४ वैशाख २०८१ मंगलबार
राजनीति

गोरेलाई सरकारी वकिल र प्रहरीकै संरक्षण

काठमाडौं – सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ। अघिल्लो वर्ष साढे ३३ किलो सुन बरामद हुँदा प्रहरीले गोरेलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा बुझाए पनि उनले त्यहींबाटै उन्मुक्ति पाएको खुलेको हो। उनको गोरे, सिताराम खरेल र चूडामणि उप्रेती गरी तीनवटा नाम राखी व्यक्ति नै ‘यकीन नभएको र नाम, थर, वतन खुली आएमा वा पक्राउ परेको अवस्थामा अदालतमा पेस गरिने छ’ भन्दै सरकारी वकिलले अदालतमा राय पेस गरेर उन्मुक्ति दिइएको थियो।

सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाएपछि उनले निर्वाध सुन तस्करीको अवसर पाएका थिए । त्यसमाथि बहालवाला प्रहरी अधिकृतहरुले नै सुनको सुराकी दिने व्यक्तिका रुपमा प्रयोग गर्नु र केही प्रहरी अधिकृतहरु उनलाई जोगाउनसमेत लागिपरेका थिए।

अपराध महाशाखालाई ६ महिनाअघि सुनको सुराकी दिनु तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री, प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, प्रहरी नायब उपरीक्षक (डिएसपी) सञ्जय राउत गोरेलाई जोगाउन लागिपरेको समेत देखिएको छ। गृह मन्त्रालयबाट गठित ३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणको उच्चस्तरीय छानबिन समितिले गरेको अनुसन्धानबाट सरकारी वकिलको कार्यालयले जोगाएका गोरेलाई नै प्रहरीले सुराकी स्रोत बनाएको देखिएको छ। सरकारी वकिलको कार्यालयले त्यतिबेला हरिशरण खड्कासहित ३३ जनाविरुद्ध अभियोग दायर गरेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत पुस २१ मा त्रिभुवन विमानस्थल नजिकबाट बरामद गरेको साढे ३३ किलो सुन तस्करीमा हरिशरण खड्कासँगै गोरेलाई पनि प्रतिवादी बनाएर पठाएको थियो। तर, सरकारी वकिलको कार्यालयले गोरेलाई पक्राउ परेको बखतमा मात्र अदालतमा पेस गर्ने राय दिएको थियो। चूडामणि उपे्रती खास नाम हुँदाहुँदै उनलाई सिताराम खरेल बनाइएको थियो। अदालतमा पेस भएको रायअनुसार उनलाई प्रहरीले खोज्नुभन्दा संरक्षण गरेको पाइएको छ। करिब ६ महिनाअघि महानगरीय प्रहरी अपराध महाशाखालाई २० किलो सुन आएको छ भन्दै गोरेले सूचना दिएका थिए। सो सूचना पछ्याउँदा प्रहरीले २ किलो सुन बरामद गरेको थियो। महाशाखाका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यकै कार्यकालमा गोरेले सुनको सूचना दिएका थिए। अदालतमा उनी प्रतिवादी नभएपछि प्रहरीले पनि खोजी गरेन उल्टै संरक्षण गरेको पाइयो।

गोरेको सम्पर्कमा देखिएका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द निरौला, एसएसपी खत्री, एसपी खनाल, डिएसपी राउत उनकै संरक्षणमा देखिएका छन्। साढे ३३ किलो सुन तस्करी प्रकरणमा एसएसपी खत्री निलम्बनमा समेत परेका थिए। उनले बयानमा आफूले कोही कसैलाई नचिन्ने बताएका थिए। गोरेसँगै पूरा नाम नखुलेको ध्रुव, रामकृष्ण गोयल, कुसुम गोयल, राहुल गोयल, विभूति अनुमोल भालचन्द्र, केशव चापागाईं, दुर्गाप्रसाद खरेललाई पनि प्रतिवादी बनाइएको थिएन। धु्रव भन्ने व्यक्तिलाई प्रहरीले अहिलसम्म खोजतलास गरेको छैन। त्यतिबेला प्रहरीले सन्तोष काफ्ले र भोलाबहादुर मगरलाई प्रतिवादी बनाएको थियो। उनीहरूको नाइके ध्रुव रहेको अनुसन्धानबाट देखिएको छ। सिआइबीले सो सुनसँगै गोपालबहादुर शाही, दिनबन्धु थापा, रामहरि कार्कीलाई पक्राउ गरेको थियो।

सिआइबीले बरामद गरेको सो सुन दुबईबाट हरिशरण खड्का र गोरे भन्ने चूडामणि उप्रेतीले नै पठाएको बयान कार्की र थापाले दिएका थिए। थापाले दुबईबाट तस्करीको सुन ल्याउने र काकीर्ले यहाँबाट सुन वितरणको काम गर्दै आएका थिए। उनीहरु दुवैजनाले काले भन्ने किशन अग्रवाल, हरि भन्ने हरिशरण खड्का र गोरे भन्ने चूडामणि उप्रेतीको सुन भएको बयान दिएका थिए। ‘विदेशमा बसी सुनको अवैध कारोबार गर्ने कार्यमा मैले चिनेका काले भन्ने किशन अग्रवाल, हरि खड्का भन्ने हरिशरण खड्का, केशव चापागाईं, अर्जुन खरेल, सञ्जय भन्ने दुर्गाप्रसाद खरेल र राज पन्थ हुन्। उनीहरुले पठाएको सुन हरिशरण खड्काले भनेअनुसारका मानिसलाई दिन्थे’, कार्कीले बयानमा भनेका छन्। थापाले पनि सोही प्रकृतिको बयान दिएका छन्। साढे ३३ किलो सुन तस्करी प्रकरणमा विमानस्थलमा कार्यरत एसएसपी श्याम खत्री पक्राउ पर्नु र विमानस्थलका तत्कालीन प्रमुख डिआइजी प्रहरी प्रधान कार्यालय तानिएपछि प्रहरीभित्र हलचल पैदा भएको थियो । सिआइवबले सो मुद्दालाई संगठित अपराध ऐन २०७० को दफा ९ को खण्ड (क) र (ग) बमोजिम सजायको माग दाबी गरेको थियो।

सो विषय प्रहरीको सबै निकायमा जानकारी हुने भए पनि अपराध अनुसन्धानका लागि छुट्टै निकायका रुपपमा काम गरिरहेको अपराध महाशाखाले नै गोरेलाई पक्राउ नगरी सुराकी रुपमा प्रयोग गरेको थियो । उनले दिएको सुराकी अनुसार महाशाखाको पिल्लर नं.४ का पिल्लर प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अजय केसी, बालकृष्ण सञ्जेलले नै सुन बरामद गरेका थिए। गोरेले सुनको सूचना मात्र दिएका थिएनन, सई सञ्जेललाई ठूलो परिमाणको हुण्डीसमेत बरामद गराइदिने आश्वासन दिएका थिए। छानबिन समितिले पक्राउ गरेका व्यक्तिहरुको बयानका आधारमा फरार हुनु अघिसम्म उनी प्रहरीकै सम्पर्कमा देखिएका थिए। पूर्वडिआइजी निरौला, एसएसपी खत्री, एसपी खनाल, डिएसपी राउत र महाशाखाका सई सञ्जेलसँग उनको नियमित सम्पर्क देखिए पनि तर उनी पक्राउ पर्न सकेनन्। ३३ किलो सुन तस्करी तथा शाक्य हत्या प्रकरणमा गोरे भन्ने चूडामणि उपे्रती, हरिशरण खड्का, काले भन्ने किशन अग्रवाल, रामहरी कार्की, राजेन्द्रकुमार शाक्य, श्याम खत्री प्रतिवादी बनेका छन्। गोरेबाहेक अन्य यसभन्दा अघिल्ला पटक बरामद भएको साढे ३३ किलो सुन प्रकरणमासमेत प्रतिवादी बनेका थिए।

प्रकाशित: ३१ वैशाख २०७५ ००:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App