहेका नेता हुन्। प्रकाशशरण महत भने कांग्रेसभित्रको राजनीतिबाट मात्र स्थापित भएका हुन्। विमलेन्द्रको उपसभापतिमा मनोनयनले तराईमधेसको राजनीतिलाई नेपाली कांग्रेसले दिएको महत्व प्रमाणित गरेको छ । यद्यपि निधी तराई मधेसको मात्र होइन, नेपालको प्रजातान्त्रिक आन्दोलनको हिस्सा भइसकेका छन्। उनका पिताजी महेन्द्रनारायण निधीको योगदानका भरमा मात्र उनको उपस्थिति भएको होइन। नेपाली कांग्रेसका तीन क्लस्टरमध्ये बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधीका उत्तराधिकारी अहिले राजनीतिमा छन् । यीमध्ये विमलेन्द्र र प्रकाशमान सिंहको विशिष्ट योगदान छ।

निधीको उपसभापति मनोनयनले विस्तारो नेपाली कांग्रेसको नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनलागेको र श्रेणी निर्माणको संकेत गरेको छ। तर निधीका लागि उपसभापति पद जति सम्मानजनक छ त्योभन्दा बढी चुनौतीपूर्ण छ। उनले असन्तुष्टहरूलाई संयोजन गर्ने, पार्टीका चिरा मेट्नेर आफूलाई सम्पूर्ण नेपाली कांग्रेसको सिद्ध गर्ने सामथ्र्य देखाउन सक्नुपर्छ । विगतमा मन्त्री भएका समयमा पार्टीकै कतिपय साथीहरूका अनेक गुनासा थिए । तिनलाई अनुभूत गर्दै राष्ट्रिय नेताको छवि बनाउने चुनौती निधीमा थपिएको छ। लथालिंग देखिएको पार्टीको आन्तरिक व्यवस्थापनलाई नयाँ रूप दिने दायित्व महामन्त्री पूर्णबहादुरमा आएको छ। उनले जिम्मेवारी राम्ररी निर्वाह गर्न सकेमा कांग्रेसभित्रका अनेक समस्या समाधान हुनसक्छ। कांग्रेसलाई दुईमुखे चरोको जस्तो नियति नबनाउने हो भने आफैँ यदुवंशी कलहबाट मुक्त हुने प्रयास गर्दै राष्ट्रिय राजनीतिको मूल मियो बन्ने प्रयास गर्नु बुद्धिमानी हुनेछ।

प्रकाशित: २६ वैशाख २०७५ ०५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App