६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रदेश २ का मुख्यमन्त्री विवादित

जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालको आन्तरिक राजनीतिक किचलोवारे गुनासो गरेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आलोचित बनेका छन्।

गत शुक्रबार मोदीका लागि जनकपुरको रंगभूमि मैदान बाह्रविघामा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधान र सरकारको विरोध गरेका थिए। तिर्थयात्रीको रुपमा धार्मिक भ्रमणमा आएका छिमेकी मुलुकका प्रधानमन्त्रीसँग गुनासोको नाउँमा मुख्यमन्त्रीले आफ्नै मुलुकलाई होच्याएको विभिन्न दलका नेताले आरोप लगाएका छन्। उक्त अभिव्यक्तिबाट मुख्यमन्त्री राउतको अपरिपक्वता झल्केको नेताहरूको जिकिर छ।

‘जसरी बालबालिकाहरुले आपसी झगडाबारे साँझ आफ्ना अभिभावकसँग गुनासो गर्छन् त्यसैगरी मुख्यमन्त्रीज्यूले आफ्नो देशभित्रको समस्या भारतीय प्रधानमन्त्रीसमक्ष व्यक्त गरेका छन्,’ प्रदेशसभा एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले नागरिकसँग भने, ‘यो अत्यन्तै निन्दनीय र आपत्तिजनक विषय हो।’ देशको आन्तरिक समस्या समाधानका लागि प्रदेश र संघीय सरकारले आपसमा हलको उपाय खोज्नुपर्नेमा छिमेकी राष्ट्रका प्रधानमन्त्रीसँग गुनासो गरेर राउतले गैरराजनीतिक तथा अमर्यादित व्यवहार प्रदर्शन गरेको मण्डलले टिप्पणी गरे।

मधेस अपहेलित रहेको कुरा छिमेकी मुलुक मात्रै नभएर संसारका सबै राष्ट्रलाई अवगत छ। भारतका प्रधानमन्त्रीसँग भेट भएको बेला मुख्यमन्त्रीज्यूले समान्य चर्चा गरिदिनुभएको मात्र हो।’

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले मोदीको स्वागतका लागि आयोजित मञ्चको व्यवस्थापन र अभिव्यक्तिमा प्रदेश सरकारले बालपना देखाएको आरोप लगाए। ‘आफ्नो मुलुकको मर्यादालाई बिर्सेर सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामा असर पर्नेगरी मु्ख्यमन्त्रीले तथानाम बोलेका छन्,’ यादवले भने, ‘जुन संविधानको मातहतमा रहेर प्रान्तीय सरकारको नेतृत्व गरिरहेका छन् त्यसकै इज्जतको ख्याल गरिएन।’ मुख्यमन्त्रीले प्रदेशको समस्यावारे बोल्नसम्म ठिकै भएपनि देशभित्रको आन्तरिक राजनीतिक कमजोरीवारे छिमेकी राष्ट्रका सरकार प्रमुखसमक्ष मनपरी बोलेर देशकै बेइज्जत गरेको उनको निष्कर्ष छ।

प्रदेशसभा बैठक चलेपछि मोदीको भ्रमण तयारी तथा मुख्यमन्त्रीको अभिव्यक्तिबारे आफ्नो धारणा राख्ने एमाले संसदीय दलका नेता मण्डलले बताए। ‘एक त समान्य संसदीय व्यवस्थाको पालना गर्न नसकेर छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे प्रदेशसभामा औपचारिक जानकारीसम्म दिइएन,’ मण्डलले थपे, ‘भ्रमणको व्यवस्थापन र अभिनन्दन समारोह मूल आयोजक समितिमा प्रतिपक्षी दलसँग समान्य छलफलसमेत नगरी प्रदेश सरकारले मनपरी गरेको छ।’ मूल समितिमा आपूmहरूलाई नामका लागि राखिएपनि तयारीबारे छलफलमा कहिल्यै नबोलाएको कांग्रेस संसदीय दलका नेता यादवको पनि आरोप छ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने मुख्यमन्त्रीले मोदीसमक्ष गरेको गुनासो जायज भएको बताउँछन् । ‘मुख्यमन्त्रीज्यूले त केही भन्नुभएकै छैन,’ पार्टी अध्यक्ष यादव भन्छन्, ‘मधेसको जे समस्या छ त्यसको अगाडि मुख्यमन्त्रीज्यूले केही बोल्नुभएकै छैन।’ राज्यले दशकांैदेखि गरेको विभेदकै कारण मधेस पिछडिएको जिकिर गर्दै यसवारे संसार अवगत रहेको बताए। ‘मधेस अपहेलित रहेको कुरा छिमेकी मुलुक मात्रै नभएर संसारका सबै राष्ट्रलाई अवगत छ,’ उनले भने, ‘भारतका प्रधानमन्त्रीसँग भेट भएको बेला मुख्यमन्त्रीज्यूले समान्य चर्चा गरिदिनुभएको मात्र हो।’ उनले अहिलेको समस्यामा सुधार ल्याउन संघीय सरकारका प्रमुखसँग आग्रह गरे।

मधेश राजनीतिका विश्लेषक प्राडा सुरेन्द्र लाभले मुख्यमन्त्रीको वक्तव्यलाई वाहियात बहस चलाइएको बताए। ‘मधेस र देशको समस्याबारे भारत अनविज्ञ छ र ?,’ डा.लाभले भने, ‘संविधान निर्माणको बेला सबैलाई समेट्न र जारी भइसकेपछि कमजोरी सच्याएर सर्वस्वीकार्य बनाउन भारतले नेपाल सरकारलाई आग्रह गरेकै हो। आजसम्म गुपचुप रहेको देशको इज्जत मुख्यमन्त्रीले उदांगो गरिदिएको भए बहस आवश्यक थियो। तर, यहाँ त्यस्तो ठूलो कुनै मुद्दा नै छैन।’ परिवारका अभिभावकसँग बारम्बार गुनासो गरे पनि नसुनेको जस्तो गरिरहे पनि बच्चाले काकालाई आफ्नो घरको समस्या सुनाउने परम्परा नेपाली समाजको रहेको उल्लेख गर्दै उनले मुख्यमन्त्री राउतले त्यही गरेको दाबी गरे।

जहाँसम्म छिमेकी देशका प्रमुख अथवा सरकारप्रमुखसँग कतिसम्म प्रस्तूत हुने भन्ने सवाल छ त्यसको लागि न परम्परा छ न मापदण्ड’ डा.लाभले भने, ‘मुख्यमन्त्रीज्यूको वक्तव्यलाई डिस्कोर्षको रूपमा लिएर आधार बनाउनुपर्ने बेला आएको छ।’ बाँकी संघीयताको अभ्यासको क्रममा धेरै कुरामा सुधार हुँदै जाने उनले बताए।

अर्का राजनीतिक विश्लेषक चन्द्र किशोरले प्रदेश २ का मुख्यमन्त्रीको मन्तव्यको सकारात्मक पक्षलाई गौणगरी अनाहक विषयान्तर गर्न खोजिएको आरोप लगाए। मुख्यमन्त्रीले पीडितको तर्फबाट आफ्नो भनाई राख्दा पीडकले सुधार गर्नुपर्नेमा असहिष्णु व्यहार देखाउनु गलत हुने उनको भनाइ छ। ‘मुस्लिम समुदायका राउतले जगतजननी जानकीको पावन भूमिमा मोदीलाई स्वागत गरेको भन्नुले बहुसंख्यक हिन्दु समुदायलाई सम्बोधन गर्नुभएको छ,’ चन्द्र किशोर भन्छन्, ‘नेपाल सरकारको नेतृत्वमा रहेका सीमित समुदायले बहुसंख्यक देशबासीलाई त्यसरी नै सम्बोधन गरिदिए समस्या नै रहँदैन।’

राष्ट्रवादीको रङ खुइलिएपछि विषयान्तर गर्न मुख्यमन्त्रीको मन्तव्यमा केन्द्रित गर्ने प्रयास भइरहेको उनले टिप्पणी गरे। ‘भारतले नाकाबन्दी गरेकै हो। भारत अपराधी हो भने हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीज्यू किन दौडेर भारत जानुभयो? फेरि तुरुन्तै आफ्नो देशमा आइदिन पनि किन आमन्त्रण गर्नुभयो?’ उनले थपे, ‘हिजोसम्म खोक्रो राष्ट्रवादको माला जप्नेहरू आज स्वंय भारतपरस्त भएपछि लाज लुकाउन प्रदेश २ का मुख्यमन्त्रीलाई अगाडि सार्ने काम मात्रै भएको हो।’

प्रकाशित: ३१ वैशाख २०७५ ०१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App