८ वैशाख २०८१ शनिबार
समाज

सेनाले नयाँ इमल्सन प्लान्ट राख्ने

काठमाडौं – कच्चा पदार्थ अभाव भएपछि मकवानपुरको सुनाचरीमा रहेको नेपाली सेनाको इमल्सन प्लान्टबाट उत्पादन रोकिएको छ। विस्फोटक पदार्थ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ लामो समयदेखि आपूर्ति हुन नसकेपछि प्लान्टबाट उत्पादन रोकिएको सेनाले जनाएको छ।

नेपाली सेनाले विकास निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ आफैंले उत्पादन गर्दै आएको छ। सेनाको कल्याणकारी कोषमार्फत सञ्चालन भइरहेको इमल्सन प्लान्टले विगत डेढ÷दुई वर्षदेखि कच्चा पदार्थ अभाव व्योहोर्दै आएकोमा हाल उत्पादन पूर्ण रुपमा बन्द भएको सैनिक स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार सेनाले भारतबाट इमल्सन प्लान्टका लागि आवश्यक पर्ने कच्चा पदार्थ भारतबाट ल्याउन खोजेको थियो। तर भारतीय पक्षले कच्चा पदार्थ ल्याउन रोक लगाएपछि उत्पादन पूर्ण रुपमा रोकिएको हो। ‘सेनाले भारतबाट कच्चा पदार्थ ल्याउन खोजेको थियो तर भारतले रोकिदिएपछि कच्चा पदार्थको आपूर्ति रोकिएको हो,’ स्रोतले भन्यो। भारतीय पक्षले आवश्यक काजगपत्र नपुगेको भन्दै कच्चा पदार्थ आयातमा रोक लगाएको स्रोतले जानकारी दिएको छ।

सेनाले आधिकारीक रुपमा भने कच्चा पदार्थ रोकिनुको कारण खुलाएको छैन। ‘कच्चा पदार्थ आपूर्तिको प्रक्रिया चलिरहेको छ,’ सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने। सेनाले लामो समयदेखि कच्चा पदार्थ आयात प्रक्रियामा रहेको जनाउँदै आएको छ । सेनाले इमल्सन प्लान्टका लागि आवश्यक पर्ने कच्चा पदार्थ भारत र चीनबाट आयात गर्दै आएको बताए पनि पछिल्लो समय भारतबाट आयात हुँदै आएको थियो।

सेनाले आफूले गरिरहेका सडक विस्तार, जलविद्युत् आयोजनालगायतका आयोजनामा आवश्यक पर्ने विस्फोटक पदार्थ आफैंले उत्पादन गर्दै आएको थियो। आफूलाई आवश्यक पर्नेबाहेक अन्य साना किसिमका विकास निर्माणसम्बन्धी आयोजनालाई समेत सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग हुँदै आएको थियो। कच्चा पदार्थको अभावमा उत्पादन रोकिएपछि भने साना आयोजनाले समेत विदेशबाटै विष्फोटक पदार्थ आयात गर्नुपर्ने अवस्था आएको छ। नेपालमा सञ्चालनमा रहेका ठूला आयोजना तथा अन्य सुरक्षा निकायले भने सेनाको अनुमतिमा विदेशबाटै विस्फोटक पदार्थ आयात गर्दै आएका छन्।

ठूला आयोजनाको मागलाई सेनाले उत्पादन गरेको विष्फोटक पदार्थले धान्न नसक्ने भएकाले सेनाको अनुमतिमा विदेशबाट विफोष्टक पदार्थ आयात हुने गरेको हो। सेनाले नेपालको माग धान्ने गरी नयाँ इमल्सन प्लान्टसमेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । हाल सुनाचरीबाट सिंगल बेसमा सञ्चालन भइरहेको इमल्सन प्लान्टको एक हजार दुई सय टन विस्फोटक पदार्थ उत्पादन गर्ने क्षमता रहेको छ। नयाँ प्लान्ट डबल बेसको हुने भएकाले यसबाट उत्पादन बढ्ने र यसले मुलुकको मागलाई धान्ने हुँदा सेनाले इमल्सन प्लान्ट सञ्चालनमा ल्याउने तयारी गरेको छ। नयाँ प्लान्टको उपकरणहरु ल्याउने काम भइरहेको सेनाले जनाएको छ। ‘नयाँ प्लान्टको उपकरण ल्याउने तयारी भइरहेको छ, हाल अभाव भइरहेको कच्चा पदार्थको समस्या छिट्टै समाधान गरेर नयाँ प्लान्ट सञ्चालनमा आउँछ,’ प्रवक्ता भण्डारीले भने।

नयाँ इमल्सन प्लान्ट स्थापनाका लागि सरकारले सेनालाई डेढ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको छ। नयाँ प्लान्टबाट वार्षिक ३ हजार ६ सय टन विस्फोटक पदार्थ उत्पादन हुनेछ। ‘हामीले नयाँ प्लान्ट स्थापना गरेर दुई सिफ्ट प्लान्ट चलाउँदा ३ हजार २ सय टन इमल्सन उत्पादन हुन्छ,’ सैन्य प्रवक्ता भण्डारीले भने। हाल नेपालमा वार्षिक ३ हजार देखि बढीमा ५ हजार टन इमल्सन आवश्यक पर्ने सेनाले जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०७५ ०४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App