८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

जटिल एनेस्थेसियामा सफलता

काठमाडौं – महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकले जटिल मुटुरोगी गर्भवती महिलाको एनेस्थेसिया (शल्यक्रियाका लागि बेहोस पार्ने काम) मा सफलता हात पारेका छन्।

चिकित्सा विज्ञानले पेन्टालोजी अफ फ्यालोट नाम दिएको मुटुरोगबाट ग्रस्त २४ वर्षीया गर्भवतीको प्रसूति शल्यक्रियाका क्रममा सफलतापूर्वक एनेस्थेसिया दिइएको एनेस्थेसिस्ट डा. नविन्द्रराज विष्टले बताए। उनी शिक्षण अस्पतालका कन्सल्टेन्ट एनेस्थेसिस्ट हुन्। उनका अनुसार यस प्रकारका मुटुरोगीलाई शल्यक्रियाका क्रममा बेहोस बनाउनु निकै जोखिमपूर्ण मानिन्छ।

काठमाडौं शान्तिनगर बस्ने सिन्धुपाल्चोककी गीता चालिसे जन्मजातै जटिल खालको मुटुरोगबाट ग्रस्त थिइन्। उनी प्रसूति सेवा लिन दुई साताअघि शिक्षण अस्पताल भर्ना भइन्। यस प्रकारको मुटुरोग भएको अवस्थामा गर्भवती हुँदा आइपर्ने जटिलताका सम्बन्धमा पर्याप्त जानकारी नभएर गीताले गर्भधारण गरेको चिकित्सक बताउँछन्।

चकित्सा विज्ञानले पेन्टालोजी अफ फ्यालोट नाम दिएको मुटुरोगबाट ग्रस्त २४ वर्षीया गर्भवतीको प्रसूति शल्यक्रियाका क्रममा सफलतापूर्वक एनेस्थेसिया दिइएको एनेस्थेसिस्ट डा. नविन्द्रराज विष्टले बताए। यस प्रकारका मुटुरोगीलाई शल्यक्रियाका क्रममा बेहोस बनाउनु निकै जोखिमपूर्ण मानिन्छ।

चिकित्सकका अनुसार मुटुरोग लागेका महिला गर्भवती हुने बेला डाक्टरको परामर्श लिएर मात्र योजना बनाइन्छ। यसो गर्दा जन्मिने शिशु र आमाको स्वास्थ्यमा पर्न सक्ने असरबारे सजगता अपनाउन मद्दत पुग्छ। मुटुरोगी महिला गर्भवती हुँदा स्वास्थ्यमा जटिलता उत्पन्न हुन सक्छ।

विष्टका अनुसार गीतालाई जन्मजातै हुने कन्जेनिटल हर्ट डिजिजमध्येको टेट्रोलोजी अफ फ्यालोट थियो । यसमा मुटुका चारवटा समस्या हुन्छन्। जसमा मुटुको तल्लोपट्टिको दुई खण्डबीचको पर्दामा प्वाल हुने, शरीरमा रक्त सञ्चार गर्ने नशाले बाँया खण्डको सफा रगतबाहेक दायाँ मुटुको खण्डबाट समेत फोहोर रगत फाल्ने, फोक्सोमा जाने दायाँ खण्डको नली साँघुरिने र मुटुको दायाँ खण्डको मोटाइ बढ्ने समस्या हुन्छन्। यसले गर्दा मुटुको दायाँ खण्डका केही फोहोर रगत सफा रगतसँग घुलमिल हुँदै व्यक्ति नीलो हुँदै जाने र छिट्टै थकान महसुस गर्ने जस्ता लक्षण देखा पर्छन्।

विष्टका अनुसार गीतामा जन्मजात मुटुरोगीमा हुने यी चार लक्षणका अतिरिक्त अर्को पनि समस्या देखिएको थियो।

‘उनलाई चिकित्साशास्त्रको भाषामा पेन्टालोजी अफ फ्यालोट भनिने गम्भीर प्रकृतिको समस्या थियो,’ गीतालाई सफलतापूर्वक एनेस्थेसिया दिएर शल्यक्रियाका लागि तयार पारेका डा. विष्ट भन्छन्, ‘यो अत्यन्तै गम्भीर प्रकृतिको रोग हो जसमा मुटुको माथिपट्टिको दुई खण्डको बीचको पर्दामा प्वाल परेको हुन्छ । गीतामा त्यही थियो।’

यो ‘चुनौतीपूर्ण समस्या’को सफल समाधानका लागि ३६ हप्ता पूरा नहुँदै शल्यक्रियाद्वारा बच्चा निकाल्नुपरेको उनले बताए। ‘३६ हप्तापछि उहाँको मुटुमा बढी मात्रामा जोड पर्ने, क्रमिक रूपमा मुटुले नै काम गर्न छाड्ने, मुटुको चालमा गडबडी हुनेजस्ता जटिल समस्या आउने र मृत्युसम्म हुन सक्ने सम्भावना हुन्छ,’ डा. विष्ट भन्छन्। उनका अनुसार सामान्य अवस्थामा ३७÷३८ हप्तापछि मात्रै प्रसूति हुन्छ वा प्रसूति शल्यक्रिया गरिन्छ।

शल्यक्रियाका लागि बेहोस पार्न आफूले टाक्सफोर्स नै गठन गरेर बिरामीको अवस्थाबारे विस्तृत अध्ययन गरेको उनले बताए। ‘बृहत् छलफल र परामर्शपछि बिरामीलाई पूरै बेहोस नगरी मेरुदण्डको दुई तहमा सियोद्वारा नसामा औषधि पठाइ शरीरको आधा भागमात्र लठ्याएर शल्यक्रियाको वातावरण तयार गरियो,’ डा विष्टले भने।

उनका अनुसार मुटुरोगी गर्भवतीलाई पूरै बेहोस पारेर शिशु निकाल्नु ज्यादै जोखिमपूर्ण मानिन्छ। यस्ता बिरामीमा सलाइनको माध्यमबाट अलिकति पनि हावा छिरेको खण्डमा मुटुमा भएका प्वालबाट सीधै दिमागमा जान सक्ने हुनाले सावधानीपूर्वक सलाइन चढाइ मुटुभन्दा माथिको शरीरको भाग सामान्य अवस्थाभन्दा केही डिग्री माथि उठाइ शल्यक्रिया कक्षमा राखिएको विष्टले बताए।

‘त्यसैले शल्यक्रियाका दौरान एनेस्थेसियाका चिकित्सकले अपनाउने बेहोस पार्ने विधिमध्ये पूरै बेहोस पार्दा हुने सक्ने लक्षणहरूको सूक्ष्म मूल्यांकन गर्दै हामीले आधा बेहोस पार्ने विधि अपनायौं,’ विष्टले भने, ‘पूरै बेहोस पार्दा मुटु बढी कमजोर हुने, रक्तसञ्चारमा कमी आउने, मुटु नै फेल भइ फोक्सोमा रगत जम्मा हुन सक्ने, मुटुको चाल घट्दै मुटु बन्द हुन सक्ने हुन्छ । मुटुबाट रगतको ढिक्का उछिट्टिएर सीधै दिमागमा गइ पक्षघात पनि हुन सक्छ।’

एनेस्थेसियाका क्रममा रेजिडेन्ट चिकित्सक डा. सरोज अर्याल, डा. हरि ज्ञवाली, मेडिकल अफिसर डा. अनुपमा शर्मा, इन्टर्न डा. शेखर भट्ट र एनेस्थेसिया एसिस्टेन्ट दिपा बुढाथोकीसँग बृहत् छलफल र परामर्शपछि निर्णय गरिएको उनले बताए। यस्ता बिरामीलाई यसअघि दिइएको एनेस्थेसियाको अध्ययन गर्दा जम्मा दुईवटा दस्तावेज भेटिएका छन्। र, एउटामा यस्तै विधि अपनाइएको विष्ट बताउँछन्। ‘सिंगापुर जनरल हस्पिटलमा यही विधिबाट ३१ वर्षीया गर्भवतीको शल्यक्रिया गरेर शिशु जन्माइएको रहेछ,’ उनले सुनाए।

शल्यक्रियाबाट १.१ केजीको शिशु निकालिएको थियो। अहिले आमा–शिशु दुवै स्वस्थ्य छन्।

प्रकाशित: ५ जेष्ठ २०७५ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App