coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुरक्षाकर्मी नहुँदा सिमानामा समस्या

जीर्ण बन्दै गएको नेपाल–भारत सीमास्तम्भ। पृष्ठभूमिमा भारतीय सीमा सुरक्षा बलको क्याम्प। तस्बिर : गिरिराज/नागरिक

पाँचथर – जिल्ला प्रहरी कार्यालय पाँचथरले जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरेको छ। भौगोलिक रुपमा कठिन उच्च पहाडी क्षेत्रमा रहेको सीमाक्षेत्रको अवस्थाबारे विभिन्न चरणमा अनुगमन गरेको हो। प्रहरी टोलीले अवलोकनका क्रममा १६ सीमास्तम्भ हराएको पाएको छ।

भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको सीमाक्षेत्रको अवस्थाबारे विस्तृत अध्ययन गरिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी वामदेव गौतमले जानकारी दिए। उनका अनुसार एक सय १३ मध्ये ९७ वटा सीमास्तम्भमात्र भेटिएका छन्। पाँचथरमा १ सय १७ सीमास्तम्भ पर्ने भनिए पनि चारवटा स्तम्भ इलाममा परेको खुलेपछि प्रहरीले १ सय १३ सीमास्तम्भको अवस्था अध्ययन गरेको थियो। अनुगमन गत फागुनमा सुरु भएको थियो। जिल्लामा पर्ने ४५ किलोमिटर सीमाक्षेत्रको पैदल अनुगमन गरिएको गौतमले बताए।

हराएका १६ सीमास्तम्भमध्ये ४ वटाको डोब भेटिएको छ भने बाँकी १२ वटाको निसानासम्म नपाइएको प्रहरीले जनाएको छ। फलैंचामा ७, च्याङथापुमा ३, प्राङबुङमा ३, मेमेमङमा एक र सिदिनमा दुईवटा सीमास्तम्भ नभेटिएका हुन्। जिल्लाको सीमाक्षेत्रमा नौ जंगे पिलर रहेकामा दुईवटा जोखिममा छन्। दसगजा क्षेत्रभित्र भारतीय पक्षले सडक निर्माण गरेको छ । सडकका कारण जंगे पिलर जोखिममा परेका हुन्। मझौला तथा साना स्तम्भ पनि जोखिममा छन्, कतैकतै भत्किएको पनि छन्।

हराएका १६ सीमास्तम्भमध्ये ४ वटाको डोब भेटिएको छ भने बाँकी १२ वटाको निसानासम्म नपाइएको प्रहरीले जनाएको छ।

लामो समयदेखि सीमाक्षेत्रको अनुगमन हुन सकेको थिएन। सीमाक्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति शून्य छ तर भारतीय सुरक्षकर्मीको चहलपहल छ। नेपालतर्फ सुरक्षाकर्मी नहुँदा सीमाक्षेत्रमा समस्या छ। सीमाक्षेत्र उच्च पहाडी भूभागमा पर्छ। कठिन भूगोल भएका ठाउँमा नेपालतर्फ सुरक्षा उपस्थिति छैन। भारतीय सुरक्षाकर्मीले नेपालीलाई दुःख दिनुका साथै नेपालको स्रोतसाधन निर्बाधरुपमा उपभोग गरिरहेका छन्। ‘सीमाक्षेत्रमा स्थानीयसँग भेट्दा सारै खुसी व्यक्त गर्थे। हामीलाई बेलाबेला आउन स्थानीयको अनुरोध थियो। भारतीय सुरक्षाकर्मीले दुःख दिने गरेको तथा नेपाली भूभाग निर्बाध उपभोग गर्नेगरेको गुनासो स्थानीयको थियो’, अनुगमनमा खटिएका एक प्रहरीले भने।

सीमानजिकै भारतले सडक बनाएको छ। सडकमा चाहिने ढुंगालगायतका सामग्री नेपाली भूभागबाट ढुवानी भएको प्रहरी टोलीले भेटेको थियो । प्रहरीका अनुसार नेपाली भूभाग उजाड हुँदै गएको छ भने भारततिर हरियाली छ।

‘हामिले सीमाक्षेत्रको अनुगमन गरेका हौं। सीमास्तम्भका साथै त्यहाँको अवस्थाबारे अध्ययन गरिएको हो। सीमाक्षेत्रमा नेपाली सुरक्षाकर्मी नहुँदा समस्या देखिन्छ’, डिएसपी गौतमले नागरिकसँग भने, ‘सीमास्तम्भ मर्मत दुवै पक्षको संयुक्त टोलीले मात्र गर्न सक्छ।’ उनका अनुसार दुवै देशका नापी विभागले नेपालको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलसँगको समन्वयमा केही स्थानमा सीमा सर्भे गरेका छन्। बाँकी ठाउँमा पनि चाँडै सर्भे हुने अपेक्षा रहेको उनले बताए।

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको क्याम्प राख्ने कुरा चलेको एक दशक हुन लाग्यो। याङवरकको चिवाभन्ज्याङ र फालेलुङको भैंसेमा सशस्त्र प्रहरीको बेसक्याम्प राख्न जिल्ला सुरक्षा समितिले लेखेर पठाएको सशस्त्र प्रहरीको हिमशिखर गुल्मका प्रमुख डिएसपी लोकेन्द्र भट्टले बताए। सशस्त्र प्रहरीको क्याम्प राख्ने निर्णय पटकपटक भए पनि कार्यान्वयन हुन सकेको छैन।

प्रकाशित: २ जेष्ठ २०७५ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App