coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

गर्मीमा सोडा

कोही छहारीमा राखिएको कुर्सीमा बसिरहेका थिए भने कोही ठूला गिलासमा सोडा पिउँदै थिए । ठेलामा मिलाएर राखिएका सोडाका बोतल अनि बोतलमाथि मिलाएर राखिएका कागतीका दाना, यो दृश्य निकै सुन्दर देखिन्थ्यो । ठूलो छातामुनि सजाएर राखिएको ठेलामा हेर्दाहेर्दै मानिसको भीड बढ्यो, ठेलावाला ग्राहकको स्वाद अनुसारको सोडा बनाउन व्यस्त भए भने उनकी श्रीमती गिलासमा भरिएको सोडा ग्राहकलाई दिँदै थिइन्।

ग्राहकको इच्छा अनुसारको फ्लेबरको सोडा बनाउनु र ग्राहकलाई पिलाउनु यी दम्पतीको दैनिकी नै हो । बिहान १० बजेदेखि यो दम्पती सोडा व्यापारमा खटिन्छन् । यो दृश्य हो, भृकुटीमण्डपको गेटनेर रहेको चिसो कागती सोडाको ।गणेशदास महर्जन भृकुटीमण्डपको गेटनेर सोडाको व्यापार गर्छन् । गणेशले नौ वर्षको उमेरदेखि सोडा व्यापार सुरु गरेका हुन् । उनी भन्छन्, ‘मैले सोडा व्यापार गर्दा एक बोतल सोडाको १० पैसा पथ्र्यो, १० पैसाबाट बेच्न सुरु गरेको हुँ ।’ गणेशदासले २०३१ मा एसएलसी दिएका थिए।

पढाइ र व्यापारको तालमेल नमिलेपछि उनले सोडा व्यापारलाई नै रोजे । ‘ऊ बेला कोसिस गरेको भए इन्स्पेक्टरको पद पक्का पाउँथे,’ उनले हाँस्दै भने । इन्स्पेक्टरको जागिरभन्दा सोडा व्यापार नै राम्रो रहेको उनी बताउँछन् । सुरुसुरुमा जहाँतहीँ सोडाको व्यापार हुँदैनथ्यो । १२ वटा सोडाको बोतल बोकेर मानिसको भीडभाड हुने ठाउँन जान्थशदास ।गणेशदास भन्छन्, ‘मैले सोडा बेच्न सुरु गर्दा सोडामा रंग मिलाइन्थ्यो, कागतीको चलन थिएन, बिरेनुन हालेर खाने चलन थियो ।’ समय धेरै परिवर्तन भएको छ ।

‘पहिले सोडा खाने ठाउँ तोकिएको हुन्थ्यो, सोडा खान मन भए मानिसहरू सोडा पाइने ठाउँमा पुग्थे । अहिले काठमाडौंमा हरेक गल्ली–गल्लीमा सोडा उपलब्ध छ, तर कतिको खान लायक छ, त्यसमा ध्यान दिन जरुरी छ ।’

समयअनुसार सोडाको स्वादमा पनि परिवर्तन आएको उनी बताउँछन् । पहिले सोडा खाने ठाउँ तोकिएको हुन्थ्यो, सोडा खान मन भए मानिसहरू सोडा पाइने ठाउँमा पुग्थे । ‘अहिले काठमाडौंमा हरेक गल्ली–गल्लीमा सोडा उपलब्ध छ, तर कतिको खान लायक छ, त्यसमा ध्यान दिन जरुरी छ,’ उनले भने । खानेपानी र सरसफाइमा विशेष ध्यान दिन जरुरी रहेको उनी बताउँछन् । जहाँ पायो, त्यहीँ सोडा खान उपयुक्त नहुने उनी बताउँछन् । सोडाको व्यापार मात्र होइन, गणेशदासले सोडाको उद्योग पनि सञ्चालन गर्दै आएका छन्।

सोडा बनाउँदा पानी र सरसफाइमा ध्यान दिनुपर्ने उनी बताउँछन् । दिनको आठ क्यारेटभन्दा बढी सोडा बेच्दै आएका गणेश भन्छन्, ‘ग्राहकले मैले बनाएको सोडा राम्रो छ, मिठो लाग्यो भन्दा निकै खुसी लाग्छ ।’ उनीकहाँ एक गिलास सोडाको ५० रुपैयाँ तिर्नुपर्छ ।गर्मी बढेसँगै सोडा पिउनेको संख्या पनि दिन प्रतिदिन बढ्दो देखिन्छ । अन्य पेयपदार्थभन्दा सोडा पिउनु उचित हुने उनी बताउँछन् ।

बालाजुका मधुसुदन सिग्देल शिक्षक हुन् । गर्मी मौसममा मधुसुदन अन्य पेयपदार्थभन्दा सोडा पिउन मन पराउँछन् । उनी भन्छन्, ‘गर्मी मौसममा बजारमा पाइने विभिन्न थरीका पेय पदार्थभन्दा सोडा फाइदाजनक लाग्छ, त्यसैले म प्रायः गर्मी छल्न सोडा पिउने गर्छु । गर्मी महिना त्यसै अल्छी लाग्छ, सोडा पिउँदा अल्छीपन हटेर जान्छ, रिफ्रेस बनाउँछ ।’
सोडा बेलायत, इटाली र इन्डिया हुँदै नेपालमा आएको गणेशदास बताउँछन् । उनी भन्छन्, ‘जहाँसम्म मलाई याद छ, भारतमा पनि पहिले सोडा खान स्वीकृत थिएन, पछि स्वीकृति पाएको हो।

’ विगतको तुलनामा सोडाको व्यापार राम्रो रहेको उनी अनुभव सुनाउँछन् । उनी भन्छन्, ‘हरेक उमेर समूहका मानिसले स्वाद अनुसारको सोडा पिउन मनपराउँछन्, सोडा मनपराउने गर्मीमा मात्र नभएर चिसो मौसममा पनि पिउन आउँछन् ।’ सोडाले शरीरको पाचन शक्तिमा फाइदा गर्ने भएर सोडा पिउँदा स्वास्थ्यका लागि राम्रो मानिने उनी बताउँछन् । उनी भन्छन्, ‘बजारमा पाइने विभिन्न किसिमका पेयपदार्थभन्दा सोडा निकै उपयोगी हुन्छ, स्वास्थ्यमा अन्य पेयपदार्थ जसरी नकारात्मक असर गर्दैन ।’ उमेर अनुसार विभिन्न फ्लेबरका सोडा बजारमा उपलब्ध रहेको गणेश बताउँछन् ।

म्यांगो सोडा
विशेषगरी गुलियो खान मनपराउनेको रोजाइमा पर्छ, म्यांगो फ्लेबरको सोडा । आँपको स्वादमा सोडा, बिरेनुन, चिनी राखेर यो तयार गरिन्छ । बजारमा ठेलामा सोडा खाने बानी हुँदैन । श्वास्थ्यका हिसाबले सचेत हुन जरुरी हुन्छ, तसर्थ बाहिर सोडा नखानेहरूले घरमै आफ्नो स्वादअनुसारको म्यांगो सोडा बनाएर खान सक्छन्।

पानी, इच्छाअनुसार चिनी, आँपको पेस्ट, सोडा र चिसो पिउन मन भए बरफ राखेर घरमै म्यांगो सोडा तयार गर्न सकिन्छ । म्यांगो फ्लेबरको सोडा विशेष बालबालिकाको रोजाइमा पर्ने व्यापारी बताउँछन् । गणेशदास भन्छन्, ‘जसलाई गुलियो मनपर्छ, उसले म्यांगो सोडा खान्छ ।’ आरुसी श्रेष्ठ अहिले एसइई दिएर बसेकी छन् । उनीलाई म्यांगो फ्लेबरको सोडा मन पर्छ । सोडामा आइस क्युब राखेर खान उनी मन पराउँछिन्।

कागती सोडा (स्विट लेमन सोडा)

कागती सोडा सबैभन्दा बढी रुचाइने सोडा हो । कागतीको स्वाद रहेको सोडा ग्राहकको रोजाइमा पर्ने व्यापारी बताउँछन् । दिनको चरम गर्मीमा अर्जुन पंगेनी सोडा पिउन मस्त थिए । उनी कागती सोडाको स्वाद मनपराउँछन् । सोडाको विभिन्न फ्लेबर भए पनि अर्जुनलाई कागती फ्लेबर मनपर्छ । पेसाले शिक्षक अर्जुन उखर्माउलो गर्मीमा नुनिलो, अमिलो र सोडाको स्वाद लिन रुचाउँछन् ।

अर्जुन भन्छन्, ‘मलाई दिउँसो गर्मी भएका बेला सोडा पिउँदा बेग्लै मजा लाग्छ, रिफ्रेस भएको महसुस हुन्छ ।’ गर्मीले आत्तिएका बेला चिसो सोडा पिउँदा शरीरमा ऊर्जा आउने अर्जुन बताउँछन् । व्यापारी गणेश भन्छन्, ‘हरेक उमेर समूहका ग्राहकले कागती फ्लेबरको सोडा अर्डर गर्छन् ।’ दिनको अल्छीलाग्दो समय कागतीले ताजापन ल्याउने व्यापारी बताउँछन्।

स्ट्रबेरी फ्लेबर

विभिन्न प्रकारका फ्लेबरमध्ये स्ट्रबेरी फ्लेबर सोडाको माग राम्रो रहेको व्यापारी गणेश बताउँछन् । उनी भन्छन्, ‘स्ट्रबेरी पिउने महिलाको संख्या बढी छ, स्ट्रबेरीमा सोडाको स्वाद मिठो हुन्छ ।’ नेपालमा स्ट्रबेरीको स्वाद रुचाउनेको संख्या दिनानुदिन बढ्दै गरेको उनी अनुभव सुनाउँछन् । उनी भन्छन्, ‘विशेष गरेर टिन एज समूहले रुचाएको पाइन्छ ।’

लिची फ्लेबर

लिची फ्लेबर सोडा लिचीको स्वादमा हुन्छ । लिचीको स्वाद रुचाउनेको रोजाइमा यो सोडा रहेको व्यापारी गणेश बताउँछन् । त्यस्तै, सुन्तलाको स्वादको समिश्रण नै ओरेन्ज सोडा हो । चल्तीमा रहेका दुई–तीनवटा फ्लेबरबाहेक अन्य फ्लेबर त्यति नखाइने व्यापारी अनुभव सुनाउँछन् । सुन्तला सोडा घरमा पनि बनाउन सकिन्छ । ओरेन्ज जुसमा सोडापानी मिसाएर बिरेनुन राखेर खान सकिन्छ।


कोला सोडा

कोला र सोडाको स्वादको मिश्रण हो, कोला सोडा । सोडाको फ्लेबरमध्ये कोला फ्लेबरको माग निकै राम्रो रहेको व्यापारी बताउँछन् । यो ग्राहकले रुचाइएको फ्लेबर रहेको व्यापारी बताउँछन् । कोलाको स्वाद मनपराउनेहरूको विकल्प हो, कोला सोडा ।

प्रकाशित: २८ वैशाख २०७५ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App