७ वैशाख २०८१ शुक्रबार
समाज

एकै दिन थप ६८ आरोही सगरमाथा शिखरमा

काठमाडौं – अनुकूल मौसमको फाइदा उठाउँदै शुक्रबार एकै दिन स्वदेश तथा विदेशका ६८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्।

आधारशिविरदेखि चौथो क्याम्पसम्म उपयुक्त मौसम कुरिरहेका सयौं आरोहीमध्ये शुक्रबार बिहान ५ बजेदेखि ११ बजेभित्र ती आरोही शिखर पुगेका हुन्।

‘विभिन्न आरोहण दलमा आबद्ध ३७ नेपाली र ३१ विदेशी आरोहीले शुक्रबार साधारण रुट (दक्षिण–पूर्वी मोहोडा) बाट सगरमाथाको सफल आरोहण गरेका छन्,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले शुक्रबार नागरिकसँग टेलिफोनमा भने, ‘उनीहरू कुन देश, कन समयमा शिखर पुगेको देखि कुन दलमा आबद्ध थिए भन्ने जस्ता विस्तृत विवरण आउन बाँकी छ।’
श्रेष्ठका अनुसार यसपालि वसन्त ऋतुमा आरोहण सुरु भएयता हालसम्म स्वदेश तथा विदशेका २ सयभन्दा बढी आरोही शिखर पुगिसकेका छन् भने १ सय ५० जति असफल भएर फर्किसकेका छन्। सगरमाथाको मौसम विस्तारै अनुकूल हुँदै गएपछि आधारशिविरदेखि विभिन्न क्याम्पमा रहेका अझै सयौं आरोही शिखरतर्फ जाने तयारीमा छन्।

‘हाम्रो अनुमानमा स्वदेश तथा विदेशका गरी अझै ५ सयजति आरोही शिखर पुग्न बाँकी छन्,’ सरकारी सम्पर्क अधिकृत श्रेष्ठले भने, ‘मौसमले साथ दिए अब अधिकतम दुई साताभित्र अधिकांश आरोही शिखर पुग्नेछन्।’

पर्यटन विभागका अनुसार यसपालि वसन्त ऋतुमा विभिन्न देशबाट आइपुगेका ३ सय ४६ आरोही र तिनका नेपाली आरोहण सहयोगी करिब साढे ५ सयसमेत गरी करिब ९ सय आरोही ५ हजार ३ सय ८० मिटर उचाइको आधारशिविरदेखि पहिलो, दोस्रो, तेस्रो र चौथो क्याम्पमा उपयुक्त मौसम कुरेर बसिरहेका छन्।

यसपालि वसन्त ऋतुमा गत वैशाख ३० मा आठ नेपालीले चुचुरोमा विजयी झन्डा फह¥याएसँगै सगरमाथाको सफल आरोहण सुरु भएको थियो। ती आठजनाले आधारशिविरबाट चुचुरोसम्म डोरी टाङ्दै गएका थिए र सबैले सफल आरोहण समेत गरेका थिए। त्यसपछि सफल आरोहणको दोस्रो दिन ५० आरोही, चौथो दिन ९४ आरोही र पाँचौं दिन १८ आरोही शिखर पुगेका थिए। तेस्रो दिन भने एक्कासि मौसम प्रतिकूल भएका कारण कुनै पनि आरोही शिखर पुग्न सकेनन्।

सामान्यतयाः जेठ पहिलो साताबाट दोस्रो साताभित्र अधिकांश आरोही शिखर पुग्ने गर्छन्। उनीहरू चैत दोस्रो सातादेखि सगरमाथातर्फ जाने गर्छन्। त्यसपछि आधारशिविर पुगेर झन्डै एक महिनासम्म त्यहीँ बसेर त्यहाँको वातावरणसँग आफूलाई घुलमिल (एक्लिमेटाइज) गराउँछन्। आधारशिविरबाट पहिलो क्याम्प, दोस्रो क्याम्प जाने र फर्केर आधारशिविर आउनेजाने गरिरहन्छन्। अनुमति पाएको ७५ दिनभित्र सगरमाथा आरोहण गरिसक्नुपर्ने सरकारी नियम छ।

२०७१ वैशाख ५ गते आएको भयानक हिमपहिरोमा परी १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइते भएपछि सरकारले त्यसबेला आरोहण गतिविधि स्थगन गरेको थियो। त्यस्तै २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि उत्पन्न हिमपहिरोमा परेर १६ जना गाइडको मृत्यु भएको थियो। त्यस घटनापछि पनि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा आरोहण स्थगन भएको थियो।

पहिलो घटनालगत्तै सरकारले अनुमति लिएर पनि आरोहणमा जान नपाएका सबै आरोहीलाई आगामी पाँच वर्षभित्र जहिले आए पनि आरोहणमा जान दिने निर्णय गरेको थियो।

विभागका अनुसार प्रत्येक विदेशी आरोहीले दक्षिणपूर्वी मोहोडा (नर्मल रुट) बाट वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ। नर्मल रुटबाहेक सगरमाथा आरोहण गर्न प्रत्येक विदेशी आरोहीले १० हजार डलर तिर्नुपर्छ। त्यसैगरी नर्मल रुटबाट सगरमाथा आरोहण गर्न विदेशी आरोहीले शरद ऋतुमा प्रतिव्यक्ति ५ हजार ५ सय डलर तथा शिशिर र वर्षामा २ हजार ७ सय ५० डलरमात्र तिरे पुग्छ।

यो रुटबाहेकका लागि शरदमा ५ हजार तथा शिशिर र वर्षामा २ हजार ५ सय डलर लाग्छ। सरकारले वसन्त ऋतुमा सगरमाथा जाने एकल आरोहीलाई २५ हजार डलर, समूहमा जाने दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, ६ लाई ६६ हजार र सातजनालाई ७० हजार डलर लिने गर्छ।

प्रकाशित: ५ जेष्ठ २०७५ ०१:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App