coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काफल बेचेर कापी कलम

डडेल्धुरा – सदरमुकाम र भिमदत्त राजमार्ग आसपासका गाउँका न्यून आयस्रोत भएका परिवारका बालबालिका काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन्। 

विपन्न परिवारका महिला र बालबालिकाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ। मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिला तथा बालबालिकाले अहिले काफलबाट आम्दानी गरिरहेका छन्। 

भिमदत्त राजमार्ग छेउछाउ मौसम अनुसारका फलफूल तथा जगंली फल काफल, कोइराल र अमला बेच्नेको ताति नै लाग्ने गरेको छ। काफल बेच्ने अधिकांश बालबालिकाले आफ्नो पढाइखर्चको समेत जोहो गर्ने गरेका छन्। विद्यालय समयपछि बालबालिका प्रायः सो व्यवसायमा लाग्ने गरेका छन्। 

काफल बिक्री गरेर दैनिक रु ८०० देखि रु एक हजारसम्म आम्दानी गर्ने गरेको अमरगढी– १ मालमका १६ वर्षीय दीपक दियालले बताए। काफल बेचेर कापी, कलम र लुगा किन्ने गरेको उनको भनाइ छ। यसवर्ष असिना पानीका कारण काफल पर्याप्त फलेको छैन। 

अमरगढी नगरपालिकाका ३६ वर्षीया राजमती विष्ट काफल बेचेर नै वर्ष दिनसम्म खान लाउन पुग्ने गरी आम्दानी गर्ने गरेको बताउँछिन्। काफल पाक्ने याममा रु ५० हजार देखि रु एक लाखसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ। 

अमरगढी नगरपालिकाको मालम, दह ब्यारेक, काँडे, भेटा, ढुण्ढुनेलगायत राजमार्ग छेउछाउका बस्तीमा काफल सकंलन गरी बेच्ने क्रम जारी छ। गाउँबाट काफल बेच्नकै लागि स्याउले बजार र सदरमुकाम आउने महिला र बालबालिकाको संख्या अत्यधिक छ। 

प्रदेश नं ७ को नौवटै जिल्लाको प्रमुख प्रवेशद्वारको रुपमा रहेको डडेल्धुराको स्याउले बजारमा काफल बेच्नेको बिहानैदेखि रातिसम्म भीड लाग्छ। सदरमुकामभएर ओहरदोहर गर्ने यात्रु कोसेलीको रुपमा काफल लैजाने गर्दछन्। व्यापारीले थोकमा काफल किनेर तराईका विभिन्न जिल्लामा समेत बिक्री गर्दैआएका छन्। 

प्रकाशित: ४ जेष्ठ २०७५ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App