coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

तबेलामा पुस्तकालय

बाहिरबाट हेर्दा एउटा त्रिभुज आकारको जीर्ण भवन छ । बाहिरको होर्डिङबोर्ड हेरेर भित्र पसेपछि पनि पुस्तकालय हो वा होइन भनेर ठम्याउन मुस्किल पर्छ ।गएको साता, भवन गेट छेउकै जीर्ण कोठाभित्र कुर्सीमा एक महिला कर्मचारी मोबाइल चलाउँदै थिइन् ।‘यही हो, नेपाल राष्ट्रिय पुस्तकालय ?’ यस पंक्तिकारको जिज्ञासापछि ती कर्मचारीले मोबाइलको स्क्रिन टेबलतिर फर्काउँदै भनिन्, ‘हजुर, ऊ त्यहाँ लाइब्रेरी सर हुनुहुन्छ, सोध्नुस् न।’

लाइबे्ररी कक्षमा केही किताब र्याकमा र धेरै किताब त्यत्तिकै टेबलमाथि चाङ पारेर राखिएको थियो । त्यसको छेउमै पत्रिका पढ्दै थिए, उत्तमराज सुवेदी (५२) । उनी पत्रिका पढ्न यहीँ आउँछन् । ‘म संस्कृत भाषाका पुस्तक पढ्न यहाँ आएको थिएँ,’ उनी भन्छन्, ‘तर, पत्रिका मात्रै पढेर चित्त बुझाएर फर्कनुपर्ने भयो । अहिले यहाँ संस्कृतका कुनै किताब छैनन् ।’ललितपुरको हरिहर भवन छेवैमा रहेको यो भवनको इतिहास एक सय ६ वर्ष पुरानो हो । तत्कालीन राणा प्रधानमन्त्री शंकर शमशेरले बनाएको यो भनवमा त्यतिबेला घोडा राखिन्थ्यो । त्यही घोडा राखिने भवनलाई अहिले पुस्तकालय बनाइएको छ।

०७२ को भूकम्पले नेपाल राष्ट्रिय पुस्तकालय भएको पुरानो भवन भत्कायो । भत्कनुअघि त्यहाँ निजामती किताब कारखाना, मानव अधिकार पुस्तकालय र नेपाल राष्ट्रिय पुस्तकालय राखिएको थियो । राष्ट्रिय पुस्तकालयमा नेपाली, हिन्दी, उर्दू, मराठी, अंगे्रजी, संस्कृत लगायत भाषाका पुस्तक थिए ।भूकम्पले भवन चिराचिरा भएपछि ती पुस्तक राख्ने ठाउँ खोजियो । कतै नभेटिएपछि पुस्तकालयलाई पहिले तबेला राखिएको भवनमा  सारिएको हो।

भूकम्पले भवन भत्काएपछि यहाँका पुस्तक शैक्षिक जनशक्ति केन्द्र सानोठिमी र सानो गौचरनस्थित महेन्द्र भवनमा राखिएको छ । पुस्तकालयका अनुसार यी दुई ठाउँमा राखिएका पुस्तकको संख्या एक लाख ६० हजारभन्दा बढी छ ।
पुस्तकालय अधिकृति वसन्तराज पन्थ भन्छन्, ‘हामीले धेरैपल्ट शिक्षा मन्त्रालयलाई हारगुहार गर्दा पनि माथिल्लो निकायले चासो दिएन । र, व्यवस्थित पुस्तकालय बनाउन सकिएको छैन ।’राष्ट्रिय पुस्तकालय निर्माण भएको ६२ वर्ष पूरा भएको छ । भूकम्पपछि यहाँका पुस्तक बोरामा राखिएको थियो । अहिले भने दुई ठाउँमा सारिएको छ । बोरामा राखिएका किताबमा ढुसी पर्न थालेपछि कोठामै त्यत्तिकै फिँजाइएको छ । अझै ती पुस्तकले व्यवस्थित ठाउँ भने पाउन सकेका छैनन् ।

२०१३ पुस १९ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले भारतीय पुस्तकालयको पुस्तक ल्याएर राष्ट्रिय पुस्तकालय स्थापना गरेका थिए । भूकम्प गएको तीन वर्ष पुगिसक्दा पनि ध्वस्त भएको पुस्तकालय बनाउने तयारी समेत सरकारले गरेको छैन । भवन भत्किएपछि शिक्षा मन्त्रालयले आफ्नो स्वामित्वमा रहेको जमलको जग्गामा राष्ट्रिय पुस्तकालय बनाउने निर्णय गरेको थियो । तर, काम अघि बढेको छैन । पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीले चाहेर पनि व्यवस्थित पुस्तकालय बनाउन नसकेको बताउँछन् । उनी भन्छन्, ‘वर्षमा एक करोड सरकारी बजेट आउँछ, त्यसमा ९८ लाख कर्मचारीको तलबमै खर्च हुन्छ, अनि कसरी काम गर्नु ?’
अहिले पुस्तक राखिएको भवनमा २२ जना कर्मचारी कार्यरत छन् ।

नयाँ पुस्तकको आइएसबिएन नम्बर स्वीकृतिदिने बाहेक ती कर्मचारीको खासै अन्य काम छैन । कानुनी व्यवस्थाअनुसार यस पुस्तकालयले नेपाली भाषामा प्रकाशन भएका सबै खाले पुस्तक एक–एकप्रति राख्नैपर्ने हुन्छ । नेपालभर प्रकाशन भएका पुस्तकको रेकर्ड राख्नुपर्ने व्यवस्था भए पनि नयाँ–पुराना पुस्तकको कुनै रेकर्ड छैन यहाँ ।पुस्तकालय अधिकृत पन्थले सरकारले डिपोजिटरी ऐन लागू गर्न नसकेका कारण पछिल्लो समय धेरै पुस्तकालय खस्किएको जानकारी दिए । ‘डिपोजिटरी ऐन फितलो भएकाले नेपालमा ठूला लाइब्रेरी डुबेका छन्, राज्यको आँखा त्यसतर्फ हुनुपर्छ,’ उनले भने।

पुस्तकालयहरूले कानुनी व्यवस्था तोडेको केन्द्रीय पुस्तकालय पूर्वाध्यक्ष जनार्दन ढुंगाना बताउँछन् । कर्मचारीहरूकै बेवास्ताका कारण पुराना पुस्तकालय हराउँदै गएको उनको भनाइ छ । उनी भन्छन्, ‘नेपाली लेखकले नेपाली भाषामा लेखेको जुनसुकै पुस्तक पनि केन्द्रीय र राष्ट्रिय लाइबे्ररीमा राख्नुपर्ने कानुनी व्यवस्था छ, तर धेरैजसोले उक्त नियम मानेका छैनन्।’

नेपाल राष्ट्रिय लाइब्ररी मात्रै होइन, नेपालका अन्य ठूला लाइबे्ररीको अवस्था पनि दयनीय छ । धेरैजसो लाइबे्ररीमा न पर्याप्त पुस्तक छन्, न त पढ्न आउने पाठक नै । लाइबे्ररीमै पर्याप्त पुस्तक नभएपछि पाठक आउन छाडेका हुन् । केन्द्रीय पुस्तकालय, राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय, नेपाल–भारत पुस्तकालय, भ्याली पुस्तकालय, सार्वजनिक पुस्तकालय, डिल्लीरमण पुस्तकालय, यी सबै त्यति व्यवस्थित छैनन् । यी पुस्तकालयले अनलाइन सेवा समेत राम्ररी सुचारु गरेको देखिन्न । पुस्तक पढ्न आउने पाठक पुस्तकालय झन्झन् खस्किँदै गएको बताउँछन्।

‘लाइब्रेरी ज्ञान आर्जनको केन्द्र हो, यहाँ हरेक खालका पुस्तक सहजै पाउनुपर्ने हो,’ धादिङ घर भएकी लक्ष्मी बराकोटी भन्छिन्, ‘धेरैजसो लाइब्रेरीमा एकपटक पुगेपछि दो¥याएर जानै मन लाग्दैन, किनकि त्यहाँ नयाँ पुस्तक थपिएका हुँदैनन्।’

यद्यपि पछिल्लो समय केही लाइबे्ररी सुध्रिएका पनि छन् । यसको उदाहरण हो– मदन पुरस्कार पुस्तकालय । यो पुस्तकालय अन्यभन्दा व्यवस्थित छ । पुस्तकालयमा केही नयाँ–पुराना पुस्तक व्यवस्थित ढंगले राखिएको छ । यस पुस्तकालयको संकलन विभाग  निर्देशक राजीव सिंह पाठकको मागलाई ध्यानमा राखेर पुस्तकालयलाई एडभान्स बनाउन थालिएको बताउँछन् । ‘पुस्तकालयमा पढ्न आउने ट्रेन्ड बढेको छ,’ उनले भने, ‘स्तरीय लाइब्रेरी हुने हो भने पाठकको भीड लाग्छ।’

मदन पुस्तकालयले अनलाइन क्याटलग सिस्टम प्रयोग गरेको उनले जानकारी दिए । उनका अनुसार यो पुस्तकालय २०१२ सालमा स्थापना भएको हो । यहाँ ५० भन्दा बढी विधाका पुस्तक छन् । धेरैजसो इतिहास, साहित्य, धर्म र राजनीतिबारे लेखिएका पुस्तक छन् । अहिले यस पुस्तकालयमा आउने पाठकमध्ये धेरै अनुसन्धानकर्ता छन् । यो पुस्तकालयमा राजनीतिबारे लेखिएका पुस्तक धेरै छन् । जंगबहादुरको मुलुकी ऐनदेखि सेनाको वीरचरित्रसम्मका पुस्तक यहाँ राखिएको छ।

कीर्तिपुरस्थित केन्द्रीय पुस्तकालय भने पछिल्लो समय खस्कँदै गएको छ । पुस्तकालयमा नयाँ पुस्तक राखिएको छैन । पुरानै पुस्तकले पुस्तकालय धानिएको छ । दुई वर्ष अघिसम्म दैनिक दुई सय हाराहारीमा पाठक आउने यस लाइबे्ररीमा अहिले त्यो संख्या घटेको छ । पुस्तकालयका सह–लाइबे्ररियन प्रशासन अधिकृत पूर्णलाल श्रेष्ठका अनुसार यहाँ सबैभन्दा बढी विद्यार्थी आउने गर्छन् । ‘अन्य लाइब्रेरीमा भन्दा यहाँ कलेज र स्कुलका विद्यार्थीको भीड लाग्छ,’ उनले भने, ‘यसको सदस्य बनेर पनि पुस्तक पढ्न सकिने व्यवस्था छ ।’ अहिले यहाँ सदस्य बनेर पुस्तक पढ्नेको संख्या आठ हजार छ ।पुस्तकालयले हरेक वर्ष ३५ लाख रुपैयाँ बराबरको पत्रपत्रिका र नयाँ पुस्तक थप्दै गएको उनले बताए । यो वर्ष पनि अर्थ मन्त्रालयले नयाँ पुस्तक थप्न ८० लाख बजेट छुट्याएको थियो ।

पत्रिका मात्रै
लाइब्रेरी पुस्तकहरूको खानी हो । यहाँ देश–विदेशका विद्वान् र चर्चित लेखकका पुस्तक पाइनुपर्ने हो । पाठकले पुस्तक पसल वा अन्त कतै नभेटाएको पुस्तक खोज्न लाइब्रेरी नै धाउँछन् । तर, हाम्रा ठूला पुस्तकालय त्यति व्यवस्थित र समृद्ध छैनन् ।  तर, पुस्तकालयमा पुस्तकभन्दा बढी पत्रपत्रिकालाई व्यवस्थित संग्रह गरेको पाइन्छ । यसको ज्वलन्त उहादरण हो, हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालय । भूकम्पले भवन भत्किएपछि पुस्तक अन्त सारेर यसलाई पत्रिका पढ्ने ठाउँ मात्रै बनाइएको छ।

उपत्यकाका सबैजसो पुस्तकालयमा पत्रिका पुग्छन् । ती पुस्तकालयमा पत्रिका पढ्न आउने ग्राहक पनि उत्तिकै हुन्छन् । सबैखाले पत्रिका पढ्न पाइने हुँदा आफू पुस्तकालय पुग्ने गरेको चिरञ्जीवी न्यौपाने बताउँछन् । मंगलबार केन्द्रीय पुस्तकालय कीर्तिपुरमा भेटिएका उनले पुस्तकालयमा पत्रपत्रिका पढ्न आनन्द हुने बताए । ‘पुस्तकालयमा धेरै थरीका पत्रपत्रिका पुग्छन्,’ उनले भने, ‘सबैजसो पुस्तकालयमा पत्रिका पढ्ने ठाउँ पनि छुट्याएको छ, त्यसैले लाइबे्ररीमै पुस्तक पढ्न जाने गरेको छु ।’

पुस्तकालयमा पत्रपत्रिका पढ्न पाकादेखि विद्यार्थीसम्म पुग्छन् । पछिल्लो समय पत्रपत्रिका पढ्न आउनेको संख्या बढेको पुस्तकालका कर्मचारी बताउँछन् । ‘पुस्तकालयमा पत्रपत्रिका पढ्न आउनेको संख्या बढ्दै गएको छ,’ केन्द्रीय पुस्तकालय पुस्तक संकलन शाखाका रमेश थापाले भने, ‘कसैले ताजा र कसैले पुराना पत्रिकाका हेर्छन् ।’ उनका अनुसार पुस्तकालयमा आएकामध्ये ३० प्रतिशतले पत्रपत्रिका पढ्छन् । अहिले नेपाल–भारत पुस्तकालय, केन्द्रीय पुस्तकालय, केशर पुस्तकालय, राष्ट्रिय पुस्तकालय लगायतमा पत्रपत्रिका पढ्न पुग्नेको भीड देख्न सकिन्छ ।

विदेशी पाठक आउँदैनन्
हाम्रोमा स्तरीय र प्रविधिमैत्री पुस्तकालय नभएकाले पछिल्लो समय विदेशी पाठक आउन छाडेको पुस्तकालयका कर्मचारी बताउँछन् । ‘सरकारबाट आएको पैसा कर्मचारीको तलबमै खर्च हुन्छ,’ राष्ट्रिय पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनालीले भने, ‘बजेट भइदिएको भए लाइब्रेरी अझ सुधार्न सकिन्थ्यो ।’ उनले नेपालका सरकारी पुस्तकालय छिर्न लायक नभएको सुनाए । ‘विदेशीहरू लाइब्रेरीको गेटभित्र छिर्न मान्दैनन्,’ उनले भने, ‘पैसा नभएकाले नै हामीले विदेशी पाठकलाई लक्षित गरेर पुस्तक थप्न पाएका छैनौँ । अनलाइन सिस्टममा ल्याउन पनि सकेका छैनौँ, यो आवश्यक छ।’

कुनै लेखकले सित्तैमा दिएको पुस्तकका भरमा कतिपय पुस्तकालय सञ्चालन भएको उनले बताए । साना पुस्तकालयको त कुरै छाडौँ, ठूला पुस्तकालयमा पनि खोजेजति राजनीति, इतिहास, धर्म–संस्कृतिका पुस्तक र शोधपत्र पाउन सकिँदैन ।पछिल्लो समय सुधार भएको मदन पुरस्कार पुस्तकालयमा भने विदेशी पाठक फाट्टफुट्ट देखिन्छन् । ‘हामीले विदेशी पाठकलाई समेत लक्षित गरेर पुस्तक राखेका छौँ । त्यसैले विदेशी पाठक आइरहेकै छन्,’ पुस्तकालयका संकलन विभाग निर्देशक राजीव सिंहले भने, ‘नेपालको धर्म–संस्कृति, सम्पदा र राजनीतिबारे चासो राख्ने धेरै पर्यटक नेपाली लाइब्रेरीमा गएर अध्ययन गर्छन्, तर हाम्रा लाइबे्ररी त्यति स्तरीय छैनन् ।’

पुराना पुस्तक
उपत्यकाका मुख्य पुस्तकालयमा पुराना पुस्तक बढी भेटिन्छन् । नयाँ र भर्खरै बजारमा आएका पुस्तक पाठकले लाइब्रेरीमा भेट्दैनन् । दशौँ वर्ष पुराना पुस्तककै भरमा उपत्यकाका धेरैजसो पुस्तकालय चलेका छन् । केन्द्रीय पुस्तकालय, राष्ट्रिय लाइब्रेरी, केशर पुस्तकालय, नेपाल–भारत पुस्तकालय, भ्याली पुस्तकालय, सार्वजनिक पुस्तकालय, डिल्लीरमण पुस्तकालय लगायत पुरानै पुस्तकले चलेका छन् । पुस्तकालयप्रति चासो राख्ने ललितपुर धोबिघाटका महेश थापा भन्छन्, ‘पुराना पुस्तक र अभिलेख मात्रै लाइब्रेरीमा पाइन्छ । खोज अनुसन्धान गरेर लेखिएका नयाँ पुस्तक त्यति पाइँदैन ।’

प्रकाशित: ५ जेष्ठ २०७५ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App