८ वैशाख २०८१ शनिबार
विचार

मोदी भ्रमणका पाँच उद्देश्य

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपाल भ्रमणका क्रममा विकासका अनेकन् सपना बाँडे पनि नेपाली युवालाई भने उनले सन्दीप लामिछामेको ‘इन्डियन क्रिकेट लिग’ सँगको आबद्धतालाई लिएर दिएको अभिव्यक्ति आकर्षक लाग्यो। प्रम मोदीले नेपालमा सन्दीपको नाम लिनु रदिल्ली डेयरडेभिल्सको होमग्राउन्डदिल्लीमै त्यही दिन सन्दीपलेखेल्न पाउनु संयोग नै भयो । भारतका प्रम मोदी सन्दीप लामिछानेलाई प्रमोट गर्न र रामायण सर्किट उद्घोष गर्नमात्र नेपाल आएका होइनन्। मोदीका देखिने नदेखिन राजनीतिक अजेन्डा थिए । के थिए होलान् भारतीय प्रम मोदीका अजेन्डा? भारतका प्रम मोदीको घोषित÷अघोषित पाँच अजेन्डा थिए नेपाल भ्रमणबारे भन्ने मेरो अनुमान छ। यी अजेन्डालाई क्रमशः छलफल गरिन्छ :

धार्मिक यात्रुका रूपमा
मोदी हिन्दु धर्मप्रति अगाध आस्था भएका व्यक्ति हुन्। हिन्दु राष्ट्र निर्माणका लागि गठित राष्ट्रिय स्वयम्सेवक संघका उनी प्रचारक थिए युवाकालमा। मठ र मन्दिरको पूजा पद्धतिप्रति प्रम मोदीको अगाध आस्था र विश्वास कसैबाट लुकेको छैन। झण्डै चार वर्षअगाडि प्रम मोदीको पूजा विधिमा विध्नबाधा भयो नेपालमा । उनी जनकपुरधाम र मुक्तिनाथ जान पाएनन् । भ्रमणको निश्चित अवस्थाबाट उनी पछाडि फर्कन बाध्य भए । प्रम मोदीको जीवन दर्शनको उल्टो चक्र त्यही समय नेपालबाट सुरु भयो।

खासगरी नेपालका प्रम ओलीलाई अनेकन् प्रकरणबाट इन्गेज गरी चीनसँग टाढा राख्नु मोदीको वर्तमान नेपाल भ्रमणको अभियान हो भनी सहजै बुझ्न सकिन्छ।

भारतका प्रम मोदी विपक्षी भारतीय कांग्रेसलाई ललकार्दा चौसठ्ठी इन्चको छाती चाहिन्छ भनी हुँकार गर्न सक्छन् तर तिनै मोदी हिन्दु सांस्कृतिक जीवन दर्शनमा आउने सामान्य बाधाबाट पनि त्रसित हुनेगर्छन्। मोदीको नेपाल भ्रमणको उद्देश्य पूजापद्धति अगाडि बढाएर आफ्नो भावी राजनीतिक यात्रामा विध्नबाधा नहोस् भन्ने आयामसँग पनि जोडिएको हुनसक्छ । मोदी धार्मिक यात्रु नै भएर मात्र आएका हुन् भने पनि उनको यो यात्राले नेपालको धार्मिक पर्यटनलाईनिश्चित सहयोग पु-याउने छ।

प्रम मोदीको भ्रमण जनकपुरधाममा मात्र सीमित रहेको भए के हुन्थ्यो ? निसन्देह एउटा निश्चित सांस्कृतिक समूहसँगको ‘अति लगाव’ लाईसमर्थन दर्शाउँथ्यो होला प्रम मोदीको। संभवतः त्यसबाट मधेसीका नाममा राजनीति गरिरहेका केही समूह हौसिन पनि सक्थे । तर मोदीहिमाल, पहाड र तराई धार्मिक यात्रु भएर पुगे र ती ठाउँमा सहयोग गर्ने वचन पनि दिए। उनको सहयोगको घोषणाले ताली बज्छ र सहयोग कहिले आउँदैन भन्ने मान्यता राख्छ।

भाजपा र मोदी भ्रमण
भारतीय प्रधानमन्त्री मोदीकोराजनीतिक दल भारतीय जनता पार्टी(संक्षिप्तमा भाजपा) को दक्षिण एशिया हेर्ने दृष्टिकोण विगतको भारतीय कांग्रेसको भन्दा नित्तान्त नौलो छ, फरक छ । हिन्दुहरूको देश र विगतको हिन्दुराष्ट्र नेपाल भन्ने मान्यता भाजपा र यसका भगिनी संस्थाहरूले अझै समाएर बसेका छन्, बिर्सिन सकेका छैनन्।

सत्तारुढ भाजपा र यसका कैयन् हिन्दुवादी हाँगाहरू नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको पटक्कै रुचाउँदैनन् । कम्युनिस्टर क्रिस्चियन दबाबका कारण नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेको हो भन्ने भाजपा भगिनी संस्थाको मान्यता छ। यी दुवै दबाबलाई कसरी नेपालबाट रिलिज गर्ने भन्ने टाउको दुखाइ पनि भाजपाभित्र चिन्तनको विषय हुने गर्छ धेरैपटक । भाजपालाई कम्युनिस्टर क्रिस्चियन मात्र टाउको दुखाइ थिएन, नेपालमा बढ्दो मुसलमान जनसंख्या र मदरसाहरू पनि धेरै पहिलेदेखि अरुचिको विषय थियो।

भारतका प्रम मोदीको नेपाल भ्रमण विगतको गल्ती सच्याउने र नेपालको भूराजनीतिलाई आफ्नो अनुकूल बनाउने प्रयत्नमा छन् यतिखेर। भारत नेपालसामु नयाँ ढंगले प्रस्तुत हुने थिएन होला यदि चीन विश्वशक्ति भएर नउदाएको भए। भारतको कोर्स करेक्सन पनि सम्भव थिएन होला यदि नेपालका कम्युनिस्टहरूले नाकाबन्दीको समय चीनसँग कनेक्टिभिटी नबढाएको भए।

भाजपाको विचार र कार्यकर्ता निर्माण गर्ने कारखाना राष्ट्रिय स्वयम्सेवक संघलाई मानिन्छ । संघ परिवारको नेपाल हिन्दु राष्ट्र हुनपर्छ भन्ने अजेन्डा कसैबाट लुकेको छैन । भारतका प्रम मोदीलाई संघ परिवारले नेपालको संविधान जारी हुँदा हिन्दु राष्ट्र राख्न दबाबदिएको बुझिन्छ । तर मोदी असफल भए।

नेपालको जनकपुरधामबाट भारतका प्रम मोदी जब ‘जय श्री राम, जय श्री राम’भनी हजारौँ मधेसबासीबीचबाटनारा लगाउँदै थिए त्यो नाराको गुँज बिहार र उत्तर प्रदेशसम्म पठाउने उनको योजना थियो। र, त्यो गुँजको सन्देश यात्रा सुरु पनि भयो जनकपुर अयोध्या बस यात्राबाट। संस्कृतिकोसीमा हुँदैन भनिन्छ । नेपाल–भारत संस्कृतिको सीमा छैन भन्ने सन्देशमात्र मोदीले जनकपुरमा दिएनन्, जय श्री रामको नाराबाट सम्पूर्ण उत्तर भारतमा सन् २०१९ को चुनावी अभियान सुरु पनि गरे।

नेपालको भूराजनीति
नेपालको भूराजनीतिको इतिहास, परिभाषा, प्रभाव र महत्वबारे यो संक्षिप्त लेखमा सम्भव छैन। अग्रजी शब्दकोशमा ‘जियोपोलिटिक्स’ धेरै पछि जोडिन आए पनि काठमाडौँ उपत्यकाको अर्थराजनीतिमाथि भूगोलको प्रभाव नेपाल निर्माण हुनुभन्दा अगाडिदेखिकै हो । कुनै पनि देशको अर्थराजनीति त्यसको भूअवस्थितिले निर्धारण गर्छ भन्ने मान्यता छ । आफ्नो देशकोकम क्षति भएर बढी फाइदा लिनसक्नुलाई भूराजनीतिको उच्चतम आदर्श विन्दु मानिन्छ । त्यस्तै भूगोलले राज्यको चरित्र निर्माण गर्न सहयोग गर्छ र स्थापित राज्यको चरित्र परिवर्तन गर्न पनि भूगोल सहायक मानिन्छ।

नेपालको संविधान जारी हुने समय नेपाल राज्यको चरित्रमा परिवर्तन भयो । नेपाल राज्यको चरित्र परिवर्तनको क्रम यहीँ रोकिएन । जब भूकम्प आयो र भारतले नाकाबन्दी ग-यो, त्यसले संविधान जारी हुँदा सुरु भएको राज्यको चरित्र परिवर्तन प्रक्रियालाई तीव्र बनायो जनस्तरबाटै। परिवर्तित नेपाल राज्यको चरित्रलाईनाकाबन्दीले नयाँ उचाइमा पु-यायो। नेपालमा भएको तीन तहको आमनिर्वाचनमार्फत जनताले नयाँ राज्यको चरित्र फेरे । कम्युनिस्ट गठबन्धन निमित्त नायक भयो।

यही समय नेपालको भूराजनीतिमा भारत पछाडि पर्दै थियो अर्थात भारतका प्रम मोदी नेपाली जनताको ‘भिलेन’ हुँदै थिए । र,चीनको नेपालको भूराजनीतिमा स्वतः पकड बलियो हुँदै थियो । प्रम मोदी नेपालको अवस्थिति, शक्ति, सम्पत्ति र सम्बन्धबारे भारत निर्विकल्प देश हो भनी बुझ्दै थिए, यो त्यही कालखण्ड थियो जब नेपाल निर्विकल्प भारतको विकल्प छ भनी उत्तरतिर विश्वास र भरोसा बढाउँदै थियो।

भारतका प्रम मोदीको नेपाल भ्रमण विगतको गल्ती सच्याउने र नेपालको भूराजनीतिलाई आफ्नो अनुकूल बनाउने प्रयत्नमा छन् यतिखेर । भारत नेपालसामु नयाँ ढंगले प्रस्तुत हुने थिएन होला यदिचीन विश्वशक्ति भएर नउदाएको भए । भारतको कोर्स करेक्सन पनि सम्भव थिएन होला यदि नेपालका कम्युनिस्टहरूले नाकाबन्दीको समय चीनसँग कनेक्टिभिटी नबढाएको भए।

नेपाल र भारत एैतिहासिक, सामाजिक, सांस्कृतिक र राजनीतिक कारणले नजिक छन् तर नेपाल–चीन सम्बन्धको आयाम फरक छ र यो भविष्यउन्मुख छ । चीनसँगको साझेदारी र भविष्य निर्माण भरोसायोग्य र विश्वसनीय छ भन्ने नेपाली जनताको बुझाइ छ। यसरी नेपालको भूराजनीतिको कारण राज्यको चरित्रमा बितेका केही वर्षदेखि परिवर्तन आएको छ । तर यसको टिकाउपनमा सन्देह छ र चुनौतीले भरिएका छन्।

वाम सरकार र भारतको चिन्ता
नेपालमा भारत विरोधी भावनाको जग धेरैअगाडिदेखि निर्माण भएको हो। यसो हुनुमा भारत स्वयम्को कारण जति धेरै छन्, नेपालमा लामो समय रहेको वंशसत्ताको भूमिका पनि कम छैन । तर जबसम्म नेपालमा शाह, राणा र कांग्रेसले निर्माण गरेको राज्यको चरित्र थियो भारतलाई खासै टाउको दुखाइ थिएन। भारतले त्यतिखेर आफ्नो सुरक्षा संवेदनशीलतामा उत्तरबाट खतरा अनुभव ग¥यो जब नेपालमा तलदेखि माथिसम्मै कम्युनिस्टहरूको सरकार निर्माण भयो। यो अवस्था भनेको नेपालको वर्तमान अवस्था हो।

नेपालमा कम्युनिस्ट गठबन्धनको सरकार निर्माणपछि भारतमा मोदी सरकारमात्र होइन, आमभारतीय पनि नेपालमा चीन समर्थित सरकार निर्माण भएको विश्वास गर्छन्। अझै नेपालमा चीनको साक्षात उपस्थिति भएको अनुमान लगाउने भारतीयहरूको पनि कमी छैन । भारतको राष्ट्रिय राजनीतिमा पनि किन नेपाल चीनको पोल्टामा गयो भनी चर्चा छ। र, यो प्रकरणमा प्रम मोदी दोषी देखिएका छन् भारतभित्रै पनि।

नेपालमा नाकाबन्दी र मधेस आन्दोलनलाई उचालेर नेपाल–भारत सम्बन्ध बिगारे भन्ने आरोप यतिखेर भारतीय राजनीतिमा प्रम मोदी खेप्दैछन्। नेपालमा कम्युनिस्ट सरकार वन्ने आधार मोदीको कूटनीतिक असफलताको कारण हो भनी भारतीय राजनीतिको निष्कर्ष पनि देखिन्छ । यतिखेर प्रम मोदीले नेपालसँग बिग्रेको सम्बन्ध सुधार्न भन्दा पनि नेपालका कम्युनिस्टहरूसँग सम्बन्ध सुधार्न बढी ध्यान केन्द्रित गरेको देखिन्छ। अझ खासगरी नेपालका प्रम ओलीलाई अनेकन् प्रकरणबाट इन्गेज गरी चीनसँग टाढा राख्नु मोदीको वर्तमान नेपाल भ्रमणको अभियान हो भनी सहजै बुझ्न सकिन्छ।

अब प्रश्न छ, के प्रम मोदी नेपालको कम्युनिस्ट सरकारसँग कोर्स करेक्सन गरी नेपाल–भारत सम्बन्धलाई विश्वास र भरोसाबाट अगाडि बढाउन सफल भए? नाकाबन्दीसम्बन्धी रियलाइजेसन भएको सन्देश प्रवाह गर्न भारतका प्रम मोदीले चाहेनन् । यो उनको कूटनीतिक असफलता नै हो नेपालसँग। तर नेपालका प्रम ओलीले भने भारतबाट अब नाकाबन्दी नहुने भनी नेपालको संसद्सामु बोले। प्रम ओलीलाई भारतका प्रम मोदीको प्रवक्ता बन्नुपर्ने केही कारण थिएन । प्रम ओलीको अभिव्यक्तिले मोदी नेपालमा कम्युनिस्ट राष्ट्रवादलाई मात्र होइन, कम्युनिस्ट एकतालाई नै भत्काउने ‘घोस्ट अजेन्डा’ लागुगर्न सफल भएको देखियो यतिखेर।

सन् २०१९ को भारतीय आमनिर्वाचन
आगामी वर्ष भारतमा लोकसभाको निर्वाचन छ। भारतका प्रम नरेन्द्र मोदीका लागि बिहार र उत्तरप्रदेशको चुनावमा हिन्दुकार्ड अगाडि नबढाइ चुनावी लहर ल्याउन गाह्रो छ । हिन्दुकार्ड प्रयोग गर्ने थलो अयोध्याको रामजन्मभूमि विवादलाई भाजपाले बनाउँदै आएको छ विगत तीन दशकदेखि। तर यतिखेर भारतभित्रका अनेकन् राजनीतिक र कानुनी दबाबका कारण प्रम मोदीलाई भावी निर्वाचनमा हिन्दुकार्डका रूपमा रामजन्मभूमिलाई प्रयोग गर्न सहज छैन, गाह्रो छ। यही प्रकरणलाई जीवन्त पार्न ‘रामायण सर्किट’ र ‘जनकपुर अयोध्या’ वस सेवा प्रम मोदीमार्फत अगाडि आयो उनको नेपाल भ्रमणमा।

भारतका प्रम मोदीले चुनावी भाषण जस्तै गरेर जनकपुरबासीलाई मोहित पारे। उनले विकासको उधारो आश्वासन फेरि पनि दिए । तर मोदीको चुनावी रथ विकास भाषणले मात्र आगडि बढ्दैन भन्ने कुरा भारतका प्रम मोदीलाई राम्ररी थाह छ। त्यसैले उनले धार्मिक भावना जोड्ने उक्ति निकाले र सफल पनि भए।

राम र सीताको नाम भजाएर राजनीति गर्ने चलन भारतमा आजको होइन । नेपाल–भारत सीमामा भारततर्फ हिन्दु धर्मप्रति अगाध आस्था राख्ने करोडौँ भारतीय छन् । ती भारतीयलाई अयोध्या टाढा छ झण्डै पाँच सय किलोमिटर। तर जनकपुर नजिक छ धार्मिक आस्थाको केन्द्रका रूपमा । नेपालसँगको सम्बन्धमा सुधार र हिन्दुकार्डले भाजपालाई उत्तरपूर्वी क्षेत्रकाभारतीय जनता रिझाउन सजिलो हुन्छ । मोदी यो कार्य गर्न सफल भए। हो, मोदीको भ्रमणले नेपालको धार्मिक पर्यटन बढाउन भने मद्दत गर्नसक्छ।

अन्तमा,
धर्म विरोधी कार्ल माक्र्स, लेनिन र माओ विचारबाट राजनीतिक यात्रा गरेका नेपालका प्रम ओलीको केमिस्ट्री र हिन्दु धर्मप्रति अगाध आस्थाबाट भारतको प्रम भएका नरेन्द्र मोदीको बडी ल्याङ्गवेज नेपाल भ्रमण अवधिभर सहज थिएन। यस्तो असहजता किन थियो भनी बुझ्न कोठाभित्र भएका यी दुईको वार्तालाप बाहिर आउनुपर्छ । अहिलेलाई भारतका प्रमले नेपाल भ्रमण गरी राहत पाएका होलान् आफ्नो देशभित्र। नेपालका प्रम ओली चाँडो चीन भ्रमण गरी मोदी भ्रमणलाई नेपाली जनमानसको आँखाबाट अ‍ोझेल पार्नमा रुचि राख्दा हुन्।

प्रकाशित: १ जेष्ठ २०७५ ०५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App