७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरीको स्कटिङ्ग टोलीमाथि विप्लव कार्यकर्ताको आक्रमण

डोल्पा – नेपाल बन्द गर्दै हिडेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेपछि अन्य कार्यकर्ताले प्रहरीको स्कटिङ्ग टोलीमाथि आक्रमण गरी छुटाएका छन्। 

नेपाल बन्दको क्रममा बजार बन्द गराउँदै हिडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका अन्तरगत पर्ने त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९ घर भएका नेकपाका जिल्ला सदस्य ३६ वर्षीय सागर शाहीलाई आइतबार त्रिपुराकोट प्रहरीले पक्राउ गरेको थियो।

सोमबार बिहानै त्रिपुराकोट प्रहरी चौकीबाट दुई जना प्रहरी जवानले स्कटिङ्ग गरेर नेकपाका कार्यकर्ता सागर शाहीलाई जिल्ला प्रहरी कार्यालय दुनै डोल्पा तर्फ लैजादै गर्दा ठूलीभेरी नगरपालिका–९ अन्तरगत पर्ने भेत्तिडाँडोमा नेकपाका जिल्ला इन्चार्ज अजित बिष्टको नेतृत्वमा आएको दश जनाको समुूहले प्रहरी हवलदार धनसिँ कठायत र प्रज जयलाल बस्नेत माथि ढुङ्गा प्रहार गरी आक्रमण गरेर शाहीलाई लगेको प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले बताए ।

नेकपाका कार्यकर्ताको आक्रमणबाट प्रहरी हवलदार कठायत र प्रज बस्नेतलाई सामान्य चोट लागेको बताइएको छ ।
छिटो भन्दा छिटो आक्रमणकारीलाई पक्राउ गर्नको लागि त्रिपुराकोट कालागौडा र दुनैमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको डिएसपी शर्माले जानकारी दिए । सागर शाहीसहित बन्दको क्रममा पक्राउ परेका नेकपाका विवश शाही र दिनेश सिँहलाई भने प्रहरीले आइतबार साँझ नै छाडिसकेको थियो ।

प्रकाशित: ३१ वैशाख २०७५ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App