coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

छायांकनमा ‘छक्का पन्जा ३’

काठमाडौं  – कमाईमा रेकर्ड राखेको ‘छक्का पन्जा’को तेस्रो संस्करण ‘छक्का पन्जा ३’को छायांकन शुक्रबारबाट शुरु भएको छ । भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा पूजाआजा र मुहूर्तसँगै फिल्म फ्लोरमा गएको हो। 

फिल्मकी निर्देशक दीपाश्री निरौलाले दर्शकको माया बढेसँगै जिम्मेवारी पनि बढ्दै गएको बताइन् । ‘हामी अझै परिपक्व हुँदैछौ । फिल्म राम्रो हुनलाई टिम नै चाहिने भएकाले अघिल्ला संस्करणभन्दा अझ बढी मेहनत यो फिल्ममा हुनेछ,’उनले भनिन्,‘फिल्मको कथावस्तु अघिल्लो पटक झैं सस्पेन्स नै छ । तर मनोरञ्जन भने डबल हुने ग्यारेन्टी म दिन चाहन्छु ।’ उनका अनुसार फिल्म काठमाडौंसहित चित्लाङ, दमौली र बाग्लुङमा खिचिनेछ।

फिल्मको टिममा अभिनेत्री दीपिका प्रसाई र अभिनेता पुष्प खड्का नयाँ सदस्यका रुपमा प्रवेश गरेका छन् । फिल्मका निर्माता, लेखक तथा अभिनेता दिपकराज गिरीले फिल्मको कथाको माग अनुसार दीपिका र पुष्पलाई प्रवेश गराइएको बताए । ‘दर्शकले पनि फिल्ममा नयाँजोडी हेर्न चाहिरहनु भएको थियो । त्यसैले मेरो जोडीका रुपमा दीपिकालाई प्रवेश गराएका हौं ’ उनले भने।

अभिनेत्री दीपिकाले ‘छक्का पन्जा’ समूहसँग काम गर्न पाउँदा आफू दंग परेको बताइन् । ‘यो टिमसँग काम गर्न पाउँनु मेरो लागि ठूलो कुरा हो,’उनले भनिन्, ‘म माथि विश्वास गरिदिनु भएकोमा दिपक दाइ र दीपा दिदीप्रति आभारी छु ।’ अभिनेता पुष्पले आफ्नो भूमिकाले फिल्ममा दर्शक हाँस्ने बताए।

कार्यक्रममा अभिनेता हरिवंश आचार्यले दीपक र दीपाको टिमले अहिलेसम्म राम्रा फिल्म दर्शकलाई दिइरहेकाले ‘छक्का पन्जा ३’ अघिल्ला फिल्मभन्दा अझ राम्रो बन्ने आशा व्यक्त गरे।

आमा सरस्वती मुभिज तथा आइएमईको प्रस्तुति रहेको फिल्ममा दीपकराज, दीपिकासँगै जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाङ्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट, पुष्प खड्का र प्रियंका कार्कीको अभिनय रहनेछ। 

जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता छन्।

फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, दीपकराज गिरीको कथा तथा दीपक, जीतु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठको संवाद छ । फिल्म फूलपातीको दिन रिलिज हुनेछ।

 

प्रकाशित: ३० वैशाख २०७५ ०५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App