८ वैशाख २०८१ शनिबार
अन्य

‘मलाई विदेश घुम्ने सोख छैन’

राज धिमिरे ,अभिनेता

सबैभन्दा पहिले त यो ठाउँ मेरो हो भन्ने भावना सहरवासीमा हुनुपर्यो । यहाँ त चुइंगम खाएर गाडीको सिटमा टाँस्छन्, गाडीको झ्यालबाट फोहोर सडकमा फ्याँक्छन् । बटुवाले हिँड्दाहिँड्दै केही खाँदै छन् भने त्यसको कागज भुइँमा फाल्छन् । हेर्दा त सजिलो छ, तर त्यसले सहरलाई कति बिगारेको छ र अर्कोलाई कति असर पारेको छ भनेर वास्ता भएको छैन।

तपाईंलाई सबैभन्दा मनपर्ने सहर ?

मलाई सबैभन्दा मनपर्ने सहर ललितपुर हो । यहाँको माटोसँग मेरो मन जोडिएको छ । मलाई लगनखेल हुँदै गोदावरी जाने क्षेत्र असाध्यै मनपर्छ । यो ठाउँलाई चाँडै नेपालको सुन्दर र फरक सहर बनाउन यहाँका राजनीतिक दल र हामी लागिपरेका छौँ । यो ठाउँ घनाबस्ती र घना जंगल भएको ठाउँ होइन । म आफैँ पनि यो क्षेत्रको विकासमा काम गरेको छु।

ललितपुर नै मनपर्नुको कारण ?

ललितपुर मेरो जन्मथलो हो । यो एक प्रकारले सहरदेखि गाउँ र काठ क्षेत्र जोडिएको ठाउँ हो । जहाँ अर्कै प्रकारको सहर बन्ने सम्भावना पनि छ । यसकारण पनि मलाई ललितपुर सुन्दर लागेको हो ।

नेपालका सहर कस्तो लाग्छ ?

हामीकहाँ धेरै सम्भावना बोकेका सहर छन् । यहाँ भर्खर विकासका रेखा कोरिँदै छन् । तर, देशको विकास गर्न भनेर चुनिएका जनप्रतिनिधिले राम्ररी काम गरेका छैनन् । माथिल्लो तहमा भएका नेताले पनि सहरको विकासप्रति ध्यान दिएका छैनन । सरकारले चाहने हो र बनाउने हो भने हाम्रा सहर विश्वमै नमुना बन्न सक्छन् भन्नेमा कुनै दुईमत छैन ।

सहर विकासका लागि सरकारले कसरी काम गर्नुपर्ला ?
अहिले सरकारले गरेको काम कछुवा गतिको छ । काम गरेको छु है भन्न मात्रै काम भइरहेको छ । मैले यो योजना सकाएर देशलाई विकासतर्फ लैजान्छु भनेर काम भएको देखिँदैन । यद्यपि सरकारको काम शून्य नै भन्न मिल्दैन । केही काम सरकारले गरेको छ । तर सोचअनुसारको काम भएको छैन । अब गर्ने सम्भावना देखिएको छ ।

तपाईंलाई उपत्यका कस्तो लाग्छ ?

भीडभाड र प्रदूषणले गर्दा उपत्यका पछिल्लो समय कुरूप बनेको छ । यहाँका मौलिकता मेटिँदै छन् । यो अति नै दुःखको कुरा हो ।

उपत्यका बाहिर कुन सहर मनपर्यो ?

पोखरा मनपर्छ । पोखराको सबै पक्ष राम्रो छ । जस्तै, प्रकृतिले नै धेरै कुरा दिएको छ । फेवातालमा डुंगामा एक राउन्ड गरेपछि मन शीतल हुन्छ ।

नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?

धेरै देशका सहर पुगेको छैन र मलाई विदेश घुम्ने सोख पनि छैन । कार्यक्रमको सिलसिलामा दुबई र कतार पुगेको छु।

कस्ता थिए ती देशका सहर ?

त्यहाँ योजनाबद्ध, नीतिगत, दीर्घकालीन सोचले काम भएको देखिन्छ । साथै, विकसित देशमा विकासको नेतृत्व लिने निकाय पनि जिम्मेवार हुन्छ । यही कुरा हाम्रोमा हैरान लाग्ने किसिमको छ । कागजमा बनेका नीतिले मूर्त रूप पाउँदैनन् । हाम्रोमा विकास त छ, तर प्रभावकारी छैन।

हामीकहाँ नौ तले भवन बनाइन्छ, तर त्यसको गल्लीबाट एम्बुलेन्स समेत लैजान मिल्दैन । यस्तो विकासलाई केको विकास भन्नु ? अरु देशमा वातावरणको अति नै ख्याल राखेर भौतिक निर्माण गरिएको हुन्छ । सहरमा घर बनाउँदा सरकारले तोकेभन्दा एक इन्च तल–माथि गर्न पाइँदैन । हाम्रोमा भएका नियमको पालना हुँदैन ।

त्यहाँका सहर र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो ?

धेरै नै सुन्दर छन्, त्यहाँका सहर । नेपालभन्दा विदेशका सहर व्यवस्थित छन् । उद्योग कारखाना पनि सही ठाउँमा छन् । हाम्रोमा उपयुक्त ठाउँमा उद्योग खोलिएको छैन । किनभने, हाम्रो राजनीति पनि, कानुन पनि व्यवस्थित छैन । तर, विकसित भएर एउटा व्यवस्थित सहर बन्न सक्छ ।

हाम्रोमा व्यवस्थित सहर कसरी बनाउन सकिएला ?

यसका लागि सही भिजन, मिसन र एक्सनमा जाने मान्छे चाहिन्छ । अहिलेकै गति र क्षमताले सहरको विकास हुन्न । किनभने, जतिसुकै महँगो प्लेन भए पनि त्यसलाई हाँक्ने पाइलट ठीक भएन भने दुर्घटना हुन्छ । राज्य चलाउने काम पनि यस्तै हो । ठीक समयमा ठीक काम गर्ने हो भने अबको १० वर्षमा नेपाल विकासको बाटो लम्किन्छ र विकासका धेरै काम पनि हुन्छन् । अहिलेसम्म हामीले नगरेकै कारण सहरको विकास हुन नसकेको हो । सहरमा बस्नेहरू पनि उत्तरदायी छैनौँ ।

सरकारले कसरी काम ग¥यो भने काठमाडौं राम्रो बन्ला ?
उपत्यका प्राकृतिक रूपमा पनि रमणीय छ । हरिया डाँडाकाँडाले उपत्यकावासीलाई शीतल प्रदान गरिरहेका छन् । मूलतः कानुन, नीति–नियमलाई आधार मानेर काम गर्र्नुुपर्यो ।

काठमाडौं कुरूप हुनुको मुख्य कारण अग्ला र अव्यवस्थित भवन निर्माण हो । सरसफाइ, बाटोघाटो, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथाममा ध्यान दिए काठमाडौं अरु मुलुकका सहरभन्दा राम्रो बन्छ ।

उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष ?

यहाँको मौसम लोभलाग्दो छ । यस्तो सदावहार मौसम संसारमै पाइँदैन । हरियालीले गर्दा दिनहुँ विदेशी पर्यटक आइरहेका छन् । मलाई उपत्यकाका मठ–मन्दिर एकदमै मनपर्छ ।

मननपर्ने पक्ष ?

अव्यवस्थित विकासका काम, प्रदूषण, ट्राफिक जाम र भीडभाड मलाई मनपर्दैन ।

तपाईंको सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?

कुनै पनि बिउ सही छ भने बिरुवा राम्रो हुन्छ भन्ने सोच्छु म । सहरको विकासमा पनि भिजन सही भएको नेतृत्व चाहिन्छ । व्यवस्थित तरिकाले सहरलाई लैजाने र काम गर्ने हो भने सहर राम्रो हुन्छ । म बसेको सहर सबैतिर व्यवस्थित होस् । सबैखाले सेवा–सुविधा पाइयोस् । सबैले एकअर्काको वास्ता गरून् ।

सहरवासीको बानी–व्यवहार कस्तो लाग्छ ?

सबैभन्दा पहिले त यो ठाउँ मेरो हो भन्ने भावना सहरवासीमा हुनुपर्यो । यहाँ त चुइंगम खाएर गाडीको सिटमा टाँस्छन्, गाडीको झ्यालबाट फोहोर सडकमा फ्याँक्छन् । बटुवाले हिँड्दाहिँड्दै केही खाँदै छन् भने त्यसको कागज भुइँमा फाल्छन् ।

हेर्दा त सजिलो छ, तर त्यसले सहरलाई कति बिगारेको छ र अर्कोलाई कति असर पारेको छ भनेर वास्ता भएको छैन । हामीभित्र यो मेरो हो भन्ने सोच आउने हो भने सहर बन्छ र सरकारले सरसफाइ लगायत नाममा गर्नुपर्ने बेकारका खर्च पनि कटौती हुन्छ ।

सहरवासीको दायित्व के होला ?

हामी सहरवासी अलि जिम्मेवार छैनौँ । आफ्नो मात्रै सोच्छौँ । मलाई सहरवासीको यही बानी राम्रो लाग्दैन । हामी नागरिक नियम मिच्छौँ, अनि सरकारलाई दोष थुपार्छौं ।

मन भएर पनि पुग्न नपाएको ठाउँ ?
मलाई मनाङ–मुस्ताङ, जोमसोम र सगरमाथाको फेदसम्म पुग्न मन छ ।

पछिल्लो समय घुमेको ठाउँ ?

म अस्ति हेटौँडा गएको थिएँ । अहिले यो ठाउँ धेरै व्यवस्थित भएको रहेछ।

प्रस्तुति : शिवहरि घिमिरे

 

प्रकाशित: ४ जेष्ठ २०७५ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App