१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘चीनका बहुमत ज्येष्ठ नागरिक खुसी’

बेइजिङ– चीनको ग्रामीण तथा सहरी दुवै क्षेत्रका अधिकांश ज्येष्ठ नागरिक बुढ्यौलीकैबीच पनि खुसीसाथ जीवनयापन गरिरहेको गत बिहीबार सार्वजनिक एउटा सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ।

‘चिनियाँ वृद्धवृद्धाको जीवनयापनको अवस्थाबारे जानकारी लिन चिनियाँ अनुसन्धान केन्द्रले सन् २००० पछि हरेक पाँच वर्षमा निरन्तर रूपमा गर्दै आएको सर्वेक्षणका लागि ६० वर्ष पार गरेका दुई लाख २२ हजार सात सय व्यक्तिलाई सोधिएको प्रश्नमा अधिकांशले बुढ््यौलीका बीच पनि आफूहरु खुसीसाथ जीवनयापन गरिरहेको बताएका थिए,’ प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो सर्वेक्षण सन् २०१५ मा नै गरिएको भएपनि नतिजा भने हालैमात्र सार्वजनिक गरिएको बताइएको छ।

सन् २००० को सर्वेक्षणमा सहभागीमध्ये ४८ दशमलव आठ प्रतिशत वृद्धवृद्धाले आफूहरु सुखसाथ जीवनयापन गरेको बताए पनि सन् २०१५ मा आइपुग्दा उक्त दर वृद्धि भएर ६० दशमलव नौ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सर्वेक्षणले बुढ्यौलीकाबीच पनि खुसी रहेका पुरुषको संख्या महिलाको भन्दा बढी देखाएको छ । उच्च शिक्षा आर्जन गरेका ज्येष्ठ नागरिक निम्न शिक्षा पाएकाभन्दा बढी सुखी पाइएको पनि अध्ययनले देखाएको छ।

सर्वेक्षणमा जम्मा ५२ दशमलव एक प्रतिशत अनपढ अथवा निरक्षर वृद्धवृद्धाले आफूहरुको जीवनशैली सुखी रहेको बताएका थिए भने ८४ प्रतिशत शिक्षित वृद्धवृद्धाले सुखी रहेको बताएका थिए । सर्वेक्षणमा कुन ैपनि व्यक्ति वृद्ध हुँदै गएपछि कम सुखी हुने गरेको पाइएको थियो । सर्वेक्षण अनुसार ६० देखि ६४ उमेर समूहका ६२ दशमलव तीन प्रतिशत वृद्धवृद्धाले आफूहरु खुसीसाथ जीवनयापन गरेको बताए छन् भने ८५ वर्ष र सोभन्दामाथि उमेर समूहका ५५ दशमलव सात प्रतिशत वृद्धवृद्धाले सुखसाथ बाँचेको बताएका छन्।

यसैगरी ६० देखि ६४ उमेर समूहका पाँच दशमलव आठ प्रतिशत वृद्धवृद्धाले आफूहरु खुसी नभएको बताएका छन् भने ८५ वर्ष र यसमाथिको उमेर समूहका सात दशमलव ६ प्रतिशत ज्येष्ठ नागरिकले आफूहरुको जीवन सहज रूपमा नबितको बताएका थिए । सर्वेक्षणमा सहभागी गराइएका चिनियाँ ज्येष्ठ नागरिकको सुखलाई उनीहरुको वैवाहिक अवस्था, बालबालीकासँगको सम्बन्ध, स्वास्थ्य र आर्थिक अवस्थासँग जोडेरसमेत मुल्याङ्कन गरिएको थियो।

प्रकाशित: २ जेष्ठ २०७५ ०५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App