coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘लुट’ का निर्माता वाग्ले नक्कली नोटसहित पक्राउ

काठमाडौं- चलचित्र ‘लुट’ मा निर्माता माधवराज वाग्लेले बैंक लुट्ने तरिका सिकाएका थिए । त्यो चलचित्र हेर्दा लुटिएको पैसा बोरामै बोकेर हिँडेको देखिन्छ । सोही शैलीमा नक्कली नोट कारोबारमा संलग्न भएको आरोपमा वाग्लेसहितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपाली हजार रुपैयाँ दरका नक्कली नोटसहित चलचित्र निर्माता वाग्लेसहित ६ जनालाई पक्राउ गरेको हो।

बोरा र कार्टुनभित्र राखिएका करोडौं रुपैयाबराबरका नक्कली नोट बुधबार निर्माता वाग्लेकै कार्यालयबाट बरामद भएका थिए । प्रिन्सेस मुभिज प्रालिका सञ्चालक वाग्लेको कार्यालयबाट २ करोड ५२ लाख र अन्य तीनजनाको साथबाट ८ लाख ६३ हजार नक्कली नोट बरामद भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार महेन्द्र बोगटीले गाेंगबुको मित्रनगरस्थित एक खाजाघरमा खाजा खाएको पैसा तिर्दा हजार÷हजार दरका दुईवटा नोट दिएका थिए । ती नोट नक्कली भएको शंका गर्दै पसलेले गोंगबु प्रहरीलाई खबर गरेपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले दुई करोड ६० लाख ६३ हजार नक्कली नोट बरामद भएको हो ।

नेपालमा यति ठूलो परिमाणमा नक्कली नोट बरामद भएको पहिलो पटक हो । निर्माता पक्षले चलचित्रमा प्रयोग गर्न उक्त परिमाणको रकम प्रेसमा छापेको बताएको छ । तर छाप्दा त्यस्ता नोटमा प्रस्ट देखिने गरी ‘नक्कली’ लेखिनुपर्छ । प्रेसमा छाप्न प्रतिबन्ध रहेको अवस्थामा वाग्लेको कार्यालयबाट यत्रो परिमाणमा नक्कली नोट बरामद हुनुलाई प्रहरीले शंकाको दृष्टिले हेरेको छ । प्रहरीले बोगटीको साथबाट एक हजार दरका गरी १ लाख २० हजार, सिन्धुली घर भई ललितपुर लुभु बस्ने २४ वर्षीय सुजित तामाङ र साजन तामाङको कोठाबाट ७ लाख ४३ हजार बरामद नक्कली नोट बरामद गरेको थियो ।

उनीहरुले सो नोट बागबजारस्थित नवज्योति प्रिन्टिङ प्रेसका सञ्चालक धादिङ घर भएका प्रकाश सुवेदीलाई छाप्न दिएका थिए । सुवेदीले जयभोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक भक्तपुर स्थायी घर भएका विकेश नापितलाई छाप्न दिई त्यहाँ नोट छाप्न प्रयोग भएको प्लेट आफ्नो प्रेसमा ल्याएर सुरक्षित राखेका थिए । प्रहरीले प्रेस सञ्चालक सुवेदी र नापितलाई पनि पक्राउ गरेको छ । प्रहरीले नोट छापिएको ४ वटा प्लेटसमेत बरामद गरेको छ।

‘मित्रनगरस्थित सुमधुर खाजाका सञ्चालकले आफूलाई दिएको पैसा नक्कली भएको शंका लागि प्रहरीलाई खबर गरेका थिए । त्यसैअनुसार बोगटीलाई पक्राउ गरी अनुसन्धान गर्दा उनको कोठामा समेत नक्कली नोट फेला परेको र उनकै बयानका आधारमा वाग्लेसहित अन्य व्यक्तिहरु पक्राउ परेका हुन्’, परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले भने ।

उनका अनुसार खास प्रयोजन नखोली नोट छापिएको र छापिएको सबै नोट प्रयोजन सकिएपछि नष्ट गर्नुपर्ने तथा नोटको बाहिरी आवरणमा सबै नक्कली भनी लेखिनुपर्ने तर त्यो नलेखी छापिएको छ । नोटमा सानो अक्षरमा नक्कली लेखिएको भए पनि सर्वसाधारणले छुट्याउन कठिन रहेको प्रहरी भनाइ छ । ‘हामीले राष्ट्र बैक र अदालतमा समेत यो विषयमा छलफल गरी यकिन गरेका छौं, नक्कली नोट छाप्न पाइँदैन, बजारमा लैजान झन् पाउने कुरै भएन’, परिसर प्रमुख पोखरेलले भने । उनका अनुसार बजारमा यस्ता नोट कति गए भन्ने यकिन छैन । प्रहरीका अनुसार चलचित्र निर्माण प्रयोजनमा पनि यति धेरै परिमाणमा नक्कली नोट छाप्नु पर्दैन । ‘एकातर्फमात्रै छापेर प्रयोग गर्न सक्ने र बोरामै हालेर सक्कली नोट बराबर कोठामा राख्नु आफैंमा शंकास्पद छ । त्यमिात्र होइन तीन÷चारजनाले नै बाँडेर बोक्नु झन शंकास्पद छ’, परिसर प्रमुख पोखरेलले भने।

उनका अनुसार पक्राउ परेका सबैलाई खोटा चलन ऐनअन्तर्गत बरामद भएको विगोबराबर जरिवाना र दस वर्षसम्म कैद सजाय हुनसक्छ । पक्राउ ६ जनालाई थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ५ दिनको समय लिएको छ । ‘बरामद नोट फरेन्सिक ल्याबमा जा“च गरि“दैछ,’ नक्कली भारु नोटमा ‘सेक्युरिटी फिचर’ निकै बलियो हुने र नेपाली नक्कली नोटमा त्यस्ता फिचर कमजोर हुने भएकाले ल्याब टेस्ट गर्नुपर्ने अवस्था छ’, परिसर प्रमुख पोखरेलले भने ।

दुई वर्षअघि प्रहरीले नेपाली हजार रुपैयाँ दरका नक्कली नोटसहित महोत्तरी बलवाका रोशनकुमार यादवलाई पक्राउ गरेको थियो । यादवको साथबाट हजार दरका ८ थान नक्कली नोट फेला परेका थिए । यसअघि, जाली नोट कारोबारमा संलग्न भारतीय गिरोहले प्रेसमा नेपाली नोट छापेर आफ्नो सञ्जालमार्फत तराई क्षेत्रमा फैलाउने गरेको थियो । तीन वर्षअघि जिल्ला प्रहरी कार्यालय बाराले १ लाख नक्कली रुपैया“सहित दुईजनालाई पक्राउ गरेपछि भारतमा छापेर नेपाल ल्याउने गरेको रहस्य खुलेको थियो । बारामा फेलापरेको १ हजार र ५ सय दरका नोट उच्चस्तरीय प्रेसमा छापिएकाले सक्कलीबराबरकै गुणस्तरका थिए।

रामदयाल ठाकुर लोहार र मोहम्मद मुस्तकिम मिया“लाई बारा प्रहरीले पक्राउ गर्दा मियाँचाहिँ भारतीय नागरिक भएको र उनले नै नेपालमा नक्कली नोट ल्याउन गरेको खुलेको प्रहरी जनाएको थियो । दुई वर्षअघि रौतहटबाट पनि ५० हजार नक्कली नोट बरामद भएको थियो ।

कहाँ–कहाँ प्रयोग हुन्छ नक्कली नोट
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट होटल रेष्टुरेन्टमा खाजा खाएको बिल तिर्न, जुवा खेल्न, यौनककर्म र लागूऔषध कारोबारमा सक्कलीमा मिसाएर बजारमा लैजाने गरिएको छ । ‘खासगरी यस्ता नोट समाजमा बदनाम हुने पाटो जहाँ छ त्यहाँ प्रयोग भएको पाइन्छ । अहिले हामी त्यसको अनुसन्धान गरिरहेका छौं’, परिसर प्रमुख पोखरेलले भने ।

प्रकाशित: ३ जेष्ठ २०७५ ०२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App