coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘दुई वर्षपछि सुरुङ्गमार्गबाट हेटौंडा-काठमाडौं यात्रा’

मकवानपुर– प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई वर्षपछि हेटौंडा–काठमाडौं सडक खण्डमा सुरुमार्ग निर्माण गरिने बताएका छन्। प्रदेश राजधानी हेटौंडामा बुधबार आयोजित नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश कार्यसमितिको सपथ ग्रहण, प्रमाणपत्र वितरण तथा बधाई ज्ञापन कार्यक्रममा उनले सुरुङ्ग मार्ग बन्नेमा ढुक्क हुन आग्रह गरे।

यसअघि नेपाल पूर्वाधार विकास कम्पनीले जनता र स्थानीय निकायसँग शेयर बापत रकम उठाएपनि सुरुङ्ग मार्ग नबनाएपछि प्रदेश सरकारले महत्व दिएको हो। ‘हेटौंडा–कुलेखानी–काठमाण्डौं सडक अन्तर्गत भिमफेदी–कुलेखानी सुरुङमार्गलाई प्रदेशको गौरवको योजनामा राखेका छौं,’ उनले भने ‘मेरो सबैभन्दा नगरि नहुने कामभित्र पथ्र्यो, त्यो काम यो कार्यकालमा पूर्ण हुन्छ, २ बर्षपछि हामी सुरुमार्ग भित्रबाट काठमाडौं जान्छौं।’

यातायात व्यावसायीको सिन्डीकेट अन्त्य गर्न पत्रकार र मिडियाले खेलेको भुमिकाको तारिफ गर्दै उनले नमुना प्रदेश बनाउने लक्ष्य राखिएपनि पुरानो कार्यशैली, सोचले नमुना बनाउन नसकिने बताए। प्रदेशलाई भष्ट्राचारमुक्त बनाउन सरकारले पहिलो प्राथमिकतामा राखेको खुलासा गर्दै उनले सबको साथ सहयोग अत्यावश्यक रहेको तर्क गरे। २०७५ साललाई प्रदेश सरकारले औद्योगिक वर्ष घोषणा गर्न तयारी अन्तिम चरणमा पुगेको बताउँदै उनले औद्योगिक वर्षभित्र दर्ता भएका उद्योगहरुलाई दर्ता छुट दिने बताए।

नयाँ पुस्ता र अनलाइन पत्रकारिताको बाढी आएपनि पत्रकार र पत्रकारिताको विश्वनीयता घट्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले पत्रकारिताको शाख जोगाउँदै सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय बनाउन पत्रकार र मिडिया नै जिम्मेवार हुनुपर्ने बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलगायतले पत्रकार महासंघ ३ नम्बर प्रदेशका लागि भवन उपलब्ध गराउने बताउँदै परिवर्तित समयमा पत्रकारको जिम्मेवारी बढेको बताए।

पत्रकार महासंघका महासचिव रमेश विष्टले स्थानीय र प्रदेश सरकार प्रेस स्वतन्त्रता, पत्रकारको बृद्धी विकासमा जिम्मेवार हुनुपर्नेमा जोड दिए।

पत्रकार महासंघ प्रदेश ३ कार्यसमितिले सपथ लिए

नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश कार्यसमितिले पद तथा गोपनियताको सपथ लिएका छन्। सपथ ग्रहण, प्रमाणपत्र वितरण तथा बधाई ज्ञापन कार्यक्रममा पत्रकार महासंघका महासचिव रमेश विष्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

वैशाख २२ गते भएको निर्वाचनबाट नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको अध्यक्षमा प्रताप विष्ट निर्वाचित भएका थिए। त्यसअघि नै महासंघको ३ नम्बर प्रदेश समितिको उपाध्यक्षमा काभ्रेका यदु गौतम, मकवानपुरकी नानीमैया कार्की ‘सम्झना’ र महासचिवमा मकवानपुरका कृष्ण सारु मगर निर्विरोध निर्वाचित भएका थिए। साथै सचिवमा सिन्धुलीका राजन गाउँले  र काभ्रेका सुरेशप्रसाद हुमागाई, कोषाध्यक्षमा धादिङका सिताराम अधिकारीलगायत १४ जना सदस्य निर्विरोध निर्वाचित भएका थिए।

आगामी बैठक काभ्रेमा बसेर कार्ययोजना बनाउने

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ समितिको बुधबारै बसेको पहिलो बैठकले निर्वाचन गराउन सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गरेको छ। प्रदेश महासंघका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा बसेको बैठकले एक महिनाभित्र आगामी बैठक काभ्रेमा गर्ने निर्णय गरेको छ। बैठकले प्रदेशको कार्ययोजना बनाएर अघि बढ्ने अध्यक्ष विष्टले बताए। बैठकमा महासंघका केन्द्रीय महासचिव रमेश विष्टले प्रदेश महासंघलाई विधानले अधिकार सम्पन्न बनाएको बताउँदै श्रमजिवी पत्रकारको पक्षमा दृढताका साथ अघि बढ्न आग्रह गरे।

बैठकले नेपाल पत्रकार महासंघ, केन्द्रीय निर्वाचन समिति, नेपाल पत्रकार महासंघ मकवानपुरसहित १० जिल्ला समिति र निर्वाचन समितिहरु, सहयोगी तथा सम्पूर्ण मतदाताहरुमा आभारसहित धन्यवाद ज्ञापन गरेको हो।

प्रकाशित: २६ वैशाख २०७५ १४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App