८ वैशाख २०८१ शनिबार
कला

लूनकरण–गंगादेवी सम्मान

काठमाडौं – संगीत, साहित्य, अनुसन्धान, पत्रकारिता, नृत्यलगायतका विधामा सक्रिय ८ स्रष्टालाई राजधानीमा सम्मान प्रदान गरिएको छ । लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरको २४ औं स्रष्टा सम्मानअन्तर्गत स्रष्टाहरु सम्मानित भएका हुन्।

राजधानीमा बिहीबार गीतकार तथा कवि कालीप्रसाद रिजाल तथा मन्दिरका अध्यक्ष तथा गीतकार, कवि बसन्त चौधरीले आख्यानकार भागीरथी श्रेष्ठलाई ‘गंगादेवी चौधरी स्मृति सम्मान’, कलाकार शशी कला तिवारीलाई ‘अरनिको ललितकला सम्मान’, कवि दुर्गालाल श्रेष्ठलाई ‘सरस्वती सम्मान’, संगीतकार शुभबहादुर सुनामलाई ‘नारायणगोपाल संगीत सम्मान’, प्रा.डा. प्रेमकुमार खत्रीलाई ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’, अभिनेत्री मिथिला शर्मा बोहोरालाई ‘बालकृष्ण सम रंग सम्मान’ र पत्रकार तथा कवि फूलमान बललाई ‘नेपाल नवप्रतिभा सम्मान’बाट सम्मानित गरियो । सम्मानितलाई नगदसहित दोसल्ला र ताम्रपत्रबाट सम्मान गरिएको थियो । सम्मानितमध्ये भागीरथीले नगद १ लाख रुपैंयाँ सम्मानसँगै पाएकी छन् भने बाँकी स्रष्टाले एकाउन्न हजार १ रुपैंयाँ प्राप्त गरेका छन्।

सम्मानितका तर्फबाट प्राडा खत्रीले अहिलेको पुस्तालाई नेपाली संस्कृति सिकाउन आवश्यक रहेको बताए । ‘म यही अभियानका लागि विद्यार्थी संगठनदेखि सर्वसाधारण युवाहरुलाई भेला गराउन सक्रिय छु,’उनले भने,‘अहिलेको पुस्ताले नेपालको कला र संस्कृतिलाई बुझ्न आवश्यक छ।’गीतकार रिजालले कला मन्दिरको सम्मानले आफ्नो साधनाका क्षेत्रमा लाग्ने स्रष्टा र कलाकारहरुलाई प्रोत्साहन मिल्ने बताए । ‘आफ्ना क्षेत्रमा योगदान पुर्याउने स्रष्टालाई सम्मान गर्नु सराहनीय कुरा हो । यो कामले नयाँ पुस्तालाई प्रोत्साहन पनि गर्दछ ।’ उनले भने।

कार्यक्रममा कवि तथा गीतकार चौधरीको नयाँ कृति ‘चाहतों के साये में’को गीतकार रिजाल, कवि तथा गीतकार चौधरी र हिन्दी भाषाका कवि तथा सामाजिक अभियन्ता डा. विजय पण्डितले संयुक्त रुपमा लोकार्पण गरेका थिए । अंग्रेजी र हिन्दी भाषामा लिखित कृतिमाथि समिक्षा गर्दै त्रिभूवन विश्वविद्यालय हिन्दी विभागकी प्रमुख स्वेता दिक्षितले चौधरीको कवितामा आत्मियतासँगै प्रेम पाउने बताइन् । कवि डा. पण्डितले चौधरीको नयाँ कृतिमा मानव मनको अन्तरकुरालाई सशक्त रुपमा प्रस्तुत गरेको बताए।

कवि तथा गीतकार चौधरीले काव्यसिर्जनामा आफ्नो लगाव भविष्यमा अझै बढीरहने बताए । ‘कविता सिर्जना र गीत लेखनको आनन्द अन्य विषयमा पाइन्न । त्यसकारण मेरो ध्यान हरेक दिन कसरी राम्रा सिर्जना कोर्ने भन्नेमा नै हुन्छ ।’ उनले भने । मन्दिरले हालसम्म ९१ स्रष्टालाई सम्मानित गरिसकेको छ।

 

प्रकाशित: २८ वैशाख २०७५ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App