७ वैशाख २०८१ शुक्रबार
अन्य

वाह !! आलु चिप्स्

पाटनढोकानजिकै एउटा पोखरी छ, पिमबहाल पानीपोखरी । पोखरीको नजिकै एउटा सानो गल्ली छ, जहाँ ठेलामा पानीपुरी, तरकारी बेच्ने, मकै पोल्नेहरू आफ्नो काममा व्यस्त रहेको देख्न सकिन्छ । कुमारीपाटी निस्कने बाटो नपुग्दै एउटा गल्ली आउँछ । गल्लीमा लस्करै पसल छन् । ती पसलमध्ये एउटामा बोर्ड झुन्ड्याइएको छ– भेरिअस् भेराइटिज् अफ् चिप्स्।

‘दाइ, यही चिप्स् अर्को दुईवटा पनि दिनु है,’ स्पाइसी चिल्ली चिप्स चाखेपछि पसलेलाई भन्दै थिए, भैँसीपाटीका क्षितिज बिस्ट । साथीसँग पाटन घुम्न आएका क्षितिजले तीन प्याकेट चिप्स किने । उनी भन्छन्, ‘यो स्पाइसी घर बहिनीका लागि हो, उसलाई चिप्स् मनपर्छ।’

दामोदर श्रेष्ठले पहिले पाटनमा दालमोट बनाउने काम गर्थे । उनी अहिले आलुबाट बनेको फ्रेस चिप्स्को व्यापार गर्छन् । बच्चादेखि वृद्धसम्म आफ्नो पसलमा चिप्स् खान आउने उनी बताउँछन् ।दामोदरले विभिन्न प्रकारका चिप्स बेच्न सुरु गरेको १९ वर्षभन्दा बढी भयो । उनी भन्छन्, ‘पहिले दालमोट बनाउँदा पनि चिप्स आवश्यक पर्ने, त्यसकारण आफैँ चिप्स बनाएँ ।’ बाटोमा हिँड्ने हरेकले उनले बनाएको आलुको चिप्स् निकै रुचाएको पाइन्छ।

पाटनको पिमबहाल पोखरी क्षेत्रमा साँझ–बिहान गृहिणी तरकारी किन्न आउँछन्, स्कुले नानीहरू हिँड्छन्, बूढापाकादेखि युवायुवती टहल्न निस्कन्छन् । त्यसैले बिहानको ९ बजेबाटै निकै व्यस्त हुन्छन्, दामोदर । सुरुवातको चरणभन्दा चिप्स् मनपराउनेको संख्या बढेको उनी बताउँछन् । सुरुमा पिरो र सादा आलु चिप्स बनाएका उनले हरेकपटक नयाँ फ्लेबर दिने कोसिस गर्छन् । उनी भन्छन्, ‘म हरेकपटक नयाँ फ्लेबर बनाएर ग्राहकलाई नै टेस्ट गर्न दिन्छु, उहाँहरूकै प्रतिक्रियाअनुसार चिप्स् बनाउँछु ।’ नयाँ फ्लेबरको चिप्स् बनाएपछि धेरै ग्राहकले सकारात्मक प्रतिक्रिया दिने उनी बताउँछन् ।

पाटनस्थित एउटा घरबाहिर आलुका विभिन्न परिकार मिलाएर राखिएको छ । त्यस्तै, ग्राहकका लागि साना बेन्च पनि छन् । ग्राहक कोही प्याकिङ गरिएको आलुका चिप्स् किन्दै थिए भने कोही आलुको पकौडा खाँदै थिए । दैनिक भीड लाग्ने ठाउँ हो यो । बच्चादेखि वृद्धसम्म यहाँको आलु परिकारको स्वादमा रमाएको देखिन्छ।

मकवानपुरका विष्णु बलामीले आलुको परिकार बेच्न थालेको नौ वर्षभन्दा बढी भयो । विष्णु बिहानैदेखि आलुको परिकार बनाउन व्यस्त हुन्छन् । बजारबाट आलु लिएर आउनु, आलुलाई पखालेर मसिनो गरी मिलाएर काट्नु, काटेका आलुलाई तेलमा फुराउनु उनको दैनिकी नै हो । यमुना बलामी तेलमा आलुको चिप्स् फुराउँदै थिइन् ।

आलुको परिकार बनाउनु, प्याकिङ गर्नु यी दम्पतीको दैनिकी हो । आलुको परिकारले परिचित उनको पसलमा आलुको चिप्स् मात्र नभएर चिया, जेरी, समोसा, ग्वालमारी, निम्की, सेल, फुलनदाना आदि परिकार समेत पाइन्छ । उनी भन्छन्, ‘दैनिक ४०, ५० किलो आलुको चिप्स् जान्छ, हरेक उमेरकालाई आलु चिप्स् मनपर्छ।’

प्रभात सिङ प्रधानले तीन महिनाअगाडि चिप्स् खाएका थिए । यसपालि फेरि चिप्स् खान आएका उनले एक सय रुपैयाँको सबै फ्लेबरको मिक्स् चिप्स् किने । उनी भन्छन्, ‘पाटनको चिप्स्बारे मलाई थाहा थिएन, साथीले भनेपछि खान आएको थिएँ, निकै मनपर्यो।’
आलु चिप्सका प्रकार

आलुका चिप्स् विभिन्न स्वादमा पाइन्छन् । सादादेखि विभिन्न फ्लेबरको प्रयोग गरेर चिप्स् बनाइएको हुन्छ । ‘भेरिअस् भेराइटिज् अफ् चिप्स्’ सपमा १५ प्रकारका फ्लेबरमा आलुका चिप्स् उपलब्ध छन् । स्पाइसी अनियन, स्पाइसी चिज, म्यांगो, टोम्याटो, मिन्ट, पाइन एप्पल, हट एन्ड स्विट, मिक्स् लगायत आलु चिप्स यहाँ उपलब्ध छन्।

स्पाइसी अनियन चिप्स्

आलुमा अनियन (प्याज) फ्लेबर राखेर तयार पारिन्छ, स्पाइसी अनियन चिप्स् । आफ्नै छुट्टै मसला र अनियनको पाउडर हालेर आलुको चिप्सलाई स्वादिलो बनाइएको व्यापारी दामोदर श्रेष्ठ बताउँछन् । आलु चिप्सको मूल्य सामान्यतः २५ रुपैयाँबाट सुरु हुने उनी बताउँछन् । पाटनकी श्रुति शाक्य प्लस टु सकेर बसेकी छन्।

श्रुतिलाई अनियन चिप्स्, चिज चिप्स्, म्यांगो फ्लेबरको चिप्स् मनपर्छ । उनी भन्छिन्, ‘दिउँसो अल्छी लाग्यो भने, हातमा पैसा भएका बेला खान आउँछु ।’ अनियन चिप्स पिरो, नुनिलो मसलेदार हुने भएकाले युवतीको विशेष माग रहेको व्यापारी श्रेष्ठ बताउँछन्।

स्पाइसी चिज चिप्स्

आलु र चिजमा मसला मिलाएर स्पाइसी चिज चिप्स् तयार गरिन्छ । अन्य चिप्स्को तुलनामा चिज चिप्स् खानेहरू बढिरहेको व्यापारी बताउँछन् । चिजको स्वाद मनपराउनेको रोजाइमा पर्छ, स्पाइसी चिज चिप्स् ।

चिज र चटपटे मसलाको स्वादमा बनाइने यो चिप्स् नेपालमा मात्र नभएर विदेशमा पनि पठाइने व्यापारी बताउँछन् । पाटनकी सिया प्रधान पहिलोपटक ‘भेरिअस् भेराइटिज् अफ चिप्स्’ मा साथीसँग चिप्स् खान आएकी हुन् । उनले स्पाइसी चिज चिप्स् चाखिन् । उनीलाई स्पाइसी चिज चिप्स् निकै मनपर्यो । उनी उत्साहित हुँदै भन्छिन्, ‘म पहिलोपटक आएको, चिप्स खाएँ, निकै मनपर्यो, चिजको स्वादमा चिप्स्, वाउ !’ प्लस टुको परीक्षा सकेर बसेकी सियाले स्पाइसी चिप्स निकै स्वादिलो लागेको बताइन्।

पाइनएप्पल चिप्स्

आलुको चिप्समा पाइनएप्पलको स्वाद । यसलाई विशेषगरी बालबालिकाले रुचाउने व्यापारी बताउँछन् । स्कुले बालबालिका र वृद्धको विशेष रोजाइमा परेको छ, पाइनएप्पल चिप्स् । बढी पिरो, नुनिलो खान मननपराउने, खान नहुने र नयाँ फ्लेबरको आलु चिप्स चाख्न चाहनेको रोजाइमा पर्न सक्छ, पाइनएप्पल फ्लेबरको आलु चिप्स् ।

मिन्ट चिप्स्

आलुमा पुदिनाको स्वाद राखेर तयार हुन्छ, मिन्ट चिप्स् । आलुलाई फरक स्वाद दिन पुदिना मिसाइने श्रेष्ठ बताउँछन् । पुदिना मनपराउनेको रोजाइमा यो चिप्स् पर्न सक्छ ।
म्यांगो चिप्स्

सुन्दा अचम्म लाग्न सक्छ, आलुको चिप्समा म्याांगो किन लेखिएको भनेर । तर म्यांगो फ्लेबरको चिप्स् पनि उपलब्ध छ । आलुको चिप्स् खाँदा म्यांगोको फ्लेबर पाउन सकिन्छ।


बनाना चिप्स्

बनाना चिप्स काँचो केरा र आलुबाट बनाइन्छ । नयाँ स्वाद मानेर चाख्नेहरू बढेको व्यापारी बताउँछन् । यो स्पाइसी, नुनिलो स्वादमा उपलब्ध छ । बनाना चिप्स् प्याकेटको ४० रुपैयाँ पर्ने दामोदर श्रेष्ठ बताउँछन् । ‘बनाना चिप्स्को माग नेपालमा मात्र नभएर विदेशमा पनि बढेको छ । प्याकिङ भएकाले बाहिर पनि लिएर जान्छन् ।’

प्रकाशित: ४ जेष्ठ २०७५ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App