८ वैशाख २०८१ शनिबार
अन्य

सानो लगानी मजबुत आम्दानी

सुचिता खनाल
अध्यक्ष, स्वेता सेक्युरिटिज प्रा.लि. पुतलीसडक, काठमाडौं

पछिल्लो समय नेपालमा सेयरको आकर्षण बढेर गएको छ । अधिकांश सर्वसाधारण, जसलाई सेयरका बारेमा चासो छ, उनीहरुलाई प्राथमिक सेयर र सेकेन्डरी सेयरका बारेमा पक्कै पनि जानकारी हुन्छ र हुनु पनि पर्छ । सेयर बजारमा कसरी किनबेच गर्ने भन्ने विषयमा भने निकै कमलाई थाहा छ ।

घटेको बेला जोखिम कम

सेकेन्डरी मार्केट भन्दा प्राइमरी मार्केटमा जोखिम कम हुन्छ । प्राइमरीमा जेखिम हुँदैन भन्दा पनि फरक पर्दैन । प्राइमरीको तुलनामा सेकेन्डरी मार्केटमा बढी जोखिम हुन्छ । त्यसैले सेयरमा लगानी गर्न चाहनेले  प्राइमरी मार्केटको सेयर नछोड्दा नै राम्रो । सेयर बजार घटेको बेला सेयर किन्यो भने सेकेन्डरी बजारमा पनि जोखिम कम हुन्छ । बजार घटेको समयमा सेकेन्डरी मार्केटको सेयर किन्नु राम्रो हो । पैसा छ भने सेयर घटेको समयमा सेयर किन्नु उपयुक्त हुन सक्छ । सधैँ एकनासले सेयरको भाउ घटिरहँदैन । केही समयपछि बढ्न थाल्छ । त्यसैले पैसा छ भने घटेको समयमा सेकेन्डरी मार्केटको सेयर किन्दा राम्रो हुन्छ ।  सेयरको भाउ घटेको समय भनेको सेयर किन्ने बेला हो । सेयरमा लगानी गर्ने बेला हो । बजार घटेको बेला सेयर किन्दा जोखिम कम हुन सक्छ तर बजार बढेको समयमा सेयर किन्दा जोखिम बढी हुन सक्छ । कहिलेकाहीँ घटेको समयमा दोस्रो बजारको एक कित्ता सेयरको सय रुपैयाँभन्दा कममा पनि किन्न पाइन सक्छ ।  

२०५० सालदेखिको मेरो अनुभवमा एक कित्ता दोस्रो बजारको सेयरको एक सय रुपैयाँ भन्दा कम मूल्यमा पनि खरिद–बिक्री गरेको अनुभव छ । 

लगानीको विविधीकरण 

सेयर पनि नगद जस्तै हो । भनेको समयमा खरिद बिक्री गर्न सकिन्छ । पैसाको आवश्यकता प¥यो भने तुरुन्त बिक्री गर्न पनि सकिन्छ । धेरै आय—आर्जन गर्ने परिवारका लागि सेयरको मार्केट घटेको समय अवसर हो । घटेको समयमा भनेको कम्पनीको सेयर भनेको भाउमा किन्न पाइन्छ । बढेको समयमा भनेको कम्पनीको सेयर किन्न गाह्रो हुन्छ । धेरै पैसा हुनेले पैसालाई विविधीकरण गर्न सक्छन् । सुन—चाँदी, घर जग्गा, ब्याङ्क, जलविद्युत, उद्योग, व्यापार लगायतमा लगानी गर्न सकिन्छ । जसमध्ये केही लगानी सेयरमा गर्दा राम्रै आय आर्जन हुन्छ । धेरै पैसा हुनेले विविध क्षेत्रमा पैसालाई लगानी गरेर जोखिम कम गर्न सक्छन् । 

थोरै आयमा लगानी गर्ने तरिका

एक हजार लगानी गरेर सेयर बजारमा प्रवेश गर्न सकिने भएकाले कम आय र कम समय भएका गृहिणी तथा परिवारले पनि सेयरमा लगानी गर्न सकिन्छ । थोरै आय भएका परिवारले सानो–सानो लगानीबाट सेयरमा प्रवेश गर्नुपर्छ । राम्रो कम्पनीको सेयर खरिद गर्न ब्रोकर कम्पनीमा गएर बुझ्न सकिन्छ । 
थोरै समय भएका गृहिणीले समय बचाएर सेयर कारोबार गर्न सक्छन् । बिहान घरको धन्दा सकेर ११ बजेबाट बेलुका तीन बजेसम्म सेयरको कारोबार गर्न सकिन्छ । यसरी सेयर कारोबार गर्दा बिहान–बेलुका घरको धन्दा गर्न भ्याइन्छ । बिहान बेलुका घरको धन्दा पनि भ्याइने दिउँसो चार घण्टा खट्दा पैसा पनि कमाउन सकिने पेसा हो यो । महिलाका लागि त झन यो पेसा अत्यन्तै राम्रो हो । 

पहिले—पहिले सेयर कारोबारमा महिलाको संख्या अत्यन्तै कम हुन्थ्यो । २०५० सालतिर एक दुईजना मात्रै महिला ग्राहक थिए । कमै महिलाले सेयर कारोबार गर्थे । फोनबाटै पनि सेयरको अर्डर दिन्थे, महिला । अहिले अवस्था फेरिएको छ । सेयरको कारोबार गर्ने महिलाको संख्या ह्वात्तै बढेको छ । मेरो कम्पनीमा कारोबार गर्ने गृहिणीले राम्रै आय—आर्जन गरेका छन् । राम्रै घर खर्च चलाउने पैसा कमाएका छन् । महिलाले सेयरको कारोबार गरेर राम्रै आयआर्जन गरिरहेका छन् । 

लगानी ५० हजार, कमाई १८ लाख

२०५०/०५१ सालमा मैले हिमालयन ब्याङ्कको ५० कित्ता सेयर पचास हजारमा किनी लगानी गरेकी थिएँ । पचास कित्तामा ५० हजार लगानी गर्दा १८ लाखसम्म भयो । एसबीआई ब्याङ्कको एक हजार लगानी गर्नेले करिब २७ हजारभन्दा धेरै कमाएका उदाहरण छन् । स्ट्यान्डर्ड चार्टर्डमा एक हजार लगानी गर्नेले पनि यस्तै कमाई गरेका छन् ।

पहिलो पटक सेयरको कारोबार

मेरो स्नातकको पढाई सकिएको थियो । छोरी स्कुल जान थालेकी थिई । दिनभर काम थिएन । केही गर्ने सोच आयो । श्रीमान्ले पनि काम गर्ने हौसला दिनु भयो । नेपाल स्टक एक्सचेन्जबाट ब्रोकरको वान्टेड निस्कियो । मैले पनि सेयर कारोबार गर्ने ब्रोकर लाइसेन्स पाएँ र सेयर बजारमा प्रवेश गरेँ । मैले त्यतिखेर करिब एक लाख २५ हजार डिपोजिट राखेँ । 

२०५० साल पौष २९ गतेबाट सेयरको कारोबार सुरु भयो । पहिलो दिन २÷३ वटा ब्रोकर कम्पनीले कारोबार गरेका थियौँ । पहिलोपटक गोरखकालीको सेयरको कारोबार गरेँ । दाइको साथीले गोरखकालीको सेयर बेचिदिन अर्डर गरे । त्यतिखेर बोर्डमा ‘मेरोमा यति..कित्ता सेयर छ’ भनेर भित्तामा टाँस्नु पथ्र्याे । अहिलेको जस्तो प्रविधि थिएन । गोरखकालीको सय कित्ता सेयर बेचिदिएँ । एक कित्ता सेयरको भाउ करिब एक सय २० रुपैयाँ थियो ।   

काम गर्दै जाँदा जनसम्पर्क बढ्दै गयो । विश्वास बढ्दै गयो । त्यतिखेर कारोबार गर्ने म एक्ली महिला थिएँ । धेरैले विश्वास गर्दै गए । मैले सेयरको कारोबार थालेपछि अहिलेसम्म पछाडि फर्किनु परेको छैन । कम्पनीबाट महिनामा दस लाखसम्म पनि कमाएको छु । अहिले मेरा नियमित ग्राहक नै करिब दुई सयको हाराहारीमा छन् । 

कमिसन 

कारोबारको रकमको आधारमा ब्रोकर कम्पनीले कमिसन लिन पाइन्छ । कमिसनबाटै ब्रोकर कम्पनीले कमाउने हो । धितोपत्र बोर्ड र नेप्सेले कमिसन निर्धारण गर्छन् । कारोबार गरेबापत कम्तिमा ०.४ प्रतिशत कमिसन लिन पाइन्छ भने बढीमा ०.६५ प्रतिशत लिन पाइन्छ । जति धेरै ठूलो रकमको कारोबार हुँदै जान्छ त्यति नै कमिसनको रेट पनि कम हुँदै जान्छ । जति थोरै रकमको कारोबार भयो त्यति धेरै कमिसन रेट हुन्छ । १० लाखभन्दा धेरै जति मूल्यको एउटा सेयरको कारोबार भए पनि ०.४ प्रतिशतभन्दा धेरै कमिसन लिइँदैन । २५/५० हजार मूल्यको सेयरको कारोबार भयो भने ०.६५ प्रतिशत कमिसन लिइन्छ । 

सेयर खरिद गर्ने तरिका 

प्राइमरी सेयर किन्न सेयर जारी भएको हुनुपर्छ । सेयर जारी भएपछि निश्चित प्रक्रिया अपनाएर सेयर किन्न सकिन्छ । प्राइमरी मार्केटमा सेयर पर्न पनि सक्छ, नपर्न पनि सक्छ । प्राइमरी मार्केटमा सेयर पर्ने नपर्ने निश्चिित हुँदैन । 

दोस्रो बजारको सेयर खरिद बिक्री गर्न पनि केही प्रक्रिया अपनाउनु पर्छ । सेकेन्डरी मार्केटको सेयर किन्दा ब्रोकरको माध्यमबाट किन्नु पर्छ । ब्रोकरको अफिसमा गएर सेयर किन्न चाहनेले केवाइसी फारम भर्नुपर्छ । डिम्याट खाता अनिवार्य रुपमा हुनुपर्छ । डिम्याट भनेको ब्याङ्कमा पैसा जम्मा गरेजस्तै हो । सेयर जम्मा गर्ने एक किसिमको खाता हो । डिम्याटलाई निक्षेप प्रणाली पनि भनिन्छ ।  

नागरिकताको फोटोकपी चाहिन्छ । फोटो चाहिन्छ । किन्ने व्यक्ति स्वयं उपस्थित हुनुपर्छ । सेयर किन्न अर्डर फारम भर्नुपर्छ । किन्न चाहेको कम्पनीको सेयर संख्या उल्लेख गर्नुपर्छ । अर्डर दिएपछि ब्रोकर कम्पनीले किन्दिन्छन् । नयाँ ग्राहकले केही एड्भान्स पनि छोड्नु पर्छ । यसरी चाहेको कम्पनीको सेयर किन्न सकिन्छ । 

राम्रो कम्पनी कसरी थाहा पाउने ?

राम्रो कम्पनीमा लगानी गर्दा घाटा हुँदैन । दस कित्ता मात्रै पनि लगानी गरेर छोड्दा भविष्यमा फाइदा हुन्छ । जुन कम्पनीले हरेक वर्ष कति ब्याज दिएको छ ? कति  बोनस लगायतको लाभांश बाँडेको छ ? यी कुरा हेरेर लगानी गर्नुपर्छ । लगानी गर्दा फाइदा मात्र हुन्छ भन्ने हुँदैन, त्यसैले विचार गरेर लगानी गर्नुपर्छ । 

विद्यार्थी र नाबालकको लगानी

विद्यार्थी तथा नाबालकले पनि सेयर खरिद—बिक्री गर्न सक्छन् । नाबालकले अभिभावक संरक्षक भएर सेयर कारोबार गर्न सक्छन् । नव प्रवेशीले प्राइमरी सेयरमा लगानी गर्दा नै राम्रो । 

अहिले सेयरको खरिद गर्न स्कुले विद्यार्थी पनि आउन थालेका छन् । उनीहरुले सेकेन्डरी मार्केटको सेयर किन्छन् । मैले देख्दा स्कुले विद्यार्थीले १०÷१० कित्ता किनेको देख्छु । 

सेयर खरिद गर्न दैनिक एक दुई जना विद्यार्थीले आएको देखिन्छ । विद्यार्थीले स्कुलमा खाजा खान लगेको पैसा बचाएर सेयरमा लगानी गर्न सक्छन् । दैनिक तीस रुपैया खाजा खाने पैसा छ भने दैनिक दस रुपैयाँ बचाउन सकिन्छ । दैनिक दस रुपैयाँ बचायो भने महिनामा तीस रुपैयाँ हुन्छ । मोबाइलमा कम खर्च गरेर पैसा बचाएर पनि विद्यार्थीले सेयरमा लगानी गर्न सक्छन् । आज एक हजार लगानी ग¥यो भने दस वर्षपछि बढेर दुई लाख पनि हुन सक्छ । जसले उच्च शिक्षाका लागि सहयोग गर्छ । त्यति मात्र हैन, आज विद्यार्थीले केही पैसा बचाएर सेयरमा लगानी ग¥यो भने भविष्यमा त्यही पैसाले अन्य काम पनि गर्न सकिन्छ । 

सेयर बजारको जोखिम र अवसर

सेयर घाटा र नाफाको कारोबार पनि हो । यस क्षेत्रमा पनि जोखिम नै नहुने भन्ने हुँदैन । यदि आफूले लगानी गरेको कम्पनी घाटामा गयो भने त्यसको भागेदार लगानीकर्ता पनि हुन्छ । कम्पनी फाइदामा गयो भने फाइदाको भागेदार पनि लगानीकर्ता नै हुन्छ । यसर्थ कम्पनी फाइदामा जाँदा लगानीकर्ता पनि लाभान्वित हुन्छन् । कम्पनी घाटामा जाँदा लगानीकर्तालाई पनि घाटा हुन्छ । 

सेयर राष्ट्रको अर्थतन्त्रको ऐना हो । मेरुदण्ड हो । सेयर बजारमा भएको उतारचढावले राष्ट्रको अर्थतन्त्र कस्तो छ भन्ने बारेमा संकेत गर्छ । सेयर बजारमा लगानी गर्नेले घाटा र नाफाको भागेदारी हुन पनि तयार हुनुपर्छ । सेयरमा लगानी गरेर सधैँ फाइदा हुन्छ भन्ने पनि हुँदैन सधैँ घाटा हुन्छ भन्ने पनि हुँदैन । आफूले लगानी गरेको कम्पनी घाटामा गयो भने लगानीकर्ताले पनि घाटा व्यहोर्नु पर्छ भने कम्पनी फाइदामा गयो भने लगानीकर्ताले पनि कमाउँछन् । 

ब्याङ्किङ तरलताले पनि सेयर मार्केटमा प्रभाव पार्छ । सानो समाचारले पनि सेयर बजारमा असर गर्न सक्छ । राजनीतिक परिवर्तनले पनि असर गर्न सक्छ । 

सेयरको भविष्य उज्ज्वल 

अहिलेको बजारमा सेयरमा लगानी गर्ने हो भने दुई वर्षपछि राम्रै फाइदा हुन्छ । घरबाटै कारोबार गर्ने प्रविधिको पनि विकास भैरहेको छ । ब्रोकर कम्पनीले नै सेयरमा लगानीकर्तालाई ऋण दिने सिस्टम पनि सुरु हुने अवस्था छ । ब्रोकर कम्पनीले ठाउँठाउँमा शाखा विस्तार पनि गरिरहेका छन् । नेपालमा लगानीको वातावरण बढिरहेको छ । पहिले सबै क्षेत्रमा ब्याङ्किङ सेवाको पहुँच थिएन आज ब्याङ्कको पहुँच बढ्दो क्रममा छ ।  नेपालमा सेयर बजारको त्यति जोखिम देखिँदैन । हाइड्रोपावरले पनि गाउँगाउँमा सेयर पु¥याएका छन् । हाइड्रोपावर बढिरहेका छन् । पछिल्लो राजनीतिक अवस्थाले देशमा स्थायित्व हुने देखिएको छ । यस्तो अवस्थामा उद्योगधन्दा बढ्छन् । आर्थिक गतिविधि तीव्र हुन्छ र सेयरबारे जनचेतना अझ फैलिन्छ । फेरि प्रविधिको विकासले कारोबारमा पनि सहज हुन थालेको छ । यो पेसा बुढेसकालमा समेत काम गर्न सकिने पेसा हो । अहिले थोरै रकम लगानी गरेर बुढेसकालमा राम्रै आम्दानी गर्न सकिन्छ ।  त्यसैले पनि भन्न सकिन्छ, नेपालमा सेयरको भविस्य उज्ज्वल छ । 

गाउँमा सेयर

हाइड्रोपावरले पनि गाउँमा सेयरका बारेमा चेतना बढाएका छन् । कतिपय हाइड्रोपावरले गाउँका जनतालाई धनी बनाएका छन् । उदाहरणको रुपमा चिलिमे जलविद्युत आयोजनालाई लिन सकिन्छ । ब्रोकर, धितोपत्र बोर्ड, नेप्सेले पनि गाउँका जनतामा सेयरका बारेमा चेतना फैलाइरहेका छन् । 

ग्रामीण भेगमा पनि ब्रोकर कम्पनी पुग्न थालिसकेका छन् । ग्रामीण भेगमा पनि ब्याङ्क, यातायात, सूचना तथा सञ्चारको विस्तार गरेर सेयरको बारेमा चेतना जगाउनु पर्छ । सेयरमा लगानीको वातावरण बनाउनु पर्छ । ग्रामीण भेगमा छरिएर रहेको साना रकमलाई सेयरमा लगानी गरेर ग्रामीण परिवारको जीवनस्तर उकास्न सकिन्छ । दुर्गम गाउँबाट थोरै सेयरको कारोबार गर्न सहरमा आउन सम्भव हुँदैन । त्यसैले गाउँगाउँमै सेयरको कारोबार गर्ने वातावरण बनाउनुपर्छ । सबै क्षेत्रका जनतामा ब्याङ्क तथा सेयरको पहुँच पु-याउनु पर्छ ।

(खनालसले उपेन्द्र खड्कासँग गरेको कुराकानीमा आधारित)

प्रकाशित: ३१ वैशाख २०७५ १०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App