coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘सहरमा बस्ने सुसूचित छैनन्’

देवीराम पराजुली, हास्य कलाकार

तपाईंलाई मनपर्ने सहर कुन हो ?

मलाई मनपर्ने सहर पोखरा हो । पोखरा एकदमै राम्रो छ । वातावरण पनि स्वच्छ छ । वरिपरिका डाँडाकाँडा सुन्दर लाग्छन् । घुम्ने ठाउँहरू पनि प्रशस्त छन् । सबै ठाउँ रमणीय लाग्छन् । प्रकृतिले दिएको सुन्दरतालाई पोखरावासीले झनै सुन्दर बनाएका छन् । पछिल्लो समय उपत्यका बाहिर अलि व्यवस्थित मानिने सहर पोखरा नै हो ।

काठमाडौंं कस्तो लाग्छ ?

सेवा सुविधा हेर्दा काठमाडौं ठिकै लाग्छ । यहाँको अस्तव्यस्तता देख्दा बस्नै मन लाग्दैन । काठमाडौंमा अहिले धेरै नै कोलाहल भएको छ । यो ठाउँमा आएर धेरैले आफूलाई चिनाए ।

तर, सहरका लागि कुनै किसिमको योगदान दिन सकेनन् । काठमाडौंसँग मेरो आत्मिय प्रेम पनि छ । केही कारणले सहर फोहर देखिएको हो । यहाँका अन्य पक्ष राम्रा छन् । काठमाडौंमा धेरैले अवसर पाएका छन् । गाउँ–गाउँमा लुकेर बसेका प्रतिभा काठमाडौंमै आएर आफूलाई चिनाउन सफल हुन्छन् ।

विदेशी मुलुकका कुन–कुन सहर घुम्नुभएको छ ?

विदेशका केही सहर घुमेको छु । अमेरिका, हङकङ, भारतलगायत देशका सहर पुगेको छु । विदेशका सहरको चमक हाम्रा सहरमा देखिन्न । त्यहाँका सहरजस्तै बन्न हामीलाई लामो समय लाग्छ ।

ती देशका कुन–कुन सहर पुग्नुभयो ?

अमेरिकाको न्युयोर्क, न्युजर्सी र मेरिल्यान्डलगायत सहर पुगेँ । यी सहर धेरै नै सुन्दर र नौला छन् । सानै भए पनि हङकङ धेरै राम्रो छ । विदेशका सहर हेरिकन हामी धेरै नै पछि परेका छौं भन्ने लाग्यो ।

के कुरामा पछि परेका रहेछौं ?

परम्परागत र पुर्खाले सिर्जेका कुरामा हामी अघि छौं । पछिल्लो भनौं या ५० वर्ष यताको पुस्ताले गरेको काममा हामी धेरै पछि छौँ । विदेशका सहर आधुनिक र सुविधासम्पन्न छन् । सहरमा हरेक सुविधा छ ।

सहरको हरेक ठाउँहरू सुरक्षित छन् । आपद्विपद् आउँदा पनि बस्ने ठाउँ धेरै छन् । सहरीकरणले सबै खुला ठाउँ खायो । कुनै प्राकृतिक विपत्ति आइलाग्यो भने हामी जोगिने ठाउँ छैन ।

विदेशका सहरको कुन पक्ष राम्रो लाग्यो ?

विदेशका सहरको हरेक पक्ष राम्रो छ । त्यहाँको सरकारी निकायले गर्ने काम पनि निकै चुस्त छ । नागरिक पनि सुसूचित छन् । त्यहाँका सहर कानुनले चलेका छन्।

सहरका हरेक कुरा कानुनले बाँधेको छ । मानिसका हरेक आवश्यकताहरू सहरभित्रै पूरा हुन्छन् । विदेशका सहरमा कसैले पनि झन्झट बेहोर्नु पर्दैन । कानुनविपरित काम गर्नेलाई ठुल्ठूला सजाय हुन्छन् । कानुनी कारबाही कडा भएकाले विदेशका सहरमा अराजकता हुन्न।

हाम्रा सहरको विकास कसरी होला ?

विकासको लागि राज्य र त्यहाँको नीति–नियम कडा हुनुपर्छ । राज्यले बनाएका कानुन लागू गराउन सक्नुपर्छ । नागरिक पनि सहरको विकासबारे होसियार भएर लाग्नुपर्छ । अर्को कुरा, विकासका लागि ल्याइएका योजनाहरू सक्नुप¥यो । कुन–कुन ठाउँमा विकास गर्दा सहर बिग्रन्न उक्त कुराको अध्ययन पनि गर्नुप¥यो । हाम्रो सरकारमा बस्नेहरूको विकासतिर ध्यानै गएन । खाली व्यक्तिगत फाइदातर्फ मात्रै लागे ।

सरकारले कसरी काम गर्नुपर्ला ?

सहरका खास–खास समस्यालाई केन्द्रमा राख्नुपर्छ । सहरलाई कुन कुराले कुरूप बनाएको छ, त्यसलाई हटाउनतर्फ लाग्नुपर्छ । सरकारले चाहने हो भने देशको विकास गर्न धेरै वर्ष लाग्दैन । सरकारले सरसफाइ, बाटोघाटो निर्माण, पार्क निर्माण, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथामलगायत विषयलाई मुख्य तहमा राखेर काम गर्ने हो भने सहरको विकास चाडैँ हुनसक्छ ।

विदेशका र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो ?
प्रकृतिले निःशुल्क रूपमा दिएका र पुर्खाले सिर्जेका सम्पत्तिहरूले हामी धनी छौँ । यहाँका जस्ता मठ–मन्दिर र ऐतिहासिक ठाउँहरू अन्य देशका पाइन्न । पछिल्लो पुस्ताले पुर्खाको सम्पत्ति जोगाउन सकेनन् । उनीहरूले सहरको विकासबारे सोच्दै सोचेनन्।

सहरको विकासको लागि सरकार पनि प्रतिबद्ध भएर लागेका छैन । विदेशका कुरा गर्ने हो भने विकासका कार्यमा उनीहरू धेरै अघि छन् । हामी धेरै पछि छौ । सरकारले फाटफुट विकास गरेकाले विदेशका सहर विकसित भएका हुन् । त्यहाँ नीति नियम पालन हुन्छ । मुख्य कुरा हाम्रोमा नीति नियम नै लागू भएन । यसले पनि सहरको विकास नभएको हो ।

सहरको विकास लागि नागरिकको दायित्व के होला ?

हाम्रा नागरिक सुसूचित नै छैनन् । सहरमा बस्नेले जथाभावी प्लास्टिकका बोतल फाल्छन् । घरभित्रको फोहर सडकमा मिल्काउँछन् । यस्ता प्रवृति निकै खराब हुन् । सही ठाउँमा फोहर फाल्ने र अरुलाई खबरदारी गर्ने प्रवृत्ति भए सहर यतिधेरै अस्तव्यस्त हुने थिएन होला ।

तपाईं कस्तो सहरको सपना देख्नुहुन्छ ?

म व्यवस्थित र सुरक्षित सहरको सपना देख्छु । म बसेको सहर हरेक हिसाबले धनी होस् भन्ने लाग्छ । सहरमा बस्ने हरेकले राज्यका सबैखाले सुविधा सहजै पाउन् । सहरभित्र स्वच्छ हावा लिन र हरियाली देख्न पाइयोस् । घुम्ने र आपत् पर्दा बस्ने खुला ठाउँ होउन् भन्ने लाग्छ ।

उपत्यकाको सबैभन्दा मन पर्ने पक्ष ?

हावापानी सदावहार लाग्छ । उपत्यका धेरै सेवा–सुविधा भएको ठाउँ हो ।

मन नपर्ने पक्ष ?

ट्राफिक जाम, धुलोधुवाँ र मानिसको भीडभाड देख्दा दिक्क लाग्छ । सहरका मुख्य सडकको अवस्था पनि बिजोग छ ।

उपत्यकाभित्र कतै घुम्न जानुपर्यो भने कुन ठाउँ रोज्नुहुन्छ ?

मलाई घुम्न त्यति मन लाग्दैन । सहरमा घुम्ने ठाउँहरू पनि छैनन् । सबैतिर अस्तव्यस्त मात्रै देख्छु ।

पछिल्लो समय घुमेको सहर कुन हो ?

लुम्बिनी गएको थिएँ । परिवारसँग गएकोले निकै रमाइलो लाग्यो ।

मन भएर पनि घुम्न नपाएको ठाउँ ?
मलाई मुस्ताङ जाने मन छ । समय मिल्यो भने छिट्टै पुग्छु ।

प्रस्तुतिः शिवहरि घिमिरे

प्रकाशित: ३१ वैशाख २०७५ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App