८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले–माके एकता जनताको बलिदानको अवमूल्यन : वैद्य माओवादी

काठमाडौं– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले एमाले–माओवादी केन्द्र एकता जनताको बलिदानको अवमूल्यन भएको टिप्पणी गरेको छ। 

क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलद्वारा विहीबार जारी विज्ञप्तिमा माके–एमालेले एकताको तथाकथित नाटक मञ्चन गरेको र माके आजैबाट औपचारिक रुपमा दक्षिणपन्थी संशोधनवाद तथा अवसरवाद हुँदै संसदीय मूल प्रवाहको एमालेको प्रतिक्रियावादीधारमा समाहित हुन पुगेको उल्लेख छ। 

दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र विस्तारवाद तथा साम्राज्यवादविरुद्ध दशवर्षे जनयुद्ध भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– ‘जनयुद्धकै मूल नेतृत्व प्रचण्ड मण्डलीले वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादको बाटो पकडी परिवर्तनको महान प्रक्रियामाथि धोका, विश्वासघात र गद्दारी गर्न पुग्यो। फलतः पश्चगामी राज्यसत्ता र उही पुरानै संसदीय व्यवस्थाको सेरोफेरोको गोलचक्करमा आज देश फस्न पुगेको छ, मालेमावादको आधारभूत मान्यता विपरीत सम्झौता र सत्ताको लेनदेन गरी जनताको वलिदानको अबमूल्यन हुन पुगेको छ।’

क्रान्तिकारी माओवादीले मालेमावादप्रति निष्ठावान क्रान्तिकारीहरु, घाइते÷अपाङ्ग, बेपत्ता योद्धा, सहिद परिवार र पूर्वजनमुक्ति सेना लगायत सम्पूर्ण परिवर्तनकामी जनसमुदायलाई क्रान्तिकारी धारमा ध्रुवीकृत हुन अपील गरेको छ।

प्रकाशित: ३ जेष्ठ २०७५ १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App