८ वैशाख २०८१ शनिबार
राजनीति

सिंहदरबारमा सुर्तीचुरोट निषेध

काठमाडौ – प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सुर्तीजन्य पदार्थ लैजान नपाइने भएको छ। स्वास्थ्य मन्त्रालयको अनुरोधमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालय सिंहदरबारलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन तयार भएका हुन्।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग परामर्श गरेपछि सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थ निषेध गर्न पत्राचार गरिएको स्वकीय सचिव राजेश शर्माले जानकारी दिए। उनका अनुसार मन्त्रालयले दुई दिनअगाडि दुवै निकायलाई पत्राचार गरिसकेको छ।

मन्त्रालयका तर्फबाट शाखा अधिकृत कृष्णप्रसाद शर्मा सुवेदीले हस्ताक्षर गरेको पत्रमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार सिंहदरबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरी बिक्रीवितरण, ओसारपसार र प्रयोग बन्देज नलगाउन र सोको री कार्यान्वयन एवं अनुगमन गर्न अनुरोध गरिएको छ । पत्रमा वैशाख २५ को सचिवस्तरीय निर्णय भएको उल्लेख छ।

मन्त्रालयले कानुनअनुसार स्वास्थ्य मन्त्रालय परिसरभित्र सुर्तीजन्य पदार्थको बिक्रीवितरण, ओसारपसार र प्रयोग बन्देज लगाएको र सो व्यवस्था कार्यान्वयन भएको समेत उल्लेख छ। यसअघि मन्त्री अर्यालले चैत दोस्रो साता मन्त्रालय परिसरमा सुर्तीजन्य पदार्थ बोकेरसमेत प्रवेश गर्न रोक लगाएको थियो । सो निर्णयसँगै मन्त्रालय प्रवेशकर्तालाई जाँच गरेर मात्रै प्रवेश दिइन्छ।

सुर्तीजन्य पदार्थको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०६८ ले सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तीसेवन गर्न नहुने व्यवस्था गरेको छ। ऐनकै दफा ३ ले सार्वजनिक स्थलसमेत तोकेको छ । राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्थालगायत विभिन्न जमघट हुने स्थललाई सार्वजनिक स्थल तोकेको छ।

यसबाहेक ऐनले सुर्तीजन्य पदार्थको खोल एवं -यापर्समा तोकिएको भागमा चेतावनीमूलक सन्देशयुक्त चित्र राख्नुपर्ने व्यवस्था गरेको छ। हाल उत्पादक कम्पनीले ७५ प्रतिशत भागमा यस्तो चित्र राख्दै आएका छन्। यस्तो सन्देश ९० प्रतिशत भागमा राख्नुपर्ने गरी निर्देशिका संशोधन भए पनि लागू भएको छैन। मन्त्रालयले यो निर्णय लागू नगर्ने कम्पनीमाथि कारबाहीसमेत प्रारम्भ गरेको छ। सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न बेग्लै अनुमति लिनुपर्नेसमेत कानुनी व्यवस्था भए पनि लागू हुन सकेको छैन । उद्योग तथा पसलेलाई कस्न तुलनात्मक रुपमा सहज भए पनि सार्वजनिक स्थलमा चुरोट सेवनमा कडाइ गर्न सरकार सफल हुन सकेको छैन।

सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा व्यवस्थापकले तुरुन्त रोक लगाउने व्यवस्था छ। सार्वजनिक स्थलमा सम्बन्धित व्यक्ति वा कर्मचारी भएमा अनुशासनमा नरहेकोसरह मानेर निजको सेवा सर्तसम्बन्धी कानुनबमोजिम सचेत गराउन वा अन्य विभागीय कारबाही गर्न सकिन्छ।

नसर्ने रोगका जोखिम अवस्था (एनसिडी रिक्स फ्याक्टर) सर्वेक्षणअनुसार जनसंख्याको झन्डै ३१ प्रतिशतले चुरोट तथा सुर्ती सेवन गर्छन्।

विश्वमा हुने सुर्तीजन्य पदार्थको ८० प्रतिशत खपत र मृत्यु पनि अल्पविकसित देशहरूमा हुने गरेको छ।

विज्ञहरुका अनुसार धूम्रपानले ब्रेनमा केही सेकेन्डभित्रै र रगतमा केही मिनेटमै असर छोड्ने र दीर्घकालीन रुपमा धूम्रपानको बहुअसर देखिन्छ। पछिल्ला दिनमा मुटु, ब्रेन, फोक्सो र क्यान्सर रोगले प्रकोपको स्वरूप लिँदै जानुमा प्रमुख कारण धूम्रपान भएको चिकित्सकहरु बताउँछन्।

प्रकाशित: २८ वैशाख २०७५ ००:४८ शुक्रबार

सिंहदरबारमा सुर्तीचुरोट निषेध