७ वैशाख २०८१ शुक्रबार
अर्थ

आलुको मूल्य नपाएपछि किसान चिन्तित

बनेपा- काभ्रेपलाञ्चोकका किसान यसवर्षको आलु उत्पादनबाट त्यति सन्तुष्ट छैनन् । विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका हुन्।

यसवर्ष खन्ने मौसममा असिनापानी परेपछि किसान आलु बिग्रन्छ कि भन्ने चिन्तामा छन् ।पनौती नगरपालिका–९ फिरफिरेका नवराज श्रेष्ठ उत्पादन कम भएको बताउँछन् । गतवर्ष उत्पादन बढी हुनुका साथै उचित मूल्य पाएको उनको भनाइ छ । उनले भने, “आलुखेतीबाट खासै फाइदा भएन, गरेको लगानी धानखेतीबाट उठाउने गरेको छु।”खोपासीका किसान सविना श्रेष्ठ उचित मूल्य नपाउँदा मारमा परेको बताउँछन् । “खेती नै यही हो, मूल्य नपाउँदा मारमा परेका छाै,” उनले भने।

किसानले आलु प्रतिधार्नी रु ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ। बजारमा त्यही आलु प्रतिधार्नी रु ८० देखि रु ९० सम्ममा बिक्री भइरहेको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाइ आलु कार्यक्रम सञ्चालनमा छ । सरकारले अनुदान दिने र प्रविधिका बारेमा सिकाउनेबारे जानकारी नभएको किसान बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाइ आलु बनेपा कार्यालयका प्रमुख किशोरप्रसाद पन्त जिल्लामा आलुको उत्पादन पर्याप्त रुपमा भइरहेको बताउँछन्। उन्नत जातको आलुको बीउ प्रयोग गर्न नपाएका कारण किसानले फाइदा लिन नसकेको उनको भनाइ छ।“उन्नत बीउ वितरण र बजारीकरणको व्यवस्थापन गर्नु पर्छ,” उनले भने । किसानलाई समूहमा संगठित गरी बजारीकरणको व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।

सुपरजोन आलु कार्यालयका सूचना अधिकृत कृष्ण धितालका अनुसार जिल्लामा नौ हजार हेक्टरमा वार्षिक एक लाख ८२ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । सुपरजोन आलु परियोजनाले हालसम्ममा दुई हजार हेक्टरमा मात्रै सेवा विस्तार गरेको छ । भविष्यमा तीन हजार ६०० हेक्टरसम्म सेवा विस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ।रासस

 

प्रकाशित: ३ जेष्ठ २०७५ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App