४ वैशाख २०८१ मंगलबार
समाज

शताब्दी ‘तन्नेरी’

काठमाडौं- तिथि (वैशाख नवमी) अनुसार बुधबार उनी ९८ वर्ष पूरा भई ९९ सय वर्षमा लागेका छन् । हिँडाइ र कुरा गर्दाको हाउभाउ हेर्दा उनी शताब्दी संघारमा छन् जस्तो लाग्दैन । उनको बोलीमा पनि तन्नेरीको जस्तै ओज छ। उनीसँग भलाकुसारी गर्दा वृद्धपनको आभासै हुँदैन । सार्वजनिक कार्यक्रममा पनि उनी ठमठमी हिँडेरै पुग्छन् । उनी हुन्– शताब्दी तथा वाङ्मय पुरुष सत्यमोहन जोशी।

उमेरमा शताब्दीछेउ पुगे पनि उनको उत्साह तन्नेरी छ । ठमठमी हिँड्नेमात्रै होइन कार्यक्रममा पुगेर पनि उनले जोशिलो मन्तव्य दिन्छन् । आफ्ना कुरा खुलस्त राख्छन् । दशकौं पुराना संस्कृति र कलाबारे नयाँ पुस्तालाई जानकारी गराउँछन् । बुधबार ९९ औं वर्ष प्रवेश कार्यक्रम मनाउने क्रममा उनमा जोश र उमंग तन्नेरी अवस्थाको जस्तै देखियो । परिवार र आफन्तसँग खुसी साट्दै जोशीले भने, ‘मलाई त भगवानले अदृश्य बरदान दिएका छन्, मैले अझै बाचेर धेरंै काम गर्नुछ ।’ उनले बुढ्यौलीले अनुहार चाउरिए पनि शरीरभित्रको शक्ति र आँटले साथ दिइरहेको सुनाए । ‘मलाई वरपर हिँड्डुल गर्न कुनै असहज महसुस भएको छैन, अहिले त नगरपालिकाले सवारी सुविधा पनि दिएको छ’, जोशीले भने,

‘जे गरिन्छ बाँचुन्जेल गर्ने त हो, मरेसी त्यै माटोमा मिल्ने हो ।’उनको जन्म १९७७ वैशाख ३० गते पाटनमा भएको हो । तिथिअनुसार उनले बुधबार जन्मदिन मनाए । खास जन्मदिन भने उनले ३० गते मनाउने भएका छन् । जोशीले ९८ पार गरेर ९९ वर्षमा पाइला टेके पनि आफ्ना धेरै संकल्प पूरा गर्न बाँकी रहेको सुनाए । ‘मठ मन्दिर संरक्षण र भजनकीर्तन गर्ने धोको छ,’ उनले भने, ‘हाम्रा धेरै कला र संस्कृतिलाई नयाँ पुस्तामाझ चिनाउन बाँकी छ । संस्कृति र पर्वहरूको जर्गेना पनि गर्नुछ ।’

सिर्जना र शक्तिले साथ दिइरहेकोमा उनी आफूलाई भाग्यमानी महसुस गर्छन् । संस्कृति संरक्षण र खोजी तथा समाजलाई बदल्ने प्रयासमा तल्लीन उनी आफूले गरेका काम समाजकै लागि भएको सुनाउँछन् । नागरिकसँँँँँँग बुधबार भलाकुसारीका क्रममा ठट्यौंली पारामा उनले भने, ‘मृत्युको क्युमा बसेको छु, मभन्दा अघि धेरै मानिस लाममा छन्, त्यसैले मेरो पालो अझै आएको छैन।’

उनी आफूलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने कुरामा निकै सजग छन् । पारिवारिक वातावरण र शारिरीक व्यायामका कारण उनले उमेर भए पनि बुढ्यौलीको अनुभूति गरेका छैनन् । बेलुकी सुत्ने बेलामा उनी दिनहुँँएक पेक ऐला (घरमा बनाएका रक्सी) सेवन गर्छन् । ऐला पिउन बिर्सिएर सुतेको दिन टाउको दुख्ने उनी सुनाउँछन् ।

‘मलाई धेरैले तपार्इं के खाएर यति फुर्तिलो हुनुहुन्छ भनेर सोध्छन्,’ उनले सुनाए, ‘तपाईंहरु दाल, भात, तरकारी, दूध खानुहुन्छ, मैले एक पेक लाउँछु, त्यही फरक छ तपाईंको र मेरो खान्कीमा भन्छु ।’ उनी प्रायः बिहान करिब ७ बजेतिर ब्युँझिन्छन् । ओछ्यानमै चिन्तन गर्छन्, संस्कृतका किताब पढ्छन्, दैनिकी कल्पना गर्छन् । उनी खानेकुरा समयमै खान्छन् । जस्तोसुकै काम छुटाएर भए पनि उनी खाना खाने समय तलमाथि पार्दैनन्।

प्रकाशित: २७ वैशाख २०७५ ००:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App