८ वैशाख २०८१ शनिबार
फोटो फिचर

मोदीको जनकपुर भ्रमणको तयारी पूरा (फोटो फिचर)

जनकपुर– शुक्रबार नेपाल भ्रमण आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश २ को  सरकार र जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो। 

प्रदेश सरकार र उपमहानगरपालिकाले सडक र मञ्च निर्माण, जानकी मन्दिरदेखि बाह्रबिघासम्म रङ्गरोगन, जनकपुरधामको सौन्दर्यकरण र स्वागतद्वार निर्माण कार्य सम्पन्न गरेको छ। 

भारतको पटनाबाट सिधै जनकपुरधाम आउने भारतीय प्रधानमन्त्री मोदीको हेलिकप्टर अवतरणका लागि जनकपुर विमानस्थलमा तीन वटा हेलिप्याडको निर्माण गरिएको छ। भारतीय वायुसेनाका तीन हेलिकप्टरबाट प्रधानमन्त्री मोदी र उनको टोली शुक्रबार बिहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछ। 

जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन।

प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट विद्यापति चोक, विश्वकर्मा चोक, जिरोमाइल चोक र रामानन्द चोक हुँदै जानकी मन्दिर र त्यसपछि बाह्रबिघा रङ्गभूमि मैदानमा हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुने कार्यक्रम मुताबिक ती बाटामा पर्ने सडकलाई कालोपत्र गरिएको छ भने सडकको दुवैतिरका पर्खाललाई केशरिया रङले सिङ्गारिएको छ। 

त्यसैगरी, जानकी मन्दिरदेखि बाह्रबिघासम्मका पर्खालमा रामायणकालीन आख्यानलाई मिथिला कलामार्फत प्रस्तुत गरिएको छ। 

कार्यतालिकाअनुसार भारतीय प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट जानकी मन्दिर आउने र सो मन्दिरमा उनले षोडशोपचार विधिबाट विशेष पूजा अर्चना गर्नेछन्। विशेष पूजाका बेलामा १०१ पण्डितले शंख बजाउने कार्यक्रम रहेको छ। 

जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहने छ। जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा रामायण सर्किटको उद्घाटन तथा हरियो झण्डा देखाएर जनकपुरधाम–अयोध्या बस सेवा आरम्भ गर्नेछन्।

त्यसपछि, प्रधानमन्त्री मोदी प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा बाह्रबिघामा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन्। 

भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणलाई दृष्टिगत गरी प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदाको घोषणा गरेको छ।  

भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणलाई सुरक्षित र व्यवस्थित बनाउन सघन सुरक्षाको व्यवस्था गरिएको सशस्त्र प्रहरी बल रूद्रवाहिनी पथलैयाका बाहिनीपति कवीन्द्रमान श्रेष्ठले बताए। प्रधानमन्त्री मोदीको भ्रमणलाई ध्यानमा राखी पूर्वको सप्तरीदेखि पश्चिममा पर्सा जिल्लासँग जोडिएको नेपाल–भारत सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। रासस

तस्बिर : विजय रार्इ
अन्तिम तस्बिर : अशाेककुमार बस्नेत

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App