१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सांसद थरुरमाथि पत्नी मृत्युको अभियोग

सांसद शशी थरुर सँगै स्वर्गीय सुनन्दा पुस्कर । फाइल तस्बिर : बिबिसी

नयाँ दिल्ली-भारतीय सांसद एवं राष्ट्रसंघका पूर्वकूटनीतिज्ञ शशी थरुरमाथि सन् २०१४ मा उनकी पत्नीले गरेको आत्महत्यामा सहयोग गरेको अभियोग लागेको छ।

व्याख्या नगरिएको सांसद् थरुरकी पत्नी सुनन्दा पुस्करको मृत्युलाई सुरुमा आत्महत्याका रूपमा लिइए पनि प्रहरीले पछि उनको आत्महत्या नभई हत्या भएको बताएको थियो । प्रहरीले हत्या भने पनि हत्यामा संलग्न संदिग्धको नाम भने सार्वजनिक गरेको थिएन । तर अहिले आएर दिल्ली प्रहरीले थरुरले आफ्नी पत्नीमाथि आत्महत्या गर्न उक्साएको र अत्याचार गरेको अभियोग लगाएको छ । दिल्ली प्रहरीले महिलामाथि अत्याचार तथा आत्महत्या गर्न उक्साउनेविरुद्धको कानुनी प्रावधानअन्तर्गत थरुरमाथि अभियोग लगाएको जनाइएको छ।

सामाजिक संजाल ट्विटरमा सन्देश राख्दै कांग्रेस आईका नेतासमेत रहेका थरुरले उनीमाथि लागेका नचाहिँदा अभियोगको जोडदार प्रतिवाद गर्ने जनाएका छन् । ‘सुनन्दालाई चिन्ने कसैलाई पनि उनले आत्महत्या गर्लिन भनेर विश्वास लाग्दैन र त्यसमा मैलै सघाएको भन्ने त कुरै आउँदैन,’ उनले गरेको ट्विटमा जनाइएको छ ।‘प्रहरीको चार वर्षभन्दा पनि लामो अनुसन्धानपछि यदि यस्तो निष्कर्ष आएको छ भने यसले दिल्ली प्रहरीको अनुसन्धान प्रक्रिया वा नियतबारे केही राम्रो बताउँदैन,’ थरुरले गरेको ट्विटमा लेखिएको छ।

‘सन २०१७ को अक्टोबरमा कानुनसम्बन्धी एक अधिकारीले दिल्ली उच्च अदालतमा दिएको बयानमा दोषी ठहर गर्न उनीहरूले कसैका विरुद्ध केही पनि प्रमाण फेला नपारेको बताएका थिए र अब ६ महिनापछि उनीहरूले नै मैले आत्महत्या गर्न उक्साएको बताएका छन् । अविश्वसनीय ! थरुरले गरेको शृंखलाबद्ध ट्विटमा लेखिएको छ ।भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेसको सांसदसमेत रहेका थरुरले दुबई आधारित व्यापारी पुस्करसँग सन् २०१० मा विवाह गरेका थिए । पुस्कर सन् २०१४ को जनवरी महिनाको १७ तारिखमा राजधानी नयाँ दिल्लीस्थित एक पाँच तारे होटलमा मृत भेटिएकी थिइन् ।

उनको मृत्युको कारणबारे हालसम्म स्पष्ट नभइसकेको बिबिसीले जनाएको छ । उनको मृत्युपछि गरिएको पहिलो पोस्टमर्टम रिपोर्टअनुसार उनको मृत्यु ड्रग्सको ओभरडोजका कारण भएको हुनसक्ने उल्लेख गरिएको थियो । उनी नियमित औषधी सेवन गर्ने गर्थिन् भन्ने विवरण पनि बाहिरिएको थियो । त्यसपछिका रिपोर्टमा भने उनको मृत्युको कारण विष र उनको शरीरमा सुइँको डोबसमेत भएको विवरण सार्वजनिक भएका थिए । एउटा रिपोर्टका अनुसार त उनको हत्केलामा गहिरो टोकाइको संकेतसमेत देखिएको बताइएको थियो।

पुस्करको मृत्यु हुनुभन्दा अघि ट्विटरमा आएको शृंखलाबद्ध ट्विटमा थरुरको पाकिस्तानी पत्रकारसँग प्रेमसम्बन्ध रहेको विवरण सार्वजनिक भएपछि थरुर दम्पतिबीच विवाद चर्किएको थियो । तर केही समयपछि अनाधिकृत रूपमा आएका ट्विटले शंका उत्पन्न गराएको आरोप लगाउँदै पुस्कर र थरुर दुवैले आफ्नो वैवाहिक सम्बन्ध अत्यन्तै सुमधुर रहेको जिकिर गरेका थिए । २५ वर्ष कूटनीतिज्ञका रूपमा कार्य गरेका थरुरले अन्डर सेक्रेटरी जनरलका रूपमा संयुक्त राष्ट्रसंघको सञ्चार तथा सार्वजनिक सूचना विभागमा काम गरेका थिए।

सन् २००७ मा संयुक्त राष्ट्रसंघको महासचिव पदका लागि भएको निर्वाचनमा उनी दक्षिण कोरियाली नागरिक बान कि–मुनसँग पराजित भएका थिए । बानसँग पराजित भएपछि थरुरले संयुक्त राष्ट्रसंघबाट अवकाश लिएको घोषणा गरेका थिए । त्यसपछि सन् २००९ मा उनी भारतीय राजनीतिमा प्रवेश गरे पनि क्रिक्ट टिमका लागि भएको बिडिङमा संलग्न रहेको भन्ने विवादित विषयका कारण उनले पाएको पहिलो मन्त्रीस्तरीय पदबाट राजीनामा दिन बाध्य भएका थिए । उनी सन् २०१२ मा मानव शंसाधन विकास राज्यमन्त्रीका रूपमा नियुक्त भएका थिए।
 

प्रकाशित: १ जेष्ठ २०७५ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App