७ वैशाख २०८१ शुक्रबार
समाज

सरकारी जागिर छाडेर टमाटर खेती गर्दा मदन बने मालामाल

बैतडी– सरकारी जागिर खाने उद्देश्यले प्राविधिक शिक्षा पढेका पाटन नगरपालिका–१०, सिद्धपुरका ४७ वर्षीय मदनराज भट्टलाई टमाटर खेतीले मालामाल बनाएको छ। टमाटर लगायतका तरकारीबाट मनग्ये आम्दानी हुन थालेपछि पाएको जागिर पनि छोडेका उनलाई पछाडि फर्कन परेको छैन्। मनग्ये आम्दानी हुन थालेपछि खानेपानी डिभिजन कार्यालय डडेल्धुरामा टेक्निसियनको जागिरसमेत छोडेर तरकारी खेतीमा रमाउन थालेका छन्।

गाउँमै केही गर्ने सोच बनाएका भट्ट व्यावसायिक टमाटर खेती गर्न थालेपछि कहिल्यै पछि फर्केर हेर्नुपरेको छैन्। सुरुमा गाउँकै सहकारीबाट ३० हजार रुपैयाँ लिएर ऋण यसतर्फ लागेका उनी आफ्नै मिहेनतले जिल्लाकै उत्कृष्ट कृषकमा दरिएका छन्। चार वर्षदेखि व्यवसायिक तरकारी खेती गरेका उनले टमाटर र अन्य तरकारीबाट वार्षिक करिब चार लाख आम्दानी गर्न थालेका छन्। तरकारी खेतीबाटै सात जनाको परिवार र घरखर्च चलाउन सहज भएको उनले बताए। ‘जागिर खाएको भए घरखर्च चलाउन समस्या हुन्थ्यो,’ भट्टले भने, ‘तरकारीबाट घरमै बसेर आम्दानी हुन थालेको छ।’

महिला तथा बालबालिका कार्यालयले प्रदर्शनीको लागि पोलीहाउस (प्लास्टिक घर) उपलब्ध गराएपछि भट्टले २५ रोपनी जमिनमा तरकारी खेती गरेका छन्। दुई ओटा प्लाष्टिक घरबाट टमाटर खेती सुरु गरेका भट्टको तरकारी बारीमा एक दर्जन पोलीहाउस छन्। यो वर्ष २५ वटा पोलीहाउसमा तरकारी खेती गर्ने तयारी गरेका छन्। बर्खे सिजनको लागि टमाटर र भेडे खुर्सानीका विरुवा लगाएका छन्। तरकारीबाट सोचे अनुरुप आम्दानी हुन थालेपछि बढाउन सोच उनले बनाएका छन्। ‘टमाटरको बजार पनि राम्रो छ, उत्पादित उपजको लागि बजारको समस्या छैन्,’ उनले भने, ‘उत्पादन गरेको टमाटर स्थानीय बजारदेखि तराईका कैलाली, कञ्चनपुरसम्म जाने गरेको छ।’

‘पढे लेखेका खेतीपातीतिर लाग्न मान्दैनन’, उनले भने, ‘यही मिहेनत गरे रोजीरोटीको लागि विदेशमा पसिना बगाउन आवश्यक छैन्।’ उनी तरकारी बारीमै दिनभर व्यस्त हुन्छन्, उनकी श्रीमती कलावतीले बजार समाल्छिन्। बारीमा फलेको तरकारी बजारसम्म पु¥याउने जिम्मा उनको छ भने अन्य समय उनी पनि श्रीमानसँगै तरकारी खेतमै बिताउने गरेकी छिन्।

रोजगारीका लागि कतिपय युवा विदेश जान मरिहत्ते गरिरहेका बेला भट्ट आफ्नै बारीमा पसिना बगाएर मालामाल भएका छन्। थोरै परिश्रम गर्नसके यही माटोमा सुन फलाउन सकिने आत्मविश्वास भट्टले देखाएका छन्। 

यो वर्ष दैनिक ८ क्विण्टल टमाटर फलाउने लक्ष्य उनले राखेका छन्। त्यही लक्ष्य अनुसार टमाटरका विरुवा लगाएका छन् भने पोलीहाउस बनाउने तयारीसमेत गरेका छन्। बारीसम्म सडक पुग्न सके ढुवानीको लागि सहज हुने उनले बताए। ‘यो वर्ष बढी उत्पादन हुन्छ,’ उनले भने, ढुवानी गर्ने कामदार पाइँदैनन, सडक पुगे सजिलो हुन्थ्यो।’ घर नजिकै रहेको उनको बारीको केही माथिसम्म ट्रयाक खोलिएको छ। सडक र सिँचाइको अभावमा केही असहज भए पनि तरकारीले आत्मनिर्भर बनाएको उनको भनाइ छ। 

प्रकाशित: ३० वैशाख २०७५ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App