६ वैशाख २०८१ बिहीबार
विचार

माइक्रोप्लास्टिकको जोखिम

प्लास्टिकका कारण हुने वायु प्रदूषण र मानव स्वास्थ्यमा पु-याउने असरबारे नेपाली समाज चिरपरिचित नै देखिन्छ। सरकारले प्लास्टिक प्रयोगमा प्रतिबन्ध गर्ने कुरा समय समयमा उठाउँछ तर घोषणा कार्यान्वयन हुन सकेको छैन। प्लास्टिकको प्रयोग घटाउने एउटा उपाय हो– ‘रिसाइकल’ वा पुनः प्रयोग। तर विश्वमा करिब चौध प्रतिशतमात्र प्लास्टिक ‘रिसाइकल’ हुने गरेको छ। जानकारीमा आएअनुसार रूपन्देहीमा रहेका केही उद्योगले पुराना र फ्याँकिएका प्लास्टिक ‘रिसाइकल’ गर्ने रहेछन्। ती उद्योगमा दैनिक २५ ट्रकभन्दा बढी बेकामे प्लास्टिक खपत हुने गरेको बताइन्छ। प्लास्टिकले आममानिसको स्वास्थ्यसँग सिधा सरोकार राख्छ। प्लास्टिक वा टायर बाल्दा निस्कने रासायनिक पदार्थले क्यान्सरलगायत घातक रोग लाग्न सक्छ । हालै प्लास्टिकको विसर्जनलाई जोड दिँदै ‘विश्व पृथ्वी दिवस’ नेपालमा पनि मनाइयो। तर जबसम्म सरकारले प्लास्टिकको वैज्ञानिक विसर्जन र ‘रिसाइकल’ सम्बन्धी दिगो कार्यक्रम तय गर्दैन तबसम्म यसबाट सिर्जित समस्याले निकास पाउने छैन। प्रस्तुत लेख प्लास्टिकजन्य प्रदूषणसँग जोडिएका तर नेपाली छापाहरूले खासै ध्यान नदिएको एक फरक प्रसंगमा केन्द्रित गरिएको छ । समाज जति विकसित हुँदै जान्छ समस्या र चुनौती पनि त्यत्तिकै थपिँदै जान्छन् । अर्थात विज्ञानले समृद्धि र चुनौती दुवै बोकेर ल्याउँछ। त्यसैले विज्ञानको विरासतका रूपमा हाल अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्लास्टिकका सूक्ष्म कण अर्थात ‘माइक्रोप्लास्टिक र माइक्रोबिड्स’को खुब चर्चा हुने गरेको छ।
 
सबैजनाले अनुभव गरेकै कुरा हो– टुथपेस्ट, फेसवास, सेभिङ क्रिम, नङ पालिस र शृंगारका क्रिममा मसिना दाना वा गिर्खा जस्तो वस्तु पाइन्छ। तर त्यस्ता वस्तुले आमउपयोगकर्ताको स्वास्थ्यमा पु-याउने नकारात्मक असरका सम्बन्धमा नेपालमा कसैले पनि चासो देखाएको पाइँदैन । ती मसिना दानालाई ‘माइक्रोबिड्स’ भनिन्छ । पाँच मिलिलिटर भन्दा साना त्यस्ता कणलाई ‘माइक्रोप्लास्टिक’ भनिन्छ। र, त्यसभन्दा पनि साना अर्थात् एक मिलिलिटरभन्दा सूक्ष्म कणलाई ‘माइक्रोबिड्स’ भनिन्छ। पश्चिमा मुलुकमा कस्मेटिक सामानको उत्पादनमा ‘माइक्रोबिड्स’को प्रयोगमा पूर्ण प्रतिबन्ध गरिएको छ।

जबसम्म सरकारले प्लास्टिकको वैज्ञानिक विसर्जन र ‘रिसाइकल’ सम्बन्धी दिगो कार्यक्रम तय गर्दैन तबसम्म यसबाट सिर्जित समस्याले निकास पाउने छैन।

हाल वैज्ञानिकहरूले ‘माइक्रोप्लास्टिक र माइक्रोबिड्स’ ले मानव स्वास्थ्यमा पुराउने हानिबारे व्यापक अध्ययन÷अनुसन्धान गरिरहेका छन्। हालै भारतमा गरिएको एक अध्ययनका अनुसार भारतमा उत्पादित शृंगारका सामग्रीमा माइक्रोप्लास्टिक भेटिएका छन् । नेपाली बजारमा भारतीय सामग्रीकै बाहुल्य हुने भएकाले त्यस्ता माइक्रोप्लास्टिकजन्य वस्तु रहेको अनुमान गर्न सकिन्छ। जसलाई हाम्रो समाजमा पुरुष तथा महिलाले दैनिक उपयोग गर्दै आएका छन् । र, राज्य संयन्त्र यस्तो गम्भीर विषयमा बेखबर देखिन्छ। नेपाल गुणस्तर तथा नापतौल विभागका निर्दैशक लेखनाथ कँडेल यस विषय आफूलाई जानकारी नभएको बताउँछन्।

गतसाता नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले काठमाडौँमा बिक्री गरिने अधिकांश जारको पानीमा हानिकारक जीवाणु ‘कोलिफर्म र इकोलाइ’ को मात्रा तोकिएको लेभलभन्दा बढी भेटिएको विषयलाई निकै प्रचार गरेको देखियो। सबैलाई थाहा भएकै कुरा हो कोलिफर्म पानी, मानिस वा जनावरका दिशामा पाइने गर्छ। यो ब्याक्टेरियाको समूह हो । नेपालमा समय समयमा कोलिफर्मबारे व्यापक चर्चा हुने गरे पनि खास ब्याक्टेरिया पहिचान गर्ने गरेको पाइँदैन । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार पानीमा कोलिफर्मको मात्रा शून्य हुनुपर्नेमा नास्टले परीक्षणमा ३ सय प्रतिशतसम्म भेटेको बताइन्छ । बुझेअनुसार एक सयवटा कोलिफर्म प्रतिमिलिलिटर पानीमा भेटिनु नेपालमा सामान्य घटना भएको माइक्रोबायोलोजिस्ट डा. विष्णु मरासिनी बताउँछन् । त्यसैकारण अधिकांश पर्यटक नेपाली पानीमा अत्यधिक ‘कोलिफर्म र इकोलाइ’ भएका कारण झाडापखालाबाट पीडित हुन्छन् सुरुका दिनमा । कोलिफर्मको मात्रा जति बढी हुन्छ स्वास्थका लागि उति नै जोखिम हुन्छ। उता पश्चिमा मुलुकमा भने पिउने पानीमा माइक्रोप्लास्टिक भेटिएको विषयले दुई महिनाअगाडि मिडिया जगत नै तताएको थियो । यता नेपाल भने दशकौँदेखि पानीमा कोलिफर्म र धातुको मात्र परीक्षण गरेर भुलेको देखियो । यसरी हेर्दा देशको प्राज्ञिक धरातलअनुसार विज्ञानको बुझाइमा पनि फरकपन आउने रहेछ । नास्टको प्राथमिकतामा पानीमा ‘माइक्रोप्लास्टिक’ र कस्मेटिक सामग्रीमा ‘माइक्रोबिड्स’ पनि मापन गर्नुपर्छ भन्ने ध्यान गएको देखिएन।

जबसम्म प्लास्टिकको प्रयोगमा पूर्ण प्रतिबन्ध गरिँदैन वा यसको हरित किसिमले व्यवस्थापन गरिँदैन यसबाट सिर्जित समस्याले नेपाललगायत अति कम विकसित मुलुकलाई अझै पिरोल्ने प्रष्टै छ।

बेलायती प्रत्रिका ‘द गार्जियन’ का अनुसार विभिन्न नौवटा देशका २ सय ५९ वटा बजारमा पाइने बोतलको पानी प्रयोगशालामा परीक्षण गर्दा प्रतिलिटर पानीमा करिब ३ सय २५ वटा माइक्रोप्लास्टिक भेटिएको अनुसन्धानले देखाएको छ। विश्व स्वास्थ्य सङ्गठनले यस घटनापछि मानव स्वास्थ्यमा माइक्रोप्लास्टिकले पु-याउने असरका सम्बन्धनमा थप अनुसन्धान गर्ने बताएको छ। अर्को एक अध्ययनअनुसार विश्वमा करिब ८३ प्रतिशत धाराको पानीमा प्लास्टिकजन्य प्रदूषण मिसिएको अनुमान गरिएको छ। विभिन्न रिपोर्टका अनुसार मानिसले सालाखाला प्रतिवर्ष ३ हजारदेखि ४ हजारसम्म माइक्रोप्लास्टिक खाइरहेका छन्।

पानीमा जस्तै सन् २०१४ मा गरिएको एक अध्ययनमा जर्मनी बियरमा पनि माइक्रोप्लास्टिक भेटिएको थियो। त्यस्तै युरोपमा गरिएको अर्को अनुसन्धानमा संसारकै सुन्दर सहर पेरिसको हावामा समेत माइक्रोप्लास्टिक भेटिएको छ । समाचार स्रोतका अनुसार काठमाडौँको वायुमा त माइक्रोप्लास्टिकभन्दा पनि सूक्ष्म अर्थात् २ दशमलव ५ माइक्रोमिटरका कण भेटिएका छन् । काठमाडौँको वायुमा भेटिएका ती सूक्ष्म कणमा ‘माइक्रोप्लास्टिक र माइक्रोबिड्स’ को प्रतिशत कति छ भन्नेबारे नेपालमा थप अनुसन्धान हुन सकेको छैन।

माइक्रोप्लास्टिकका स्रोत अनेक छन्, जस्तै– मानवनिर्मित प्लास्टिक, सडकमा निस्किने टायरको धुलो, रंगरोगन र समुन्द्री माछा आदि। विश्वमा सन् २०१५ मा मात्र ५ हजार ३ सय मिलियन टन प्लास्टिकजन्य फोहोर उत्पादन भएको अनुमान छ । त्यसमध्ये करिब ८० प्रतिशत ल्यान्डफिल वा वातावरणमा पुगेको अनुमान छ । र, त्यस्ता प्लास्टिक बायोकेमिकल क्रियामार्फत ससाना टुक्रामा टुक्रिएपछि ‘फुडचेन’ मार्फत ‘माइक्रोप्लास्टिक’का रूपमा प्राणीजगतमा पुग्ने अनुमान गरिएको छ । माइक्रोप्लास्टिक पानीभन्दा हलुका हुन्छन् त्यसैले पानीमा तैरिन्छ जसको कारण थिग्राएर पानी प्रशोधन गर्ने परम्परागत विधिबाट प्रशोधित पानी माइक्रोप्लास्टिकबाट मुक्त हुन सक्दैन । भारतले समेत माइक्रोप्लास्टिक र माइक्रोबिड्सलाई स्वास्थ्यका लागि असुरक्षित भनेको छ । भारतको महाराष्ट्र राज्यले त तिनको प्रयोगमा प्रतिबन्ध नै गरेको छ । विगत केही वर्षदेखि सक्रिय ‘नेपाल पोलिमर इन्ष्टिच्युट’का अध्यक्ष प्राध्यापक डा. रामेश्वर अधिकारीका अनुसार नेपालमा हालसम्म ‘माइक्रोप्लास्टिक र माइक्रोबिड्स’ सम्बन्धमा अनुसन्धान हुन सकेको छैन। र, उक्त इन्ष्टिच्युटले छिटै यसबारे अनुसन्धान गर्ने बताइएको छ।

स्वास्थ्य सरोकार
जब माइक्रोप्लास्टिक वा माइक्रोबिड्सका कण मानव शरीरमा प्रवेश गर्छन्, त्यसपछि यसले पु-याउने असरबारे विश्वका ख्याति प्राप्त प्रयोगशालामा हाल अनुसन्धान भइरहेको छ। प्रारम्भिक अध्ययनका अनुसार मानिसको पाचन प्रक्रियाबाट त्यस्ता कण शरीरबाट निष्काशन हुनुभन्दा रगत र जीवकोषभित्र छिर्ने अनुमान गरिएको छ। स्मरणरहोस्, जीवकोषमा छिर्नुभन्दा अगाडि शरीरमा प्रवेश गरेका ती ‘माइक्रोप्लास्टिक’ बायोकेमिकल क्रियाद्वारा अझ सूक्ष्म कणमा टुक्रिने अनुमान गरिएको छ।

यसमा अर्को घातक पक्ष दूषित हावामा भएका माइक्रोप्लास्टिक मानिसको दिमागसम्म पुग्ने अनुसन्धानको दाबी छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल विश्वमा करिब ६० लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण हुने अनुमान गरेको छ । र, यस संख्यामा माइक्रोप्लास्टिकको असरले गर्दा हुने मृत्युलाई छुट्टै अनुसन्धान गरी गणना गरिएको छैन। विभिन्न अध्ययनका अनुसार माइक्रोप्लास्टिक र माइक्रोबिड्सले विषालु टक्सिनलाई बोकेर मानव शरीरभित्र पु-याउन ‘भेइकल’को काम गर्ने वैज्ञानिक अनुमान छ। हानिकारक माइक्रोअर्गानिज्मबाट निष्काशित विषालु रसायनलाई टक्सिन भनिन्छ । माइक्रोप्लास्टिक पानीमा घुलिँदैन तर टक्सिनसँग टाँसिन्छ अर्थात् बाइन्ड हुन्छ । उदाहरणका लागि ‘टक्सिन फ्युज’ भएका माइक्रोप्लास्टिक र माइक्रोपार्टिकल (मर्करी, क्याडमियम, लिड र अन्य विषादीका सूक्ष्म कण) मानव शरीरभित्र प्रवेश गरेपछि त्यसबाट क्यान्सर, प्रजनन शक्तिमा असरलगायतका स्वास्थ्य समस्या देखिन्छ । खासमा त्यस्ता सूक्ष्म कण मानव शरीरमा प्रवेश गरेपछि ‘फ्याटी टिस्यु’मा गएर जम्मा हुन्छ।

विदेशमा माइक्रोप्लास्टिकको मुख्य स्रोत समुन्द्री खाना (माछालगायत) लाई लिइन्छ । किनकि वातावरणमा सिर्जित प्लास्टिक प्रदूषणको अन्तिम विसर्जन समुन्द्रमा नै हुन्छ (प्रत्यक्ष वा परोक्षरूपमा) । माछालगायत समुन्द्री प्राणी भोजन गर्ने मानिसमा त्यस्ता माइक्रोप्लास्टिकका कण शरीरमा सजिलै पुग्ने अध्ययनले पुष्टि गरेको छ। तर नेपालमा समुन्द्री खानाको प्रचलन खासै नभएकाले नेपालीमा माइक्रोप्लास्टिकको जोखिम खासै नहुने तर्क पनि गरिन्छ। तर यस विषयको वैज्ञानिक आधार पुष्टि गर्न नयाँ अध्ययन÷अनुसन्धानको खाँचो देखिन्छ।

प्लास्टिकलाई लचिलो बनाउन प्रयोग गरिने ‘थ्यालेट्स’ नामक रसायनले स्तन क्यान्सर पीडितलाई थप असर गर्ने अनुसन्धानले देखाएको छ। तथापि यससम्बन्धी थप परीक्षण हुन बाँकी नै छ । र, केहि माइक्रोप्लास्टिकमा ‘थ्यालेट्स’ को समेत अवशेष हुन सक्ने अनुमान गरिएको छ। यस्तै प्रयोगशाला परीक्षणमा मुसामा माइक्रोप्लास्टिकको असर प्रष्टै देखिएको छ। मुसाको कलेजो, किड्नी र आन्द्रामा माइक्रोप्लास्टिक कण जमेको भेटिएको थियो।

निष्कर्ष
हालै वैज्ञानिकले प्लास्टिक नै खाने ब्याक्टेरियासमेत पत्ता लगाएका छन्। र, यस्तो प्रविधिको विकास देशमा हुन सकेमा प्लास्टिक प्रदूषणको समस्या वातावरणमैत्री किसिमले समाधान गर्न सकिन्थ्यो। यद्यपि उक्त ब्याक्टेरियाबाट पैदा हुने ‘इन्जाइम’ जसले प्लास्टिकलाई टुक्रा पार्छ। त्यससम्वन्धी थप अनुसन्धान हुन बाँकी नै छ वैज्ञानिक जगतमा ।जबसम्म प्लास्टिकको प्रयोगमा पूर्ण प्रतिबन्ध गरिँदैन वा यसको हरित किसिमले व्यवस्थापन गरिँदैन यसबाट सिर्जित समस्याले नेपाललगायत अति कम विकसित मुलुकलाई अझै पिरोल्ने प्रष्टै छ। सरकारले तत्कालै बजारमा पाइने कस्मेटिक सामग्री, टुथपेस्ट, फेसवास, नङ पालिस जस्ता दैनिक उपभोग्य सामग्रीको परीक्षण गरी ‘माइक्रोबिड्स र माइक्रोप्लास्टिक’को जोखिम भए÷नभएको सुनिश्चित गर्नुपर्छ। जनस्वास्थ्यमा दीर्घकालीन असर पु-याउने यस्ता पक्षलाई राज्यले नजर अन्दाज गर्न मिल्दैन।

प्रकाशित: ३१ वैशाख २०७५ ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App