coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

अमूर्त र अरुपणका अभिन्यता


काठमाडौं – गेहेन्द्रमान अमात्य ८२ वर्षका भए । अमात्य आर्ट ग्यालरी चलाउँछन् । अनि अझैपनि चित्र कोर्न तल्लिन भेटिन्छन्।

पाँच छ वर्ष उमेरदेखि चित्र बनाउन थालेका उनले नेपालमा आधुनिक कलाको विकासमा इटा थप्दै गए । २०६९ सालमा सो वापत नेपालको पहिलो आधुनिक कलाकार भनेर राष्ट्रपतिबाट पुरस्कृत पनि भए । आधुनिक धारबाट अमूर्त कलामा फड्को मारेका उनी सुरुवाती चरणमा हिंसाले भरिएका चित्र बनाउँथे।

सानो छँदा एकपटक चाँगुनारायणको छिन्नमस्थामा जाँदा ज्यापु समाजको  गुठी पूजामा चारखुट्टा बाँधेर घाँटी डोरीले तन्काएर राँगा काटेको देखे । मनभरी त्यही दृष्य संगालेका उनले कागजमा त्यही चित्र बनाए ।२००९ सालमा भारतमा बालकला प्रतियोगिता भएको थियो उनले सम्झे चित्र दिल्ली पठाउँदा पहिलो पुरस्कार नै पायो । त्यसपछि उनको चित्रमा हत्या हिंसाले बढी नै पाउन थाल्यो ।२०१२ सालमा फ्रेन्च कलाकारसँग रोयल होटलमा कला सिकेपछि उनको त्यो धारमा विराम लाग्यो । अमूर्त, अर्धमूर्त, क्युविजम् अर्थात धनवाद र इम्प्रेसिजम् अर्थात प्रभाववाद सिकेपछि उनको रुची अमूर्तकलातिर डोरियो।

उनी अमूर्त चित्र कोर्दा बिम्बको प्रयोग गर्न रुचाउँछन् । ‘बिम्ब नै भएन भने त काली कागजमा जस्तो कोरेपनि भयो नि,’ उनी सुनाउँछन्, ‘तर बिम्ब विश्वमै नभएको आकृतिको हुनुपर्छ ।’उनी पहिले पहिले पूजिने आकारबिही ढुंगाको डल्लो पनि अमूर्त कलाकै प्रतिक भएको मान्छन् ।‘फिगर हुन्छ रंग हुन्छ तर के को फिगर भनेर बताउन गाह्रो हुन्छ,’ उनी प्रष्ट्याउँछन्, ‘कसैले रुख देखे भन्छ कसैले रावण देखे भन्छ ।’ देखिरहेको भोगीरहेको चिजहरु भन्दा फरक अनुभुती देख्नेले गर्नु नै अमूर्त कलाको गुण भएको उनले बताए।

उनका अनुसार नेपालको कला क्षेत्रको तीनयूग चले ।  सन १९०४ भाजुमान चित्रकारले बेलायत गएर सिकेपछि  तैल चित्र नेपाल भित्रियो । उनले नै प्रकाश र छायाँलाई नेपाली चित्रमा उतार्न सघाए ।त्यसपछि चन्द्रमान मास्के र तेजबहादुर चित्रकारले कलकत्तामा नयाँ प्रविधी सिकेर आए । पहिले पोट्रेट बनाउने उनीहर ल्याण्डस्केपमा आफ्ना चाडपर्व र संस्कृति उतार्न थाले ।पछि उनीहरुकै समुहमा कालीदास, जीवरत्न र चन्द्रदास मिलेर जुद्धकला पाठशालामा पढाउन थाले ।२०१२ सालपछि अमात्यको युग आयो । आधुनिक धारसँगै अमूर्त कलाको सुरुवात नेपालमा भयो ।

त्यही बेला २०१६ पछि उर्मिला उपाध्याय गर्गले कलामा नयाँ आयाम थपिन् । अमूर्तकलामा आए । २०१८ मा लैनसिंह वाग्देलले अमूर्त कलाको ठूलै ह्विम ल्याए । पहिले पहिले साहित्यीक पुस्तकको कभर पेजमा ‘अमूर्त चित्र बनाए प्रकाशक र लेखकले फाल्दिन्थे,’  अमात्य कलामा आएको परिवर्तन बताउँछन्, ‘अचेल साहित्यमा किताबमा अमूर्त कलाको राग खोज्छन् ।’ कतिपयले उनको कला पूर्ण अमूर्त नभएको आरोप लगाएपनि उनी अमूर्त कला नै आफ्नो. धार भएको दाबी छाड्दैनन् । उनले  २८ पटक त एकल प्रदर्शनी गरिसकेका छन् । २२५ पटक त सामुहिक कला प्रदर्शनी गरिसकेका छन् । अमेरिका ,युरोप र सार्क क्षेत्रमा समेत कला प्रदर्शनी गरेर ख्याती कमाएका छन् ।

उनले आफ्नै कला क्षेत्रका  उत्तम नेपाली र लक्ष्मण श्रेष्ठसँग काम गरे । हाल उत्तम नेपाली अमेरिकामा छन् । लक्ष्मण श्रेष्ठ भारतमा कलामा सक्रिय छन् ।सत्तरी वर्षे रमेश खनाल कुनैबेला शारिरीक सुगठनका शौखिन थिए ।  पहिला राष्टिय खेलकुद परिषदमा विभागिय प्रमुख भएर ३२ वर्ष सेवा गरेका उनको अर्को शौख चित्र कोर्नु थियो । मिस्टर धरान २०२७ र मिस्टर काठमाडौं २०३१ को उपाधी जितेका खनालले ति विधामा सक्रियता छाडेपनि चित्रको सक्रियता जारी राखे ।स्कुल छँदाको चित्र निखार्न सन १९७३ मा तालिम लिएर पढे।

 हिमाल ,पोट्रेट र ल्याण्डस्केप सिक्दै उनी अमूर्त कलातिर तानिए । तर उनको अमूर्त कला अरुको जस्तो नभइ नेपाली मौलिकपन भएको दाबी गर्छन् । अरुपण अर्थात रुप नभएको कला भनेर आफ्नो छुट्टै धार नै विकास गरेर कला कोर्न थाले । इश्वर बल्लभ, गोविन्द भट्टराई आदिले फरक धार नभए बाँच्न सकिन्न भनेकैले उनले अमूर्तभित्र छिर्नुभन्दा आफ्नै धार विकास गर्नु ठीक ठाने ।‘अमूर्तमा बिम्ब राखिन्छ तर अरुपण बिम्बबिहिन हुन्छ,’ खनाल फरक बताउँछन्, ‘निराकारमा आकार खोज्न प्ररित गर्नु नै अरुपणको विशेषता हो।’

तथापी कलामा हुनुपर्ने प्रकाश संयोजन, रंग संयोजन मोहकता र सुखशान्तिको छनक भने अरुपण कलामा हुनैपर्ने स्विकार गर्छन् । सबैभन्दा ठूलो रंगको खेल अरुपण हुन्छ ।उनले युरोप ,अमेरिका सहित ३२ पटक कला प्रदर्शनी गरिसकेका छन् ।अरुपणकलालाई अभिव्यक्तिको स्वतन्त्रताको प्रतिक भनेर खनाल उल्लेख गर्छन् । ‘लैनसिंह वाङ्देलले समेत मलाई किन अरुपण कलाको सोच नआएको’ भनेर भन्नुभएको छ,’ खनालले स्मरण गर्छन् ,‘यो मेरो आफ्नोशैली हो अमूर्तसँग नजोड्दा हुन्छ ।’ तर अन्य कला समिक्षकहरु भने खनालको चित्र अमूर्त कलाकै पाटो भएको धारणा राख्छन्।

उनले नव अरुपणवादी धारमा नयाँ पुस्तालाई अनुभव बाँडीरहेका छन् । बयालिस वर्षे ताप्लेजुङका नबेन्द्र लिम्बु नयाँ पुस्ताको अमूर्तकलाको प्रतिनिधित्व गर्छन् । सन २००० मा ललितकलाको पढाइसकपछि चित्रकलामा छिरेका उनले सुरुमै आफ्नो धार अमूर्त कलालाई बनाए । भावनाको प्रवलिकरणको हिसाबले पनि अमूत कला सहज लागेको उनी बताउँछन् । कुनैपनि रुपले एउटा भाव जगाउछ तर अमूर्तभावले एकैपटक कयौं भाव जगाउन सक्ने तर्क गर्छन् । ‘मृत्यु संस्कारमै हिन्दुले मरेपछि जलाउँछ क्रिस्टियनले गाड्छ,’ उनले प्रष्ट्याउन खोज्छन्, ‘मैले जीस्वन धुवाँ भनिरहँदा क्रिष्टियनले माटो भन्न सक्छ, त्यस्तै हो अमूर्तकला ।’ त्यसैले अमूर्तकला महसुसको उत्कर्ष रहेको उनी ठम्याउछन्।

पुरानाको दाँजोमा उनको अमूर्तप्रतिको दृष्टिकोण फरक छ । दर्शकले आफै बुझेस भनेर छाड्दैनन् । निश्चित शिर्षक दिन्छन् अनि त्यसमा दर्शकले कल्पना गर्ने ठाउँ पाउँछन् । ‘रंग त सबैले चलाउँछ तर रंगमात्र होइन आकारमा पनि अमूर्तता हुनैपर्छ,’ उनले थपे।१७ औं सताब्दीमा उदाएको मानिने अमूर्तकलाको सुरुवात जेम्स म्याक निल ह्विस्टलरले गरेको इतिहास छ । रंग सौन्दर्यलाई महत्व दिइएको उनको चित्र नै अमूर्तको इतिहास भएको कतिपय कला समिक्षकले उल्लेख गरेका छन् ।

प्रकाशित: २७ वैशाख २०७५ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App