६ वैशाख २०८१ बिहीबार
अन्य

गोलो आँखा लाम्चो कसरी बनाउने ?

कास्कीकी सबिना गुरुङ (नाम परिवर्तन) का आँखा चिम्सा थिए । उनलाई आफ्नो आँखा त्यस्तो भएको बच्चै बेलादेखि मन पर्दैनथ्यो । उनी सोचिरहन्थिन् कसरी आँखा अन्य साथीको जस्तो बनाउने होला । जब उनी काठमाडाैं आइन्, उनले चिम्सो आँखा लाम्चो बनाउन सकिने कुरा थाहा पाइन्, त्यसपछि उनको खुसीको सीमा नै रहेन । ‘सानोमा आफ्नो अनुहार ऐनामा हेर्दा मेरो आँखा किन यस्तो होला, किन अरूको जस्तो भएन होला जस्तो लागिरहन्थ्यो । उनले भनिन्, ‘पछि विभिन्न माध्यमबाट चिम्सो आँखा लाम्चो पारिन्छ भन्ने थाहा पाएँ । त्यसपछि सर्जरी गरियो, अहिले त आफूलाई ऐनामा हेर्दा निकै सुन्दर पाउने गरेकी छु ।’ 

धरानकी मेलिना राई (नाम परिवर्तन) का आँखा पनि कास्कीकी सबिना गुरुङका जस्तै चिम्सा थिए । तर अहिले उनका आँखा हेरेर मंगोलियन समुदायको भन्न सकिँदैन किनभने उनका आँखा अन्य समुदायको जस्तै लाम्चो छन् । उनलाई के कारणले आँखा लाम्चो बनाउने भूत चढ्यो त नागरिक परिवारकर्मीको जिज्ञासामा उनले भनिन्, ‘यो मेरो रहर हो । मलाई बच्चै बेलादेखि लाम्चो आँखा मन पथ्र्याे तर कसरी बनाइन्छ भन्ने थाहा भने थिएन । मैले एक साथीले भनेको सुनँे अनि कताकता बनाइन्छ भनेर बुझ्दै गएँ । काठमाडांैको एक निजी क्लिनिकमा गएर आँखा लाम्चो बनाएँ ।’

आँखा लाम्चो बनाएपछि अहिले आफूमा कन्फिडेन्ट बढेको उनले बताइन् । गौशालाको एक रेष्टुरेन्टमा डान्स गर्लका रूपमा काम गर्ने उनी अहिले आफ्नो आँखा हेर्दा निकै सुन्दर लाग्ने उनले बताइन् । 
कास्कीकै रमेश गुरुङको आँखा पनि अहिले लाम्चो भएको छ । उनलाई अहिले गुरुङ हो र ? भनेर सोध्छन् रे । कतिले त आमा बुवाको बिहे अन्तरजातीय हो भनेर सोध्छन् रे । उनले आँखा चिम्सो किन बनाउनुभएको भन्ने हाम्रो प्रश्नमा रमाइलो पारामा भने । ‘मलाई आफ्नो आँखा ऐनामा हे-यो कि ब्लेडले चिरे जस्तो लाग्यो । साथीहरूले पनि कस्तो ब्लेडले चिरे जस्तो भन्थे । त्यसपछि मैले लाम्चो बनाइन्छ भनेको सुनेँ अनि लाम्चो बनाएँ । 

हुन पनि आजभोलि मंगोलियन समुदायको मान्छेहरूले धेरैले चिम्सो आँखालाई लाम्चो बनाएका छन् । हामीले कुरा गरिसकेका धेरै जसो लाम्चो बनाउनेहरूले आफ्नो सोखका लागि बनाउनुभन्दा पनि अरूको जस्तै बनाउन मन लागेका बढी भेटिए । तर केही भने आफ्नो सोखका लागि पनि लाम्चो बनाउने भेटिए । 
कतिले रहरले, कतिले लहडले पनि बनाउने गरेका छन् । आँखाको सर्जरी गर्नेहरु बढ्दै गएको राष्ट्रिय ट्रमा सेन्टरका प्लास्टिक सर्जरी प्रमुख डाक्टर पियुष दाहालले बताए । उनले भने, ‘मंगोलियन समुदायका मान्छे हिजोआज आँखाको सर्जरी गर्न आउने गरेका छन् । जसमा पुरुषभन्दा महिला बढी छन् ।’ अहिले सम्म करिब २ सयजनाको सर्जरी गरिसकेका शुष्मा कोइराला मेमोरियल अस्पतालका  मेडिकल डाइरेक्टर एवं स्वस्ती लेजर एन्ड स्किन केयरका डाक्टर जश्वन शाक्यका अनुसार यसरी चिम्सो आँखा लाम्चो बनाउनेहरू हङकङ युके बस्ने नेपालीहरूले यता आएर बनाएर जाने गरेको बताए । 

कसरी बनाउने 

आँखाको अप्रेसन दुई प्रकारको हुन्छ । आँखाको ढकनी र तल्लो भाग । माथिको आँखा जसको मुन्द्री हुँदैन, त्यसको मुन्द्री बनाउने काम गरिन्छ । तल्लो आँखामा भने जसको बोसो जमेर रहेको हुन्छ त्यो भाग बोसो निकालेर फालिन्छ । आँखामुनितिर झोलिएको छालालाई टाइट बनाउने गरिन्छ । प्रायः उमेर बढ्दै जाँदा आँखाको उपल्लो भाग झोलिँदै जाने हुँदा ५० कटेका मानिसले यस प्रकारको सर्जरी गर्ने गरेको डाक्टर दाहालले बताए । 

चिम्सो आँखालाई लाम्चो पार्ने र आँखाको तलतिरको झोलिएको भागलाई तिनिक्क तन्काउने काम पनि गरिन्छ । आँखा लाम्चो बनाउनका लागि एकदेखि डेढ घण्टाको अप्रेसन गरिन्छ । त्यस्तै आँखाको मुनितिर झोलिएको भाग टाइट गराउने गरिन्छ । 

एकपटक बनाएपछि जिन्दगीभर बनाउनुपर्दैन । नेपालमा आँखासम्बन्धी सर्जरी सरकारी तथा निजी अस्पताल दुवैमा गर्ने गरिन्छ । 

कस्तो देखिन्छ 

तल्लो भाग र माथिल्लो भागको आँखाको अप्रेसन गरेपछि कोहीको  आँखा निकै नै सुन्दर देखिने गर्छ भने कसैको सोचेअनुरूप नहुने गर्छ । डाक्टर दाहालका अनुसार कतिपयको छाला अलिक फुस्रो हुने डल्लो परेर उप्किने हुने गर्छ त्यस्तो छाला छ भने सर्जरी सोचेअनुरूरप नहुने गर्छ । 

आफूले सोचेअनुरूप नभएपछि आँखा बिगारिदियो भनेर राष्ट्रिय ट्रमा सेन्टरमा आउने गरेको पनि दाहालले बताए । कुनै छालालाई फाप्ने तथा कुनै छालालाई नफाप्ने दाहालले बताए ।  

यसका फाइदा बेफाइदा 

चिम्सो आँखालाई लाम्चो बनाएर हुने फाइदा भनेको आत्मसन्तुष्टि मात्र हो । जुनसुकै सर्जरी पनि सामान्य नहुने डाक्टर दाहालको भनाइ छ । उनले भने,  ‘हेर्दा सामान्य हुन्छ तर जुन भागको सर्जरी गरे पनि इन्फेक्सन हुने उत्ति नै सम्भावना हुन्छ । त्यसैले यो सामान्य भन्ने चाहिँ हुँदैन ।’ 

कहिलेकाहीँ कसैलाई सर्जरी नफाप्ने पनि हुन्छ । जसले गर्दा अप्रेसन गरेको भाग चिलाउने, सुन्निने हुने गरेको डाक्टर शाक्यले बताए । 

आँखाको अप्रेसन निकै नै संवेदनशील हुने हुँदा अनुभवी र राम्रो डाक्टर छान्नुपर्ने हुन्छ ।  

यसको ट्रेन्ड 

विशेष गरेर मंगोलियन समुदाय, राई, लिम्बू, तामाङ, गुरुङ आदि समुदायले आँखा लाम्चो बनाउने ट्रेन्ड नै चलेको छ । विशेष गरेर बाहिर बस्ने नेपालीले यता आएर बनाउने गरेको डाक्टर शाक्यले बताए । सामान्य आँखालाई लाम्चो बनाउनेमा महिला बढी रहेको डाक्टर दाहालको अनुभव छ ।  

यसको खर्च 

‘यो माइनर अप्रेसन हो । खासै धेरै खर्च लाग्दैन ट्रमा सेन्टरका प्लास्टिक सर्जरी विभागका प्रमुख पियुष दाहालले भने माइनर अप्रेसनको १ हजारदेखि ३ हजारसम्म लाग्ने गरेको उनले बताए । 
सरकारीको तुलनामा प्राइभेटमा भने अलिक बढी खर्च लाग्ने गरेको छ । 

प्रकाशित: ३१ वैशाख २०७५ १०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App