८ वैशाख २०८१ शनिबार
समाज

कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं- कमलरी अभियन्ता उर्मिला चौधरीले अन्तर्राष्ट्रिय अवार्ड पाएकी छन् । नेदरल्यान्ड्सका पूर्वरानी बिट्रिक्स र राजा विलियम एलेक्सन्डरले उर्मिलालाई ‘लउरियट फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित गरेका हुन् ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने यो अवार्ड मानव अधिकारको क्षेत्रमा निर्भिकरूपमा काम गर्नेहरुलाई प्रदान गरिन्छ । यसअघि विश्वका मलाला युसफजई, आङ साङ सुकी, हुसेन इब्राहिम सलेह अल, ग्रहेथ जोह्न इभानजस्ता व्यक्तिले यो अवार्ड पाइसकेका छन् ।

उर्मिलालाई थारु समुदायको कमलरी प्रथा उन्मुलनमा योगदान पु¥याएको भन्दै यो अवार्ड दिइएको हो । ‘कमलरी प्रथा अन्त्य र उनीहरुले पढ्न पाउनुपर्ने अधिकारको लागि उनले खेलेको भूमिका र प्रतिबद्धतालाई कदर गर्दै यो अवार्ड दिइएको हो,’ वेवसाइटमा उल्लेख छ ।

उर्मिलाले यो अवार्ड १३ हजार मुक्त कमलरीहरुप्रति समर्पित गरेकी छन् । ‘यो अवार्डबारे धेरै थाहा थिएन, नेदरल्याण्ड्स आएपछि बल्ल यो कस्तो अवार्ड रहेछ भन्ने थाहा पाएँ,’ उर्मिलाले फोनमार्फत् नागरिकसँग भने, ‘अवार्ड समारोह देखेर म नतमस्तक भएँ, जहाँ नदेरल्यान्ड्सका रोयल फेमिली, प्रधानमन्त्री, मन्त्रीहरु र उच्च ओहोदाका व्यक्तिहरु सहभागी भएको पाएँ । मैले यो अवार्ड मुक्त १३ हजार कमलरीहरुप्रति समर्पित गर्न चाहन्छु ।’

मिडलवर्गमा आयोजित अवार्ड समारोहमा पूर्वरानी बिट्रिक्सले उर्मिलाको कुरा सुनेर रुन बाध्य बनाएको बताइन् । उनले गहभरीको आँशु पुछ्दै भनिन्, ‘म तिम्रो देशलाई ताली बजाएर सम्मान गर्न चाहन्छु, जसले तिमीजस्तो महान व्यक्तिलाई जन्म दिएको छ । जसले विश्व परिवर्तन गर्ने आकांक्षा बोक्न सक्छ ।’
उनको यो कुरा सुनेर उर्मिला शब्दविहीन बनेकी थिइन् ।

समारोहमा राजा विलियम एलेक्सन्डरले छोरी मान्छेहरुले भोग्नुपर्ने कहाली लाग्दो घटनाप्रति दुःख व्यक्त गरे । ‘विश्वका धेरै छोरी मान्छेहरु छन्, जो यस्तो कहाली लाग्दो घटनाको सामना गर्छन्, त्यसका बावजुद पनि तिमीले लिएको अठोटप्रति म सम्मान गर्दै मेरो देशमा स्वागत गर्न चाहन्छु,’ विलियमले भने ।

उक्त अवार्ड समारोहमा उर्मिलाबारे वृत्तचित्र देखाइएको थियो । उनले सम्बोधनको क्रममा आफू कमलरी रहँदा भोगेका घटनाहरुबारे बताएकी थिइन् ।
उर्मिलाको यो पाँचौं अन्तर्राष्ट्रिय अवार्ड हो । यसअघि उनले राष्ट्रसंघको युथ करेज अवार्ड फर एजुकेशन, इन्टरनेशनल ह्युमन राइट्स अवार्ड जर्मनी पाएकी थिइन् ।

उर्मिलाबारे एक दर्जन वृत्तचित्रसमेत बनेको छ । उनीबारे बनाइएको ‘उर्मिला’नामक वृत्तचित्रले गतवर्ष किम्फमा पहिलो पुरस्कार जितेको थियो । उर्मिलाको जीवनीबारे जर्मन भाषामा किताब पनि प्रकाशन भएको छ ।

को हुन् उर्मिला ?
उर्मिलाको जन्म दाङको गढवा–६ मानपुरमा विसं २०४८ मा भएको हो । उनका बुबा गाउँकै जमिनदारको घरमा कमैया बस्थे र आमा पनि त्यहीँ सँगै काम गर्थिन् । उनको परिवार जमिनदारका घरमा बन्धकी नै थिए भन्दा पनि फरक पर्दैन । उनीहरूले काम गरेबापत न ज्याला पाउँथे, न महिनावारी तलब नै । उनका बुबाले साँझबिहानको खाना पाउँथे, आमाले निःशुल्क काम गरिदिन्थिन् । बुबाले पाएको भात घरमा ल्याएर छोराछोरीलाई खुवाउँथिन् । कहीलेकाहीँ खान नपाएर आमाबुबा नुन र मार खाएको त कहीलेकाहीँ भोकै सुतेको उर्मिलाले देखेकी छिन् । आमाबुबाले ल्याएको खानेकुरा खाएर उनीहरूको ९ जनाको परिवार पालिएको थियो ।

खाने मुख बढ्दै गएपछि उनका बुबाले छोरालाई ज्याला मजदुरी र छोरीलाई कमलरी पठाउने निर्णय गरे । उर्मिला उनकै दिदी बसेको साहुको छोरीको घरमा दाइजोस्वरूप कमलरी बसिन् । त्यतिबेला उनी ६ वर्षकी थिइन् । पढाइदिने र बच्चा हेर्ने भनेर उनलाई काठमाडौं लगिएको थियो । तर काठमाडौं आएपछि उर्मिलालाई आफूभन्दा ठूला केटाकेटीलाई हेर्ने जिम्मा दिइयो । ती केटाकेटीको झोला बोकेर स्कुल पठाउन र लिन जान्थिन् । पढ्छु भन्दा ‘तँलाई काम गर्न ल्याएको, खुरुक्क काम गर किन पढ्नुपर्यो’ भन्दै हकार्थे । उनी त्यहाँ ७ वर्ष बसिन् ।

विसं २०५७ साउन २ गते सरकारले मुक्त कमैया घोषणा गरेका थियो । त्यही घोषणाले थारुहरुमा कमलरीहरु पनि मुक्त हुनुपर्छ भन्ने अभियान चलाए । आन्दोलन गर्न थाले । विसं २०६३ सालमा उर्मिला पनि मुक्त भइन् । मुक्त भएर दाङ जाँदा उनको मनमा दुई कुरामात्र खेलिह्यो । एउटा पढ्नुपर्ने र अर्को आफूजस्तै कमलरीविरुद्ध आवाज उठाउने । उनी दुवै अभियानलाई सँगसँगै लगिरहे । अन्ततः सरकारले विसं २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो ।

यी २७ वर्षीय उर्मिला अहिले स्नातक पढ्छन् । मुक्त कमलरीहरुको साझा संगठन मुक्त कमलरी विकास मञ्चका उनी सहसंस्थाक पनि हुन् । त्यही संस्थामार्फत् उनी कमलरी अभियन्ताको रुपमा काम गर्छिन् । उनीहरुलाई निशुल्क शिक्षाका लागि रातदिन खट्छिन् । उनको चाहना छ, वकिल बन्ने । वकिल बनेर उनी त्यस्तै बालबालिकाका लागि काम गर्न चाहन्छिन् ।

प्रकाशित: ५ जेष्ठ २०७५ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App