coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विश्व पर्यटकीय सहर दुबई

दुवई सिटीको मोनो रेल भवनबाट समुद्रमा देखिएको क्राउन प्रिन्सको निजी टापु । तस्बिर : अर्जुन

दुवई – भौतिक पूर्वाधार विकाससँगै खोलिएका स्टार होटलहरुले दुबई विश्वकै पर्यटकीय तथा सुविधासम्पन्न सहर बन्दै गएको छ। सुविधासम्पन्न सपिङ मल, आधुनिक तथा प्रविधिमैत्री आर्किटेक्चर र एसियाकै अग्लो टावरका कारण दुबई विश्वको पर्यटकीय सहर बन्दै गएको हो। 

पछिल्लो समय विश्वविख्यात संरचना र नवप्रवर्तनको विकासका कारण दुबई प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको हो । यहाँ एसियाकै अग्लो ‘बुर्ज खलिफा टावर’ छ । एक सय ६३ तला (आठ सय २८ मिटर) उचाइ भएको टावरबाट पाम जुमेरा हेर्न सकिन्छ । बुर्ज खलिफा हेर्न  दैनिक हजारौं पर्यटक आउने गरेको नेपाली टुर गाइड मुकेश अधिकारीले बताए

दुबईका प्रधानमन्त्री शेख महमद बिन रासिद अल माकटमले सन् २००४ को जनवरीमा उक्त टावर निर्माण सुरु गरेका थिए । उक्त टावर जनवरी २००९ मा निर्माण सम्पन्न भएको थियो। 

‘बुर्ज खलिफा टावर भ्रमण गर्न विश्वभरिका पर्यटक आउने गरेका छन् । पर्यटकीय समुद्र क्षेत्र पान जुमेरा अर्को आकर्षक गन्तव्य हो । सिंगो पान जुमेरा यही खलिफा टावरबाट देखिन्छ,’ कान्तिपुर होलिडे युएईका प्रतिनिधि गाइड अधिकारीले भने, ‘दुबई विश्वकै पर्यटकीय सहर बन्दै गएको छ। यहाँ एसिया, अफ्रिका, युरोप, अस्ट्रेलिया, उत्तर अमेरिका, दक्षिण अमेरिका लगायतका पर्यटक आउने गरेका छन्।’ 

उनका अनुसार युएईको मुख्य पर्यटकीय सहर दुबई हो । बुर्ज खलिफाबाट जुमेरा बिच, जुमेरा टावर र जुमेरा होटलको टावर देख्न सकिने अन्तर्राष्ट्रिय गाइड सलिन महमतले जानकारी दिए । ‘दुबईको आर्थिक स्रोतमध्ये पर्यटन मुख्य हुँदै गएको छ । यहाँ कानुन छ र जरिवानामा माफी भन्ने नै हुँदैन । यसकारण दुबई व्यवस्थित पर्यटकीय सहर बन्दै गएको छ,’ उनले भने, ‘यहाँको मनो रेल, मेट्रो रेल अर्को पर्यटकको आकर्षक प्याकेज हो । धौ क्रुजले दुबईको मौलिक संस्कृति संरक्षण गरेको छ । यो पर्यटकका लागि अविस्मरणीय क्षण हो।’

जुमेरा क्षेत्रको समुद्रमा क्राउन प्रिन्सको निजी टापु समेत हेर्न सकिन्छ । यहाँ जुमेरा टावर निर्माण कम्पनी नखिलको भवन आकर्षक रुपमा छ । यस्तै, दुबईभित्र सागा वल्र्ड आर्ट ग्यालरीमा सुनबाट निर्माण गरिएको बहुमूल्य गलैँचा हेर्न सकिन्छ । सुनको गलैँचामा कम्बोडिया, बर्मा, अफगानिस्तान, ब्राजिलको स–सानो स्टोन राखिएका छन् । यो दृश्य हेर्न समेत विदेशी पर्यटक आउने गरेको गाइड महमतको भनाइ छ। 

विश्वको धनी राष्ट्रको सूचीमा दुबई छ। धनी भएकै कारण उत्कृष्ट सपिङको राजधानी बन्दै गएको पर्यटन व्यवसायी बताउँछन्। 

दुबईको आर्थिक क्रान्तिमा तेल उत्पादन मुख्य स्रोत हो । तेलकै कारण दुवईको आर्थिक समृद्धि भएको पाइन्छ । तेल उत्पादनमा भएको वृद्घिले उसलाई एक प्रमुख तेल निर्यातक राष्ट्रका रूपमा समेत चिनाएको छ । 
पर्यटन क्षेत्र, वित्त र रियल इस्टेट दुबईको मुख्य आकर्षण हो । विश्वकै महँगो होटलमध्ये ‘बुर्ज अल अरब’ दुबईमा छ । विश्वकै महँगो सहरमध्येमा पर्छ दुबई । दुबईको कुल आम्दानीमा तेल तथा ग्यास उद्योगको भाग सात प्रतिशत योगदान छ।

रियल इस्टेट र संरचना (निर्माण)सँग सम्बन्धित उद्योग दुबईमा सबैभन्दा धेरै आम्दानी गर्नेमा पर्छन् । यी क्षेत्रले त्यहाँको कुल आम्दानीमा २२.६ प्रतिशतभन्दा बढी भाग ओगटेका छन् । त्यस्तै, दुबईको आर्थिक समृद्धिमा वित्तीय सेवा उद्योगले ११ प्रतिशत योगदान दिने गरेको छ। 

 

प्रकाशित: ४ जेष्ठ २०७५ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App