८ वैशाख २०८१ शनिबार
अन्य

किशोर–किशोरीलाई कसरी बुझ्ने ?

धेरैजसो किशोर–किशोरी बाल्यावस्थाबाट किशोरावस्थामा प्रवेश गरेपछि पहिलेको भन्दा फरक किसिमको बानी व्यवहार देखाउन थाल्छन् । जस्तो कि तपाईंसँग नजिक हुने ती छोराछोरी उमेर बढेसँगै टाढिँदै जान्छन् । तिनीहरु कम बोल्ने, अप्ठ्यारो मान्ने, भनेको नमान्ने, जान्ने बुझ्ने टोपलिने, पढ्न खासै मन नगर्ने साथीभाइसँग धेरै नजिक हुने, लागूऔषधमा फस्ने पनि हुन सक्छन् । कतिपय अवस्थामा अभिभावकले सानातिना कुरामा ध्यान नदिँदा उनीहरु बिग्रन पनि सक्छन् । किशोरावस्था जीवनको सबैभन्दा महत्वपूर्ण पाटो हो । यो उमेरमा उनीहरुले जे जस्तो कुरा सिक्छन् त्यसले पछि समग्र जीवनमै असर पारेको हुन्छ ।

अधिकांश किशोर–किशोरीले आधाभन्दा बढी समय विद्यालयमै बिताएका हुन्छन् । भनिन्छ विद्यालय बच्चाको दोस्रो घर पनि हो । अझ कतिपय विद्यार्थीलाई त होस्टलमा बस्नुपर्ने बाध्यता पनि हुन्छ । कामको फुर्सद नहुँदा, बाबुआमाले सन्तानलाई प्रशस्त समय दिन पाइरहेका हुँदैनन् । त्यो उमेरमा आफ्ना सन्तानको हेरविचार कसरी गर्ने त ? के कारणले उनीहरु नराम्रो लतमा पनि पर्छन् त?

शारीरिक, मानसिक तथा संवेगात्मक परिवर्तन 

२४ वर्षदेखि ९ र १० कक्षामा पढाउँदै आएका विजय स्मारकका शिक्षक डिल्ली शर्माका अनुसार किशोरावस्थामा ३ किसिमको परिवर्तन हुने गर्छ, ती हुन् : शारीरिक, मानसिक र संवेगात्मक । पहिलो शारीरिक परिवर्तन जसमा प्रजनन अङ्गको विकास हुने हर्माेनको विकास हुने हुन्छ । यस्तो परिवर्तनमा उनीहरुको शारीरिक विकास भएसँगै मानसिक तथा संवेगात्मक  परिवर्तन पनि आउँछन् । केटीहरुमा रजस्वला हुने, सेक्सुअल टाइपको सपना देख्ने हुन्छ । जसका कारण उनीहरु दाजु–भाइ बुबा तथा शिक्षकहरुसँग टाढिन थाल्छन् । उनीहरुमा एक किसिमको भय हुन्छ । कतिपय किशोरीहरु महिनावारी भएको बेलामा बढी पीडा भएको अनुभव गर्छन्  र लागूऔषधमा पनि फस्न सक्छन् । त्यतिबेलाको समयमा उनीहरु अत्यन्तै जिज्ञासु स्वभावका हुन्छन् । जुनसुकै विषयमा पनि गर्न हुन्न भनेको काम गर्दा के हुन्छ भन्ने जिज्ञासाका कारण उनीहरु जस्तोसुकै गलत काम पनि गर्न पुग्छन् । केटाहरुमा पनि हर्माेनको विकासले बोली धोद्रिने, मानसिक रूपमा परिवर्तन आउने, स्वप्न दोष हुने हुन्छ । जसले गर्दा उनीहरु दिदी–बहिनी आमासँग अलि टाढा भएजस्तो हुन्छन् । ३० वर्षदेखि ग्यालेक्सी स्कुलमा अध्यापन गराउँदै आएकी कप्पु अधिकारी भन्छिन्, ‘यो उमेरमा किशोर–किशोरीले देखाउने व्यवहार सबैमा एकैनासको हुँदैन । चित्त  नबुझे बोल्दैनन्, शिक्षक–शिक्षिकासँग पनि सकेसम्म छल्लिन खोज्छन्  ।’ 

परिवारको बनोटले पार्ने प्रभाव

ग्यालेक्सीकी शिक्षिका कप्पु अधिकारीका अनुसार एकल परिवारमा भन्दा संयुक्त परिवारमा बसेका किशोर–किशोरी चाँडै बुझ्ने हुन्छन् । यिनीहरु सबैसँग घुलमिल हुने, पढाएको पनि बुझ्ने, भनेको पनि मान्ने हुन्छन् । एकल परिवारमा बसेका किशोर–किशोरीका बाबुआमा दुवै काममा जाने, स्कुलबाट घरमा जानेबित्तिकै बाबुआमा वा घरका सदस्य नदेख्दा उनीहरुमा एकोहोरोपना भई एक्लै बस्न मनपराउने, लागूऔषधमा पनि फस्ने हुन्छन् । घरको संस्कार के छ ? के सिकाइएको छ ? उनीहरुमा कत्तिको समर्पण भाव र दायित्व सिकाइएको छ । त्यसमा पनि उनीहरुको वृद्धिविकासमा भर पर्छ । स्कुल नै सबै थोक होइन, आफूले तह लगाउन नसकेका छोराछोरी स्कुलबाट तह लाग्छन् भन्ने सोच्नु गलत हो । 
 

बुबा आमाबीचको सम्बन्धले पार्ने प्रभाव

आफ्ना बुबा आमाबीच सम्बन्ध कस्तो छ त्यसले पनि किशोर–किशोरीमा प्रभाव पार्छ । विजयस्मारकका शिक्षक डिल्ली शर्मा भन्छन्, ‘बा आमाको मिल्ती भएका परिवारमा हुर्केका केटाकेटीले पढाइमा धेरै जोड दिन्छन् । शिक्षकहरुसँग पनि खुलेर कुराकानी गर्छन् ।’ रातदिन झगडा गर्ने बाबुआमा परे भने उनीहरुको मन पढाइमा जाँदैन, उनीहरु दुःखी हुन्छन् र एक्लो भएको अनुभव गर्छन् । घरमा, स्कुलमा उनीहरुको मन बस्दैन उनीहरु मन बहलाउन चुरोट रक्सीको सहारा लिन थाल्छन् । रत्नराज्यलक्ष्मी स्कुलका शिक्षक गणेशबाबु कमलीका अनुसार ‘यदि घरमा बा–आमाको झगडा परेको छ भने उनीहरु बढी चिन्तित हुने हुन्छन् र अन्यत्र ध्यान मोड्छन् ।’ 

साथीको प्रभाव

किशोर–किशोरीहरु किशोरावस्थामा शिक्षक अथवा अभिभावकलाई भन्दा बढी विश्वास आफ्ना साथीलाई गर्ने गर्छन् । त्यसकारण उनीहरुको संगत कस्ता साथीसँग छ भनेर बेलाबेलामा बुझ्नुपर्छ । नेपाली समाजमा ‘संगत गुनाको फल’ भन्ने त उखानै छ । आफू जस्तो छ त्यस्तै साथीसंगी खोज्छन् । तर कहिले काहीँ उनीहरु आफ्नो व्यहोरा राम्रो हुँदाहुँदै पनि खराब संगत गर्न पुग्छन् । त्यस्तो अवस्थामा उनीहरुलाई सही निर्देशन तथा सुझावको खाँचो पर्छ । असल संगतका लागि पारिवारिक वातावरणले पनि फरक पार्ने शिक्षिका कप्पुको धारणा छ । उनका अनुसार यदि घरमा धार्मिक वातावरण छ भने त्यो बच्चा पनि त्यस्तै खालको हुने उनले बताइन्।

पहिले र अहिलेका किशोर–किशोरीबीच फरक 

३० वर्षदेखि अध्यापन गराउँदै आएकी कप्पुका अनुसार पहिले र अहिलेका विद्यार्थीबीच धेरै फरक रहेको बताइन् । त्यतिबेलाका केटाकेटीले आफूमाथि के जिम्मेवारी छ त्यो सजिलै पूरा गर्थे तर अहिलेका केटाकेटीले त भनेको सम्म पनि मान्दैनन्, जिम्मेवारीको कुरा त परको भयो । अहिलेका केटाकेटीलाई चाहिनेभन्दा बढी कुरा प्राप्त भएर पनि नटेर्ने (अटेरी) भएका हुन् उनले बताइन् । पहिलेका विद्यार्थी कर्तव्यमा बढी लाग्थे अहिलेको मा त्यो भेटिँदैन । अहिले त धेरै इन्टरनेटमा झुण्डिने, एकोहोरो टाइपका, बा–आमाले भनेको नमान्ने भएका छन् ।  

शिक्षक शर्माका अनुसार पहिले ९÷१० कक्षाका किशोर–किशोरीले देखाउने व्यवहार अहिले ४÷५ कक्षामा पढ्नेले देखाउँछन् । एकअर्काप्रति आकर्षित हुने, लजाउने शारीरिक  तथा मानसिकरूपमा परिवर्तन हुने गर्छन् । 

किशोर–किशोरीको अपेक्षा

जसरी अभिभावकले किशोर–किशोरीमाथि राम्रोसँग पढून्, घरमा पाहुना आएको बेलामा सम्मान गरून्, काममा सघाऊन् भन्ने अपेक्षा राख्छन् त्यसरी नै उनीहरुले पनि अभिभावकसमक्ष र शिक्षकहरुसमक्ष केही अपेक्षा राख्छन् । विजय स्मारकका शिक्षक डिल्ली शर्माका अनुसार उनीहरु आफ्नो मान होस्, बा–आमाले हामीलाई राम्रो छ भनून्, अरू साथीसँग तुलना नगरून् भन्ने हुन्छ । यो उमेरमा उनीहरुलाई गाली गर्न हुँदैन । सम्झाइ–बुझाइ गर्दा र उत्प्रेरणा दिएर बोल्दा सहजै भनेको मान्ने हुन्छन् ।

प्रकाशित: १ जेष्ठ २०७५ ०९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App