७ वैशाख २०८१ शुक्रबार
अन्य

बच्चाहरूलाई कति बेला स्मार्टफोन दिने?

सेली बेल्डविन जर्सनकी जेठी छोरी सोफी सात वर्ष पुग्दैछिन्। यो वर्ष विद्यालय सुरु हुने बेलामा उनी एउटा प्रतिज्ञामा हस्ताक्षर गर्दैछिन् । उनको प्रतिज्ञा छ– कक्षा ८ मा नपुग्दासम्म सोफीलाई स्मार्टफोन नकिन्ने । ‘स्क्रिनमा खर्च हुने समयले बच्चाको विकासमा पार्ने असरबारे म निकै चिन्तित छु,’ जर्सनले भन्छिन्, ‘मेरो बच्चाहरूलाई बाल्यकालका विशेषताहरूबाट टाढा राख्न चाहन्न । यस्ता विशेषतामा विभिन्न खेल खेल्ने, काठ र वरपर खेल्ने र साथीहरूसँग मिलेर खेलौना घर बनाउने जस्ता कुरा र अवस्था पर्छन्।’

जर्सन अमेरिकाका ४२ राज्यका हजारभन्दा धेरै अभिभावकमध्ये एक हुन्, जो कक्षा ८ सम्म ‘पर्ख अर्थात् वेट अन्टिल एट्थ’ अभियानमा सामेल भएका छन् । टेक्सास राज्यको अस्टिनमा बस्ने तीन बच्चाकी आमा ब्रुक सेननले केही महिनाअघि सुरु गरेको यो अभियान सोसल मिडियाको माध्यमबाट छोटो समयमै धेरै मानिससम्म पुगिसकेको छ।

‘जब जेठी छोरी किन्डर गार्डेनमा जान्थिन्, त्यतिबेला कक्षा ५ मा पढ्नेहरूसँग स्मार्टफोन थियो,’ योे अभियान सुरु गरेकी सेननले थपिन्, ‘त्यसपछि भने यो झन् कम उमेरका बालबालिकासम्म सर्दै गयो । अहिले मैले किन्डर गार्डेनमा जाने बालबालिकासँग पनि आइफोन देख्छु । यो अझ व्यापक हुँदै गइरहेको छ । अहिले बच्चाहरूले बसमा, बिहानको प्रार्थनाअघि र गल्र्स स्काउट्समा पनि फोन चलाइरहेको देख्छु।’

सेननले स्मार्टफोनको बालबालिकामा प्रभावबारे अध्ययन गरेकी छन् । उनले साइबर बुलिङको उच्च जोखिम, निद्रा र एकाग्रतामा हुने समस्याबारे अध्ययन गरेरै जानकारी पाएकी थिइन् । उनले आफ्नो छोरी किशोरावस्थामा नपुग्दासम्म फोन नदिने विचार गरेकी थिइन् । तर, कक्षाका अरु सबैजनासँग स्मार्टफोन हुँदा आफ्नो छोरीलाई कसरी नकिन्ने भन्ने उनलाई समस्या थियो ।

‘जब तीन वा चार बच्चालाई उनीहरूका अभिभावकले चाडै नै स्मार्टफोन दिन्छन्, यसले कक्षाका सबै बालबालिकाका परिवारमा दबाब सिर्जना गर्छ,’ सेननले भनिन् । त्यसपछि उनले धेरै सोचिन्, अनि निष्कर्षमा पुगिन्, ‘मैले केही साथीहरूसँग हामीले स्मार्ट फोन नलिन सामाजिक दबाब सिर्जना गर्यौं भने के हुन्छ भनी कुरा गरें।’

एक अनुसन्धानमा स्मार्टफोनले मदिरा, लागूपदार्थ र जुवाको अम्मल लगाउने जस्तो गरी मस्तिष्कमा त्यस्तै खालको प्रतिक्रिया उत्पन्न गराउने दाबी गरिएको छ। यसले गर्दा स्मार्टफोन बालबालिकाका लागि अम्मल हुने अध्ययनको निष्कर्ष छ।

यसरी नै कक्षा ८ सम्म पर्ख अर्थात् वेट अन्टिल एट्थ अभियान सुरु भयो । यसको अवधारणा सामान्य छ– कक्षाका १० जनाका परिवारलाई उनीहरूको बच्चा करिब १३ वर्ष नपुग्दासम्म फोन नदिन सहमत गराउने । यो कुरामा सहमत हुने समूहले उनीहरूको बच्चा कक्षा ८ सम्म नपुग्दासम्म प्रतीक्षा गर्ने प्रतिबद्धता गराउने । उनीहरूले आफ्नो बच्चाहरूले फोन माग्ने गरी खासै दबाब नदिने पनि अपेक्षा गरेका छन्।

यो अभियानको नेतृत्व गरेकी सेननले हरेक परिवार फरक हुने र आफ्नो बच्चाहरूलाई पहिले नै फोन दिन चाहनेलाई आफूले कुनै पनि हिसाबले मूल्यांकन नगर्ने स्पष्ट गरेकी छन् । उनले स्मार्टफोन र फ्लिप फोनको फरक छुट्याएकी छन् । केही बालबालिकालाई विद्यालय पुर्याउन र छोड्नका लागि कुराकानी र संयोजन गर्न स–साना बालबालिकाका लागि फोन चाहिने कुरा पनि उनले स्वीकारेकी छन्।

‘हामीले सहायता सञ्जाल मात्र बनाउन चाहेका हौं । यसले बच्चाहरूलाई स्मार्टफोन दिन कुर्न चाहने तर स्मार्टफोन नदिँदा एक्लिएको महसुस गर्न सक्ने अभिभावकलाई सहायता गर्न एउटा सहयोगी समूह बनेको हो । यदि हामीले सँगै काम गर्यौं भने अझ राम्रोसँग अभिभावकको भूमिका निर्वाह गर्न सक्छौं,’ उनले भनेकी छन्।

स्मार्टफोन किन दिन नहुने भन्ने विषयमा वेट अन्टिल एट्थ अभियानको आफ्नै तर्क छ । स्मार्टफोन बनाउने र सामाजिक सञ्जाल चलाउने कम्पनीका उच्च पदस्थ कर्मचारीहरूले बालबालिकालाई कम्तीमा १४ वर्ष नपुग्दासम्म स्मार्टफोन चलाउन नदिन सुझाएको भन्दै यो अभियानले अभिभावकले थाहा पाउनुपर्ने कुराको लामो सूची प्रस्तुत गरेको छ।

अभियानले स्मार्टफोनले बालबालिकाको बाल्यकाल नै बदलेको दाबी गरेको छ । ‘बाहिर खेल्ने, साथीहरूसँग समय बिताउने, पुस्तकहरू पढ्ने र परिवारसँग बसेर कुराकानी गर्ने सिलसिला स्न्याप च्याटिङ, इन्स्टाग्रामिङ र युट्युबमा समय बिताउने क्रमले निकै घटाएको छ,’ अभियानले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । स्क्रिनको अगाडि तीनदेखि सात घन्टासम्म बिताउने बालबालिकाले अनलाइनमा हुने क्षणिक मनोरञ्जनका लागि बाल्यावस्थाका विभिन्न अत्यावश्यक तत्वहरूलाई बेवास्ता गरिरहेको अभियानको दाबी छ।

एक अनुसन्धानमा स्मार्टफोनले मदिरा, लागूपदार्थ र जुवाको अम्मल लगाउने जस्तो गरी मस्तिष्कमा त्यस्तै खालको प्रतिक्रिया उत्पन्न गराउने दाबी गरेको छ । यसले गर्दा स्मार्टफोन बालबालिकाका लागि अम्मल हुने अध्ययनको निष्कर्ष छ।

अभियानले बालबालिकालाई स्मार्टफोन दिन नहुने थप कारणमा स्मार्टफोनले बालबालिकाको शैक्षिक अवस्थामा प्रभाव पार्ने पनि जनाएको छ । बालबालिकाको शैक्षिक सफलताका लागि आधार मानिने प्रारम्भिक वर्षहरूमा नै स्मार्टफोन दिँदा उनीहरू स्मार्टफोनको लतमा पार्ने पनि अभियानको दाबी छ।

त्यस्तै, स्मार्टफोनले गर्दा निद्रा बिथोलिने, सम्बन्धहरू बिगार्ने र बालबालिकालाई बेचैनी र डिप्रेसनको जोखिम पनि बढी हुने अभियानले बताएको छ । यसबाहेक स्मार्टफोन र त्यसमा जोडिने इन्टरनेटले गर्दा बालबालिकाहरू साइबर बुलिङको जोखिममा पनि रहने अध्ययनले देखाएको छ । त्यसबाहेक इन्टरनेटको माध्यमबाट बालबालिका कलिलै उमेरमा यौनजन्य भिडियो र तस्बिरको पहुँचमा पुग्ने भएकाले पनि स्मार्टफोन दिनु जोखिम भएको अभियानले उल्लेख गरेको छ।

अभियानले न्यूयोर्क टाइम्सको समाचारलाई आधार मान्दै गुगल, इबे, एप्पल र याहुका उच्च अधिकारीहरूले आफ्ना बालबालिकालाई १४ वर्षको उमेर नपुग्दै फोन नदिने र १६ वर्षको उमेर नपुग्दासम्म डाटा र इन्टरनेट चलाउन नदिने बताएको छ । ‘ती अधिकारीहरू आफ्नो बालबालिकालाई स्मार्टफोनबाट टाढा राख्छन् भने हामीले किन टाढा नराख्ने ?’ अभियानको प्रश्न छ।

एजेन्सीकाे सहयाेगमा

प्रकाशित: ५ जेष्ठ २०७५ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App